लेकसाइडमा साहित्यिक विमर्शमा जुट्दै दुई सयभन्दा बढी लेखक साहित्यकार
देश-विदेशका २०० भन्दा बढी साहित्यकार, लेखक, राजनीतिज्ञ, कलाकार एवं विशिष्ट व्यक्ति फागुन पहिलो साता पोखराको लेकसाइडमा हुने साहित्यिक विमर्शमा जुट्न लागेका छन्।
बूकवर्म फाउन्डेशनले फागुन ३ देखि ७ गतेसम्म आयोजना गर्ने एघारौं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा उनीहरूले साहित्यिक विमर्श गर्नेछन्। बिहीबार पत्रकार सम्मेलन गरी लिटरेचर फेस्टिभल सम्बन्धी जानकारी दिइएको छ।
फेस्टिभलमा ५५ भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिने फेस्टिभल निर्देशक नीरज भारीले बताए। निर्देशक भारीका अनुसार फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक अमेरिकन प्रोमिथियस : द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमरका सहलेखक काई बर्ड सहभागी हुनेछन्। यो पुस्तकले विश्वप्रसिद्ध पुलिट्जर पुरस्कार जितेको थियो।
यही पुस्तकमा आधारित ओपनहाइमर चलचित्र बनेको छ। क्रिस्टोफर नोलनले निर्देशन गरेको यो चलचित्र सन् २०२३ को बक्स अफिसमा ‘ब्लकबस्टर’ बनेको थियो।
त्यस्तै, प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा सहभागी हुने भएकी छन्। उनले पुस्तक एभ्रिथिङ द लाइट टचेज बारे फेस्टिभलमा चर्चा गर्नेछिन्। यस पुस्तकले सन् २०२३ मा उत्कृष्ट आख्यानका लागि सुशीलादेवी अवार्ड पाएको थियो।
अर्का, विश्वप्रसिद्ध समालोचक एवम् उपन्यासकार चन्द्रहास चौधरी पनि फेस्टिभलमा सहभागी हुने जनाइएको छ। उनले क्लाउड्स र अर्जी द ड्वार्फ पुस्तक लेखेका छन्।
फेस्टिभलमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको विद्वत्प्रवचन रहनेछ। उनले ‘संविधान र सुशासन’ विषयमा विद्वत्प्रवचन दिनेछन्। त्यस्तै, विभिन्न क्षेत्रका व्यक्तिले विभिन्न विषयमा ५५ सेसनमा विमर्श गर्नेछन्।
यससँगै हरेक दिन सांगीतिक प्रस्तुति रहने भएको छ। कुटुम्ब ब्यान्ड, डा. ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा. सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्डले सांगीतिक प्रस्तुति राख्नेछन्।
त्यस्तै, वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू पुस्तक विमोचन एवम् कार्टुन र ‘गोर्खा वुमन: एन इको इन द स्टोरी’ प्रदर्शनी पनि हुने भएको छ।
पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय जस्तै बनेको उल्लेख गर्दै आयोजक संस्थाका भरत कोइरालाले कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको बताए। पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाका केशवशरण लामिछानेले लिटरेचर फेस्टिभल पोखराका लागि बहुप्रतीक्षित फेस्टिभल भएको बताए।
पोखरा यसै पनि कला-साहित्यको संगम रहेको र फेस्टिभलले साहित्यिक माहोल झन् बढाएको नेपाल पत्रकार महासंघ, कास्कीकी अध्यक्ष विमला भण्डारीले बताइन्। सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्रांगणबाट शुरू भएको फेस्टिभलको यो एघारौं संस्करण हो।