कोलोम्बोमा नेपाली कलाले पछ्याएको ‘वनको बाटो’
कोलोम्बोस्कोपले आयोजना गरेको ‘वे अफ द फरेस्ट’मा नेपाली कलाकारले पराम्परागत सीपसँगै सशस्त्र द्वन्द्वका घाउलाई कलामार्फत प्रस्तुत गरेका छन्।
घना जंगलबीच सुकेका पातले छोपिएको साँघुरो बाटो भएर के गुज्रिन्छ? नेपाली कलाकारले भने त्यो साँघुरो बाटोमा इतिहासलाई गुडाएका छन्। मुलुकले भोगेको युद्धको त्रासदीदेखि जीवन जिउने परम्परागत पद्धतिलाई जंगलको साँघुरो बाटो भएर समुद्रपारी श्रीलंकाको कोलोम्बो पुर्याए।
त्यही क्यानभासमा कलाकार सनोद महर्जनले ‘चिठ्ठी’ लेखेका छन्, वनआत्मालाई। काठमाडौं उपत्यकालाई नयाँ बाटोले जोडेपछि मकवानपुरको टिस्टुङमा आएको परिवर्तन र विस्थापनलाई देखाइएको छ। त्यसको साँक्षी बनेका वनआत्मालाई सनोदले चिठ्ठी लेखेका हुन्।
“सनोदको चिठ्ठी हेरेर कतिपय दर्शक रोए,” क्युरेटर शीलासा राजभण्डारी सुनाउँछिन्। आत्माको विषयले कोलोम्बासीलाई राजभण्डारीको अड्कल छ।
श्रीलंकालीले लामो समय गृहयुद्ध भोगे। त्यसमा हजारौं नागरिकले ज्यान गुमाए, लाखौं घाइते र विस्थापित भए। त्यही विस्थापनको पीडा सनोदको ‘चिठ्ठी’मा भेटे उनीहरूले।
उत्पीडनको साक्षी बनेको बर्दियाको वनले पनि दर्शकलाई भावुक बनायो। स्मृति, सत्य र न्याय परियोजनाले सशस्त्र द्वन्द्वका वेला बर्दियामा बेपत्ता पारिएका व्यक्तिको कथालाई कलामा उतारेको थियो।
“स्मृति, सत्य र न्यायको काम हेरेर श्रीलंकाका अभियान्ता, कलाकार प्रोत्साहित भएको देखियो,” क्युरेटर भण्डारी भन्छिन्, “उनीहरू पनि स्मृति, सत्य र न्यायका लागि लडीरहनु भएको छ।”
गृहयुद्धका क्रममा हजारौं श्रीलंकाली बेपत्ता पारिएका थिए। उनीहरूको अझै पनि अत्तोपत्तो छैन, नेपालमा जस्तै। त्यसैले पनि नेपालको द्वन्द्वको पीडालाई कोलोम्बासीले महसूस गरेको राजभण्डारी सुनाउँछिन्।
स्मृति, सत्य र न्याय परियोजनाले पश्चिम नेपालको थारु बाहुल क्षेत्र केन्द्रित रहेर सशस्त्र द्वन्द्वका सम्झनालाई संरक्षण, अभिलेखीकरण र सम्मान गरिरहेको छ। त्यही परियोजनाले बर्दियाको कथालाई कोलोम्बो पुर्याएको थियो, ‘वे अफ द फरेस्ट’ मार्फत।
गत साता श्रीलंकाको राजधानी कोलोम्बोमा कला प्रदर्शनी ‘वे अफ द फरेस्ट’ आयोजना भएको थियो। त्यसमा विभिन्न देशका ४० भन्दा बढी कलाकारका कलाकृति प्रदर्शन गरिएको थियो। नेपालबाट पनि ६ वटा कलाकृति प्रदर्शन गरिएका थिए।
कोलम्बोस्कोपको यो आठौं संस्करणमा सर्कर प्रोटिक, शीलासा राजभण्डारी र हितमान गुरुङ क्युरेटर थिए। नतासा गिनवालको कला निर्देशनमा आयोजित प्रदर्शनीमा नेपाली कलाकृतिले प्रशसा बटुलेको म्युरेटर राजभण्डारी बताउँछन्।
“लामो समयपछि कोलोम्बोका कलाकार, दर्शकले यति धेरै नेपाली कलाकारको काम हेरे,” उनी भन्छिन्, “नेपाली कलाकृतिप्रति एक खालको उत्सुकता देखियो।” यससँगै दक्षिणएशियाका कलाकृतिमा पनि दर्शकको चासो देखिएको उनी सुनाउँछिन्।
कोलम्बोस्कोपले वनसँग जोडेर कला प्रदर्शनी गर्दै आएको छ। जहाँ वनको विशालता, रहस्य, जीवन जिउने तरिकादेखि जिविकोपार्जनका उपायसम्म उजागार गरिँदै आएको छ।
यस वर्षको प्रदर्शनीमा विभिन्न देशका कलाकारले कलामार्फत वन र जग्गा कसको स्वामित्वमा छ? वनबाट कसलाई विस्थापित गरिन्छ? संरक्षणका लागि वनमा कसलाई प्रतिबन्ध लगाइएको छ? यस्तै प्रश्न गरेका छन्।
कोको मेन्दोमा कला
तामाङ समुदायमा कोको मेन्दोलाई पवित्र फूलका रुपमा लिइन्छ। धर्मिक अनुष्ठानमा प्रयोग हुने यो फूल भगवानलाई चढाइन्छ। यससँगै परम्पराग औषधीका रुपमा पनि प्रयोग गरेको कलाकार सुवाष तामाङले देखेका थिए। “ज्वरो आउँदा कोको मेन्दो खाने गरेको देखेको थिएँ,” सुवाष भन्छन्।
कोको मेन्दो मात्रै होइन, अन्य जडिबुटी पनि जंगलबाट ल्याएर बिरामीलाई खुवाएको देखेका थिए, सुवाषले। त्यसका लागि झाक्री जंगल जान्थे। अहिले सुवाष त्यही जंगलको बाटो पछ्याइरहेका छन्, कलामा।
कोलोम्बोमा आयोजित ‘वे अफ द फरेस्ट’मा उनले तामाङ समुदायको जंगल र जडिबुटीसँगको सम्बन्धलाई कोको मेन्दोसँग जोडेर प्रस्तुत गरे। तामाङ समुदायमाथि राज्यबाट भएको दमनलाई उनले कलामार्फत देखाएका छन्।
कोको मेन्दो श्रीलंकामा पनि पाइने भएकाले दर्शकले सुवाषको कलालाई आफूसँग जोडेको क्युरेटर शीलासा बताउँछिन्। “कोको मेन्दोको यस्तो इतिहास हरेछ भनेर दर्शक खुशी भएका थिए। आदिवासी ज्ञान र इतिहास हेरेर राम्रो प्रतिक्रिया दिएका थिए,” उनी भन्छिन्।
बीउको कथा
अहिले काठमाडौंमा घरैघर देखिन्छन्। खेतीयोग्य भुमिमा कंक्रिटका ठूलठूला भवन बनेका छन्। कलाकार सुनिता महर्जन र सञ्जीव महर्जनले भने काठमाडौंको बिउको कथालाई कलामा उतारेका छन्।
हजुरआमा तथा हजुरबुवासँगको खेतीपातीका सम्झनालाई उनीहरूले बीउको कथामा प्रस्तुत गरेका छन्। कोलोम्बोमा प्रदर्शन भएको उनीहरूको बीउको कथालाई दर्शकले उत्साहपूर्वक अवलोकन गरेको क्युरेटर शीलासा सुनाउँछिन्। “शहरीकरणले धेरै ज्ञान हराएको हुनाले सुनिता र सञ्जीवको कामलाई लिएर कस्तो खालको बीउ कस्तो प्रविधि प्रयोग गरिएको छ। कसरी गरेको भनेर दर्शक खुबै उत्साहित थिए, चासो दिएका थिए,” उनी भन्छिन्।
काठमाडौं उपत्यकाको किसान परिवारबाट आएका सुनिता र र सञ्जीवसँग खेतीपातीसँग सम्बन्धित थोरै मात्रै सम्झना छन्। सुनिताका आमाबुवा र सञ्जीवका हजुरबुवा–हजुरआमामा खेतपाती गर्ने अन्तिम पुस्ताका थिए। अहिले खेती गर्ने सीप र ठाउँको अभाव छ।
त्यही वेलाको सम्झनालाई अहिलेको काठमाडौंको द्रुत शहरीकरण, भिजुअल मिडियाको प्रयोग, बाली रोप्ने प्रक्रिया र आफ्नो परिवारको बीउको संग्रह लगायतको सम्बन्धलाई उनीहरूले कलामा उतारेका हुन्।
उत्पीडनको साक्षी वन
माटोको भित्ता, भित्तामा परेका मसिना चिरा। त्यहीं झुण्डिएका छन् तस्वीर। यी तस्वीरका पनि तस्वीर हुन्, जो बेपत्ता पारिएका आफ्ना मान्छेका तस्वीर बोकेर उभिएका छन्।
छेउमै टिनको बाकस छ। बाकसमा ब्लाउज राखिएको छ, जुन बर्दियाकी परदेशनी थारुको हो। तत्कालीन शाही नेपाली सेनाले उनलाई घरबाटै लगेको थियो। उनी बेपत्ता छिन्। त्यतिवेला घरमा ब्लाउज भेटिएको थियो।
सशस्त्र द्वन्द्वसँग जोडिएका यस्तै घटनाका प्रतिकलाई स्मृति, सत्य र न्याय परियोजनाले कोलोम्बो पुर्याएको हो। थारु बाहुल बर्दियामा थुप्रै थारु समुदायका युवाले द्वन्द्वमा ज्यान गुमाएका थिए। कतिपय बेपत्ता छन् भने कतिपयले बलात्कार र यातना खेपेका थिए।
द्वन्द्वपीडितको आवाजलाई कलामार्फत बाहिर ल्याइएको छ। जसलाई अवलोकन गर्दा श्रीलंकाली नागरिक पनि भावुक बनेका थिए। श्रीलंकामा पनि नेपालका जस्तै कयौं नागरिक बेपत्ता छन्।
स्मृति, सत्य र न्याय परियोजनाले द्वन्द्वमा बाँचेका र पीडित परिवारको सम्झनालाई संरक्षण, अभिलेख गरिरहेको छ। यो विशेष शृङ्खला पश्चिमी नेपालको थरुहट क्षेत्रमा केन्द्रित रहेर आदिवासी थारु समुदायको घर र त्यो समयमा जंगलले खेलेको भूमिकालाई कलामा प्रस्तुत गरिएको हो।
वन आत्मालाई पत्र
कलाकार सनोद महर्जन पुरानो बस्ती टिस्टुङका बासिन्दा हुन्। २०३० सालसम्म काठमाडौंलाई नेपालको दक्षिणी मैदानमा जोड्ने प्रमुख व्यापारिक मार्गमा पर्थ्र्यो, टिस्टुङ। नयाँ राजमार्ग निर्माणपछि भने ओझेलमा पर्यो, आर्थिक गतिबिधि कम हुँदै गएर र टिस्टुङका बासिन्दा गाउँ छोड्न थाले।
बाल्यकालमा गाउँ छाडेका सनोदले आफ्नो भूमि भने बिर्सेका छैनन्। आफन्तजन र समुदायलाई भेट्न गाउँ पुग्छन्। त्यही क्रममा जंगल निकाल्छन्, स्थानीय बासिन्दासँग कुराकानी गर्छन्।
यिनै सम्झनालाई उनले कलामा उतारेका छन्, वनआत्मालाई चिठ्ठी लेखेर। मान्छे विस्थापित भए पनि वनआत्मा टिस्टुङका जंगलमै रहेको अनुभूति गराउँछ उनको कलाले। उनका कलाकृति टिस्टुङको प्रकृतिमा आएको परिवर्तनसँगै विस्थापित मानिस र आत्माका साक्षी बनेका छन्।
साझा सपनाहरूको रंग
कलाकारहरू मधुमाला मण्डल, रेबती मण्डल, कोमल पुर्वे र शेलो यादवले मिथिला क्षेत्रको कलालाई कोलोम्बो पुर्याए। उनीहरू परम्परागत कलाको सौन्दर्यलाई संरक्षित गर्दै नयाँ आयाम दिँदै आएका छन्। भूमिमा बनाएका अनौपचारिक चित्र, अरिपान डिजाइन र माटोका सामग्रीलाई कलामा रुपान्तरण गरेका हुन्।
जनकपुर महिला विकास केन्द्रमार्फत २०४५ सालदेखि शुरू भएको जनकपुरको कलायात्राले गाउँका भित्तेचित्र, तरकारी रङ, माटो र अनुष्ठानमा प्रयोग हुने रंगलाई प्राथमिकता दिएका छन्। जात र लिङ्गका कारण सामना गर्नु परिरहेको पीडा कलामा उतारेका छन्।
कोलम्बोस्कोपमा प्रस्तुत गरिएका कलाकृतिले घरेलु र जंगली जनावरलाई समेटिएको थिया। वन फँडानी, श्रम पलायन, खेती गर्ने प्रविधिमा आएको परिवर्तन, जैविक विविधतामा पुगेको हानी लगायतलाई उनीहरूले कलामार्फत देखाएका छन्।
मिथिला कलाले कोलोम्बोमा प्रशंसा बटुलेको क्युरेटर शालीसा बताउँछिन्। “मिथिला कलामा देखिएको कल्पनाशिलता र मौलिकताको चर्चा भएको थियो,” उनी भन्छिन्।
निको पार्ने ताबिज
नुवाकोटका चिजा लामा आदिवासी तामाङ परम्परामा प्रशिक्षित भिक्षु र उपचार गर्ने व्यक्ति हुन्। यो पद्धतिमा बोन परम्परा र वज्रयानबाट केही तत्व र प्रविधि पनि लिइन्छ। उनले पनि सानैदेखि ताबिज (बुटी) बनाउन सिक्दै आए भने अध्ययन पनि गरे।
उनी मन्त्र पनि पढ्छन्। लोक्ताको कागजमा बुटी बनाउँछन् र उनीकहाँ आउने बिरामीलाई दिन्छन्। यही उपचार बिधिलाई कलामार्फत कोलोम्बोमा प्रस्तुत गरिएको थियो।