द्रुत बसमा सूर्यविनायकबाट ४५ मिनेटमा रत्नपार्क
काठमाडौं र भक्तपुरका सडकमा फेरि द्रुत बस सेवा सञ्चालन हुन थालेको छ भने प्रभावकारी पनि बन्दै गएको छ।
यसअघि सूर्यविनायक–रत्नपार्क रूटमा एक महीना मात्र चलेर द्रुत बस सेवा रोकिएको थियो। अहिले फेरि नयाँ नियम बनाएर सञ्चालनमा आएको हो। मंसीर १० बाट फेरि सञ्चालनमा आएसँगै प्रभावकारी बन्दै गएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल बताउँछन्।
महानिर्देशक रिजालका अनुसार अहिले बसको संख्या बढाइएको छ। त्यस्तै, समय पनि परिवर्तन गरिएको छ। यसअघि ९ बजे सञ्चालन हुँदै आएकोमा अहिले बिहान साढे ८ बजे सञ्चालन भइरहेको छ। अपराह्न ४ बजे गुड्ने गरेका द्रुत बस अहिले साढे ३ बजे नै चल्न थालेका छन्।
त्यस्तै, बस छुट्ने समय पनि घटाइएको छ। यसअघि पाँच मिनेटको फरकमा गुड्थे भने अहिले तीन–तीन मिनेटको फरकमा बस छुट्ने गरेको रिजालले बताए। यससँगै द्रुत बस सञ्चालनका लागि ट्राफिक प्रहरीले पनि समन्वय गर्दै आएकाले सजिलो भएको छ।
अहिले सूर्यविनायकबाट ४५ मिनेट आसपासमा द्रुत बस रत्नपार्क पुग्ने गरेका छन्। यात्रु पनि भरिभराउ भइरहेको रिजाल बताउँछन्। “हरेक दिन चार हजार यात्रु द्रुत बस सेवाबाट लाभान्वित छन्,” रिजालले भने।
यातायात व्यवस्था विभागले गाडीको अनुगमन गर्न तीन ठाउँमा कर्मचारी खटाएको छ। उनीहरूले द्रुत बस सेवाको एपमा यात्री संख्या रेकर्ड गर्छन्। यात्रीको संख्या अनुसार त्यो ठाउँमा बस पुगेको र छुटेको समय स्वचालित रेकर्ड हुन्छ।
एपमा रेकर्ड भएको समय हेर्दा केही बसले सूर्यविनायकबाट रत्नपार्क पुग्न ४५ मिनेटभन्दा कम, केहीले ४५ मिनेट र केहीले एक घण्टा लगाएको देखिन्छ। त्यस्तै, द्रुत बस सेवा एप डाउनलोड गरेका यात्रुले कुन बस कहाँ आइपुगेको भन्ने मोबाइल हेरेर थाहा पाउन सक्छन्।
विभागका महानिर्देशक रिजाल लोकन्थली, जडीबुटी र कोटेश्वर सडकखण्डमा केही समस्या भएकाले ‘पिक’ समयमा केही बढी समय लाग्ने गरेको बताउँछन्। उनका अनुसार यो समस्या समाधान गर्न जडीबुटी पुलमा ‘साइड लेन’ निर्माण भइरहेको छ। “ट्राफिक नियम पालना गर्नैपर्छ, १३ किलोमिटर मात्रै दूरी भएकाले धेरै हतार हुन्न,” रिजाल भन्छन्।
द्रुत सेवामा चल्ने बसले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्ने गर्छन्। रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो हुँदै सूर्यविनायक पुगेर त्यही रूटमा फर्कन्छन्। यो रूटमा ३६ देखि ४० वटासम्म बस चलिरहेका छन्।
द्रुत बस सेवा प्रभावकारी बन्दै गएपछि अरू रूटमा चल्ने यातायात व्यासायीले पनि यसमा आबद्ध हुन चासो देखाएको महानिर्देशक रिजाल बताउँछन्। सरकार, यातायात व्यवसायी र यात्रु तीनै तहका सरोकारवाला जोडिने भएकाले द्रुत बस सेवा शहरको सार्वजनिक यातायात सुधारको विकल्प हुने उनको भनाइ छ।
पिक आवरमा बस छुट्ने अन्तराल कम गर्ने, रूटमा बसको संख्या अझै थप गर्ने र बस चलाउने समय थप गर्ने गृहकार्य भइरहेको छ। अहिले द्रुत बस सेवा बिहान साढे ८ बजेदेखि ११ बजेसम्म र अपराह्न साढे ३ देखि ६ बजेसम्म चल्दै आएको छ। रिजाल भन्छन्, “यसबीचको समयमा पनि बस थप्ने, अन्य रूटमा द्रुत बस सेवा विस्तार गर्ने र बसको संख्या बढाउने विषयमा गृहकार्य भइरहेको छ।”