सुनसरीमा आजबाट थारू साहित्य राष्ट्रिय सम्मेलन
आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन आजबाट सुनसरीको गढीमा शुरू हुँदै छ।
थारू लेखक संघको आयोजना तथा हौली परिवार सुनसरीको सहआयोजनामा हुन लागेको दुईदिने सम्मेलनमा राष्ट्रिय स्तरका साहित्यकार, लेखक, स्रष्टाहरूको उपस्थिति रहने थारू साहित्य राष्ट्रिय सम्मेलनको मूल आयोजक समितिका संयोजक एवं थारू लेखक संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले बताए।
थारू भाषा, साहित्य, कला संस्कृतिको प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना भएको सम्मेलनमा समकालीन साहित्य, कला तथा संस्कृतिबारे बहस हुनुका साथै स्रष्टा एवं सरोकारवालासँग बृहत् अन्तरक्रिया र प्यानलमा छलफल गरिने सर्वहारीले बताए।
शुक्रबार दिउँसो सम्मेलनको औपचारिक उद्घाटन गरिनेछ। उद्घाटन सत्रमा यस वर्षमा लेखिएका थारू भाषाका पुस्तक विमोचन गर्ने कार्यक्रम छ। यसपछि ‘सुनसरी, मोरङमा थारूकेन्द्रित विकासका लागि के छ प्राथमिकता?’ विषयमा छलफल गरिनेछ।
सम्मेलनको दोस्रो दिन ‘के हो मानक लेखन? सन्दर्भः थारू मानक लेखनशैली (बोडे घोषणापत्र)को कार्यान्वयनको अवस्था’ विषयमा बहस हुनेछ। यस्तै, ‘थारूका इतिहास तथा धर्म, संस्कृतिको आधार’, ‘अनुवादको आवश्यकता र थारू साहित्यमा अनुवादको अवस्था’, ‘सुनसरी, मोरङमा थारू साहित्यको अवस्था’, ‘पश्चिमा थारू साहित्यको संरक्षणमा संस्थागत प्रयास’ विषयमा पनि प्यानल छलफल हुनेछ।
२०७३ सालमा दाङबाट शुरू गरिएको थारू साहित्य सम्मेलन अहिलेसम्म बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र रुपन्देहीमा सम्पन्न भइसकेको छ। संघले हरेक वर्ष सम्मेलन आयोजना गर्दै आएको छ।