नेपाल सात रनले विजयी
एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको छ।
नेपालले दिएको १२५ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडा ४७.५ ओभरमा २१७ रनमै समेटिएको हो। अन्तिमतिरका १५ ओभर सम्हालिएर खेल्न नसक्दा क्यानडा पराजित हुन पुगेको हो।
क्यानडाका लागि सागर सिंह र निकोलस किर्टोनले अर्द्धशतक प्रहार गरे। सिंहले ५८ बलमा ५० रन र किर्टोनले ९९ बलमा ६८ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि रोहित पौडेलले चार, ललित राजवंशीले दुई, सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले एक-एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर २२४ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले अर्द्धशतक प्रहार गरेका थिए। उनले ५८ बलमा ६२ रन बनाएका थिए।
त्यस्तै, आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, पवन सर्राफले १५ र सूर्य तामाङले १० रन बनाएका थिए।
क्यानडाका लागि उदय भगवान्ले तीन, साद विन जाफर र ईश्वरज्वत सोहीले दुई-दुई तथा शहिद अहमदजाई र हर्ष ठाकेरले एक-एक विकेट लिएका थिए।
यस जितसँगै नेपालले तीन खेलको शृंखलामा १-० ले अग्रता लिएको छ। दोस्रो खेल शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।