दुई परिवारले जोगाइरहेछन् सेनकालीन पाल्पाली करुवा उद्यम
कुनै समय दैनिक उपयोगिताको वस्तु रहेको पाल्पाली करुवा अहिले उपहार र सजावटमा सीमित छ यद्यपि दुई परिवारले यसलाई जीवितै राखेका छन्।
पाल्पाको पहिचान नै बनेको छ यहाँ बन्ने करुवा। कुनै वेला पानी राख्न र पिउन प्रयोग हुने यी करुवा अहिले घरमा सजाउने र उपहार दिने वस्तु बन्न पुगेका छन्। सुन्दर र विशिष्ट ढाँचाको हुने भएकाले पाल्पाली करुवा लोकप्रिय छ। तर अन्यत्रभन्दा यहाँका करुवा अलि महँगा रहेको गुनासो पनि सुनिन्छ। परम्परागत ज्ञान र सीप प्रयोग गरेर हातैले बनाइने भएकाले पाल्पाली करुवा केही महँगा भएका हुन्। त्यसो त यसको इतिहासले पनि पाल्पाली करुवालाई विशिष्ट बनाएको छ। अहिलेको लोकप्रियता हासिल गर्न यसले लामो र कठिन यात्रा पूरा गरेको छ।
पाल्पामा धातुकलाको विकास कहिलेबाट भयो भन्ने यकीन गर्न गाह्रो छ। जनुश्रुति र लिखित इतिहास दुवै स्रोतहरूले बृहत् नेपाल निर्माण अभियानभन्दा अघि मल्लकालमा नै काठमाडौं उपत्यकाबाट धातुकलाको प्रविधि पाल्पामा भित्रिएको देखाउँछन् (डेभिड सेडन र अरूहरू, नेपाल इन क्राइसिस, पृ. १२४)।
यसै गरी सन् १८०३ मा काठमाडौंबाट पृथ्वीपाल सेनले विष्णु महाजन र बौझगरी महाजनलाई दुवै जना मिलेर टक्सार चलाउनू भनी लेखेको रुक्कापत्रबाट पाल्पामा टक छाप्ने टक्सार सेनकालदेखि नै सञ्चालनमा रहेको देखिन्छ। सेनकालीन टकमरी सम्बन्धी फसली सन् १२११ उल्लेख भएको रुक्का यस प्रकार छ :
‘श्री भवानी ऋषिकेशौं जयतः पटासही (राजहस्ताक्षर)’
‘स्वस्ति श्री मन्महाराजधिराज श्री श्री मत्पृथ्वीपालसेन बहादुर देवान सदा समर विजयिनाम आगे विष्णुमहाजन वौझगरी महाजनके सामाकोट कै टक्सार बतिस सय येक ३२०१ रूपैया मध्य आधा आधा कै के इजारा कै दिहल आपन षात्र जम्मा से दुई जना मिलिके एकै टक्सार चलावै आधा आधा पट्टा बमोजिम रूपैया सर्कार दाषिल कहल करै नफा टोटामे दुई जने वरावर कै के षाही सन् १२११ साल अगन वदि १० राजे ५ मु. काठमाण्डौं शुभम्’ (योगी नरहरिनाथ, इतिहासप्रकाशमा सन्धिपत्रसंग्रह भाग–एक, पृ. ६०८)।
उक्त रुक्कापत्रमा सन् १२११ भनी उल्लेख भएको छ। उल्लिखित सन्, इस्वी संवत्को सन् नभई फसली संवत् हो। फसली संवत् सेनहरूको स्याहामोहरमा प्रयोग भएको पाइन्छ। फसली संवत् फसलको कटनी फटनीको आधारमा निर्धारित गरिने वर्ष भनेर चिनिन्छ। फसली संवत्मा ५९२ वर्ष जोड्दा इस्वी संवत् हुन आउँछ (सैयदनजमुल रजा रिजवी, अठारहवी सदी के जमींदार, पृ.६)। त्यसकारण उक्त स्याहामोहर इस्वी संवत् १८०३ को भएको देखिन्छ।
विसं १३०६ देखि १८६३ सम्म पाल्पामा सेनवंशको शासन थियो (निर्मल श्रेष्ठ, सेनकालीन इतिहास, कला र संस्कृति, पृ. ८–१४)। साढे ५०० वर्षसम्म शासन चलेको सेनकालका मुद्राहरू संकलित भएको भने पाइँदैन। पराजित शासनसत्ताले राज्य मात्र नभई भाषा, संस्कृति र अर्थतन्त्र समेत गुमाउने भएकाले ती मुद्रा संकलनमा नरहेको हुन सक्छ। तर पाल्पा राज्य नेपालमा विलय हुनुअघि महादत्त सेनको पालामा तामाको पैसा टकमरी भएको पाइन्छ। नेपालमा पाइने ‘गोरखपुरे पैसा’ भनिने सो पैसाको एकापट्टि ‘गोरखपुर’ र अर्कोपट्टि खिइएर अस्पष्ट ‘शाफुदौला’ लेखिएको जस्तो देखिन्छ (गाब्रिस्ख र रोड्स, द कोइनेज अफ नेपाल, पृ. १७९)।
सेनकालमा टकमरी हुनुले त्यति वेला पाल्पामा धातुको काम हुने गरेको जनाउँछ। त्यस्तै, हाल पाल्पा रिब्दीकोट गाउँपालिका-४, दथुटोलमा अवस्थित श्री ७ भीमसेन मन्दिरमा रहेको घण्टमा यस्तो उत्कीर्ण गरिएको छ- ‘स्वस्ति श्री सम्वत् १८६४ साल मिति पौष वदि १३ रोज ७ दथु टोलको भजन गर्ने भाइले यो घण्ट श्री ५ भीमसेन प्रिति समर्पण थामी सुभम्।’ अर्थात्, विसं १८६४ मै पाल्पामा घण्ट बनाइएको रहेछ। पाल्पामा धातुको काम त्यति वेलादेखि नै गरिने गरेको अर्को ऐतिहासिक प्रमाण हो यो (निर्मल श्रेष्ठ, सांस्कृतिक नगर तानसेनः द लिभिङ म्यूजियम, पृ. १४१)।
सेनकालमै धातुको काम हुने गरेको इतिहास केवल माथि उल्लिखित लिखित सामग्रीमा मात्रै नभई मानिसका स्मृतिमा पनि संगृहीत छ। मामाघर पाल्पा सामाकोट (हाल तानसेन नगरपालिका-११) मा भएको बताउने ८४ वर्षीय मंगलप्रसाद बज्राचार्यका अनुसार सामाकोटमा पहिलेदेखि नै सुन्दर मूर्तिहरू बन्ने गर्थे। सेनकालीन पाल्पा राज्य नेपाल अधिराज्यमा विलय भएपछि पाल्पाका तैनाथवाला भई आएका कर्णेल उजीरसिंह थापाले निर्माण गरेको महिषासुरमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवती मन्दिर र मन्दिरभित्र स्थापना गरेको अष्टधातु र अठारबाहुको महिषासुरमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवतीको मूर्ति आफ्नै मामाघरमा निर्माण भएको उनको अनुमान छ।
सेनकालीन पाल्पा राज्य नेपाल अधिराज्यमा विलय भएपछि टकमरी गर्ने काम तानसेनमा सरेको थियो। सो टकमरी गर्ने ठाउँलाई अहिले पनि टक्सार (टक्सार टोल) भन्ने गरिन्छ। टक्सारमा धातुका सामान बनाउने अधिकांश कालिगड (मूलतः शाक्य र बज्राचार्यहरू) काठमाडौं उपत्यकाबाट सीधै पाल्पा आएका थिए। तीमध्ये कोही भने नुवाकोट, गोर्खा, बाग्लुङ हुँदै पाल्पा आएका थिए। धातुकलामा पारंगत यी कालिगडले टक काट्ने काम साथै तामा, पित्तल, काँस, ढलोटका वस्तु पनि बनाउने गर्दथे। १९६४ सालमा तानसेनको टक्सार टोलमा ठूलो आगलागी भई धनसम्पत्ति क्षति भएपछि १९६५ सालबाट टक्सार टोलमा टक छाप्ने काम बन्द भयो (ऋषिकेशवराज रेग्मी, ‘एक स्रोत तीन धारा’, पृ.१८८)।
टक काट्ने काम बन्द भएपछि यहाँका कालिगड धातुका विभिन्न वस्तु बनाउने व्यवसायतिर केन्द्रित भए। उनीहरूले बनाएका हुक्का, करुवा, अम्खोरा, झारी, अन्ती जस्ता काँसका सामानले देशैभरि प्रसिद्धि पाए। बिस्तारै भारतीय बजारका सामग्रीको प्रवेश र सिद्धार्थ राजमार्ग निर्माण भएपछि त्यसको प्रतिकूल असर घरेलु उत्पादनमा पर्यो। काँसका हुक्का, करुवा, अम्खोरा, झारी, अन्ती जस्ता सामान बन्नै छोडे, तिनको ठाउँ भारतीय बजारले लियो (डेभिड सेडन, माथिकै, पृ. १८९)। फलस्वरूप परम्परागत सीपमा आधारित परम्परागत पेशाको आधार नै क्षीण हुन पुग्यो। युवा वर्ग कालिगडी छाडेर पढाइतिर लागे। साथै शहरीकरण, यातायातको सुविधा, शिक्षामा व्यापक प्रसार र अभिरुचि, भूमिसुधार कार्यक्रम, वनयोजना आदि विभिन्न कारणले संयुक्त परिवारको विखण्डनको थालनीसँगै जीविकाका लागि जागीरे पेशातिर उन्मुख हुँदा कालिगडी पेशा रहिरहेन।
२०१६ सालसम्म पनि १६/१७ परिवार यो पेशामा लागेको पाइन्छ। २०३४ साल ताका जम्मा पाँच परिवार यो पेशामा लागेका देखिन्थे (ऋषिकेशवराज रेग्मी, माथिकै, पृ.१८८)। हाल तीन परिवार मात्र यो धातुकला उद्योगमा लागेका छन्। ती पनि संयुक्त परिवार मात्रका छन्।
अहिले यो धातु उद्योग पनि केवल करुवा उत्पादनमा सीमित छ। तर सूर्यमान बज्राचार्य र मंगलप्रसाद बज्राचार्यका परिवारले मात्रै करुवा बनाउँछन्। रामलाल शाक्यको परिवारले सुकुन्दा, पानस र मूर्ति बनाउँछ।
मंगलप्रसाद बज्राचार्यका जिजुहजुरबुबा रत्नमणि बज्राचार्य ललितपुर बडिगाउँबाट राणाकालमा टकमरी गर्ने कामको सिलसिलामा पाल्पा आएका थिए। पाल्पा, तानसेनको टक्सारमा १९९७ सालसम्म टकमरी हुने गर्थ्यो। टकमरीको काम बन्द भएपछि रत्नमणिका छोरा रत्नप्रसाद बज्राचार्यले काँसको बटुको (नेपालभाषामा बाच्चा) बनाउने काम थाले। बाच्चा बनाउने भएकाले उनीहरूलाई ‘बाच्चा कमी’ भन्ने गरिन्थ्यो।
कचौराको खपत नभएपछि रत्नप्रसाद बज्राचार्यका छोरा सन्तप्रसाद बज्राचार्यले करुवा बनाउन थाले। अहिले करुवा बनाउने कामलाई मंगलप्रसाद बज्राचार्यले निरन्तरता दिइरहेछन्। साथै उनका छोराहरू मनिन्द्रप्रसाद बज्राचार्य र दीपेन्द्रप्रसाद बज्राचार्यले सघाइरहेछन्। यस परिवारले ६ पुस्तादेखि धातुका सामग्री निर्माण गरिरहेछ।
त्यस ताका धातुको काम गर्ने भिन्दाभिन्दै परिवारले बेग्लाबेग्लै सामग्री बनाउँथे। जस्तै- जीतबहादुर शाक्यको परिवारले अम्खोरा, ज्योतिमान शाक्यको परिवारले थकाली बाच्चा (थकालीहरूले प्रयोग गर्ने कचौरा) र हिरालाल शाक्यका परिवारले मग बाच्चा (मगरहरूले प्रयोग गर्ने कचौरा) बनाउने गर्थे। एक परिवारले गर्ने उत्पादन अर्कोले नगर्ने भएपछि हरेकको बजार सुरक्षित थियो। भारतीय बजारको प्रवेशसँगै परम्परागत उद्योग हराउने अवस्थामा पुग्यो। तर पर्यटन क्षेत्रको विस्तारले करुवाको माग बढेपछि यो उद्योगले पुनर्जीवन पाएको छ।
यसरी बन्छ करुवा
गोष्ठी, सेमिनार र कार्यशालाहरूमा मुक्तकण्ठले यस परम्परागत सीपको प्रशंसा गरिन्छ। ब्रोसर, लोगो, भित्तेपात्रो र स्मारिकाहरूमा पनि पाल्पाली करुवाले ठाउँ पाएकै हुन्छन्। तर एउटा करुवा तयार हुँदासम्मको परिश्रम र लगाव अतुलनीय छ। विभिन्न चरण पार गरेपछि मात्रै एउटा करुवा तयार हुन्छ।
पहिलो चरणमा मैनको साँचो (नेपालभाषामा थासा) बनाइन्छ। सिद्धहस्तहरूले बडो मेहनतसँग बनाइएको यो थासा पहिलो झलकमा त मैनको करुवा नै लाग्छ।
दोस्रो चरणमा थासालाई कुँदेर सफा चिल्लो बनाइन्छ। तेस्रो चरणमा करुवाको माथिल्लो पानी भर्ने भाग (जो मैनको बनेको हुन्छ) मा धातुको तातो झोल खन्याउने माध्यमका रूपमा तीन कुर्मी जस्तो ‘नाल’ जोड्ने गरिन्छ। यसलाई नेपालभाषामा ‘नौ’ जोड्ने भन्ने गरिन्छ।
चौथो चरणमा मैनको करुवाका विभिन्न भागमा देवलमाटोको लेप लगाइन्छ। यसका लागि धमिराको गुँड (जसलाई संस्कृतमा देवल भनिन्छ) र गाईको गोबर मिसाएर बनाएको लेदो प्रयोग गरिन्छ। धेरै तापक्रममा पनि नफुट्ने गुण भएको यो देवलमाटो मिसाइएको झोलको लेप दुई-तीन पटक लगाएर सुकाइन्छ।
पाँचौं चरणमा देवलमाटोको लेप सुकेपछि उक्त मैनको साँचोमा माटोको लेप लगाइन्छ। यो लेप रातोमाटो र डडल्नो भुस (नेपालभाषामा छयाँकमो) साथै कहिलेकाहीं सामान्य माटो मिसाएर तयार गरिन्छ। यो लेसिलो लेप तयार भएपछि बडो सावधानीपूर्वक पहिला एक पाखामा लगाएर त्यो सुकेपछि बल्ल अर्को पाखामा लगाइन्छ। यसरी भित्रबाहिर लेप लगाउँदै सुकाउँदै गरेपछि यो माटोको साँचो जस्तो देखिन्छ।
छैटौं चरणमा मैन पगाली अन्तिम साँचो तयार पारिन्छ। त्यसका लागि पग्लिएको तातो काँस खनाउन सकिने गरी साँचो सुकेपछि त्यसको माथिल्लो भाग काटिन्छ। त्यसमा भएको मैन पगाल्न विशेष प्रकारले तयार पारिएको भट्टीको माथिल्लो भागमा राखिन्छ। यो कामलाई नेपालभाषामा ‘साँ बुकेउ’ भनिन्छ। साँचो पोलेपछि नालमा बनाएको बाटोबाट पग्लिएको मैन बाहिर खन्याइन्छ र मैन निस्केपछि भित्र खोक्रो भई साँचोको रूप लिन्छ।
यो साँचो पोल्ने काममा बडो निपुणताको खाँचो पर्दछ। पोल्ने क्रममा कहींकतै कमजोरी रहन गयो या हेक्का गरिएन भने केही मैन साँचाकोे भित्री भागमा नै रहन जान्छ। पछि धातु खन्याउँदा त्यसले बाधा गर्न सक्छ।
सातौं चरणमा साँचोमा तातो धातुको झोल खन्याउने काम हुन्छ। साँचो तयार भएपछि भट्टीको तल्लो भागमा आगो बालिन्छ भने माथिल्लो भागमा साँचोलाई रातो गरी पोल्न राखिएको हुन्छ। तल आगोमा घरुवामा धातु (काँस) राखिन्छ। सबैभन्दा ध्यान दिनुपर्ने वेला यतिखेर नै हुन्छ। धातु गलेर तयार हुनु र माथिल्लो भागमा रहेको साँचो पाकेर रातो हुने समय एउटै हुनुपर्छ। यही वेला सीप र अनुभवको खाँचो पर्दछ। जुन शिल्पी अनुभव र मेहनतले खारिएको हुन्छ उसले थर्मोमिटर विना नै साँचो पाकेको र धातु गलेर खन्याउन तयार भएको थाहा पाउँछ। यही नै परम्परागत सीप हो। काँस छिटो जम्ने धातु भएकाले रातो गरी पाकेको साँचोमा मात्रै यो सबै ठाउँमा फैलिन सक्छ। गलेको धातुको झोल साँचोमा खन्याएपछि करुवा बनाउने काम लगभग पूरा हुन्छ।
आठौं चरणमा साँचोको बाहिरी भाग फुटाल्ने, जोड्ने र उजिल्याउने काम हुन्छ। माटाको साँचो फोरेपछि धातुबाट बनेको करुवाको तल्लो भाग, माथिल्लो भाग, टुटी (नेपालभाषामा अंखुचा) र कलात्मक चरा आदि जोडी कुँदिन्छ। त्यसरी तयार भएको करुवालाई चम्काइन्छ।
यसरी आठौं चरण पार गरेपछि पाल्पाली करुवा तयार हुन्छ। झट्ट हेर्दा मनै लोभ्याउने पाल्पाली करुवामा प्रयोग हुने धातुहरूको आफ्नै महत्त्व छ।
७५ प्रतिशत तामा र २५ प्रतिशत राङको मिश्रणबाट काँस धातु तयार हुन्छ। राङ तीनदेखि नौ भाग टिन र १ भाग शीशा (लिड)को मिश्रणबाट तयार हुन्छ (त्रिफोनोव.द., त्रिफोनोव वा., रासायनिक तत्त्व कैसे खोजे गये?, पृष्ठ १५५)।
आयुर्वेदमा काँसलाई उपयोगी धातुका रूपमा लिइन्छ। राजनिघण्टु अनुसार तीतो, गरम, रूखो, टर्रो स्वभाव रहेको काँस धातु दृष्टिका लागि हितकारी छ। यसले बाथ र कफ रोग निर्मूल गर्न र खाना पचाउन सघाउँछ (चक्रपाणि चालिसे, हितैषी शब्दकोश, पृ. १५८)।
यसैगरी काँसको भाँडामा घ्यू बाहेक अरू जुनसुकै पनि खाद्य वस्तु राखी खानाले आरोग्य सुख–सात्म्य (एकरूपता) गराउँछ (कोषनाथ देवकोटा, नेपाली निघण्टु, पृ. २४०)।
बेजोड कला र परम्परागत सीप खामिएको पाल्पाली करुवा शिल्पको दृष्टिले सुन्दर त छ नै, स्वास्थ्यको दृष्टिले पनि त्यत्तिकै महत्त्वपूर्ण छ। तर कच्चा माल, धातु गाल्ने कोइलाको अभाव, साँचो बनाउन दुई-तीन चरण पार गर्नुपर्ने, एक पटक बनाइएको साँचो फेरि अर्को पटक प्रयोगमा ल्याउन नसकिने लगायत कारणले निर्माण कार्य अति नै कठिन हुन्छ भने लागत पनि धेरै पर्छ।
उत्पादन कम हुने भएकाले उत्पादित वस्तु दैनिक प्रयोजनका लागि नभएर रहरको चीज हुन पुगेको छ। विज्ञानको विकाससँगै प्लास्टिक क्रान्तिले धातुबाट बनेका वस्तु पाखा लगाइरहेको वेला पाल्पाली करुवा चिनो, उपहारको माध्यम बन्न पुगेको छ।
पाल्पाली करुवा सौन्दर्य र इतिहासको चिनारी मात्र होइन हाम्रो परम्परागत सीपको अनुपम उदाहरण पनि हो। यसलाई दिगो राख्न दर्विलो सोचको खाँचो छ। बैठकमा सजिने पाल्पाली करुवालाई शयनकक्ष, भोजनालय, भोजनगृह र भोजनकक्षसम्म पुर्याउनुपर्ने आजको आवश्यकता हो।