श्रीलंकामा कसरी मरिरहेछन् यति धेरै हात्ती?
लगातार दोस्रो वर्ष पनि श्रीलंकामा ४०० भन्दा बढी हात्ती मरेका र यही अनुपातमा ७० प्रतिशतभन्दा बढी हात्ती मर्ने विज्ञको चेतावनी छ। यस्तै, धेरैजसो भाले हात्तीको मृत्यु भएकाले कतै यो प्रजाति नै संकटमा त पर्ने होइन भन्ने उनीहरूको चिन्ता छ।
गत वर्ष आफ्ना श्रीमान्लाई हात्तीले कुल्चेर मारेको घटना सुनाउँदै गर्दा सुमित्रा मलकान्दीको भक्कानो फुट्यो। मध्यश्रीलंकाको किसानी बस्तीकी बासिन्दा सुमित्रा त्यस दिन भान्सामा काम गरिरहेकी थिइन्। श्रीमान् थिलक कुमारा आँगनमा बस्तुलाई आहारा दिंदै थिए। त्यही वेला उनले हात्तीको गर्जन सुनिन्।
श्रीमान्लाई हात्ती आएको जनाउ दिनुपर्यो भन्ने सोच्दै थिइन् तर “केही मिनेटमै जे नहुनुपर्ने त्यो भइहाल्यो।” तीन छोरीकी आमा ४५ वर्षीया मलकान्दी त्यो घटनाले अझै त्रसित छिन्, त्यस्तै प्रलय फेरि आइपर्ने हो कि भन्ने चिन्ता छ।
हात्तीले मन पराउने नरिवल, आँप र केराघारीले घेरिएको उनको घर घना जंगलबाट केही सय मिटर मात्र पर छ। कुरुंगेला जिल्लाको थाल्गास्वेवा गाउँ अचेल मानव-हात्ती द्वन्द्वका कारण जोखिमयुक्त स्थान बन्दै गएको छ।
सो गाउँमा दुई वर्षयता तीन स्थानीय र १० हात्तीको मृत्यु भइसकेको छ। अचेल त गाउँलेहरू सूर्यास्तपछि घर बाहिर निस्कन पनि डराउँछन्।
तर यो समस्या थाल्गास्वेवा गाउँको मात्रै होइन। समस्याको जरो धेरै परसम्म फैलिएको छ।
श्रीलंकामा गत वर्ष हात्ती आतंकका कारण ज्यान गुमाउने १७६ मध्ये कुमारा पनि एक थिए। सोही अवधिमा इतिहासमै धेरै ४७० हात्तीले ज्यान गुमाए। तीमध्ये आधा जतिलाई त मान्छेले नै मारेका थिए। आधा जति रोगव्याधि वा दुर्घटनामा परेर मरेका थिए। अर्थात् औसतमा त्यो वर्ष प्रतिदिन एकभन्दा बढी हात्ती मरेका थिए भने प्रति दुई दिनमा एक व्यक्तिको ज्यान गइरहेको थियो।
खेती गरिने ठाउँ विस्तार हुँदै जाँदा हात्तीको वासस्थान नाशिंदै गएको छ। विस्तारित खेतीले हात्तीको आहारा र खानेपानीको स्रोतमा पनि दखल पुर्याएको छ। यसले अन्ततः मानिसलाई नै हात्तीको तारो बनाइरहेको छ। “खेतबारीमा लगाइने खाद्य बालीले पनि हात्तीलाई आकर्षित गरिरहेको छ,” श्रीलंकाका हात्तीविज्ञ पृथ्वीराज फर्नान्डो भन्छन्।
मानिस र हात्तीको जम्काभेट हुँदा परिणाम घातक हुन सक्ने भएकाले संरक्षणकर्मीले सरकारलाई केही हस्तक्षेपकारी कदम चाल्न दबाब दिंदै आएका छन्।
“सन् २००९ मा गृहयुद्ध सकिएसँगै सरकारले सर्वसाधारणलाई थप जमीन दिन थाल्यो। गृहयुद्धको वेलामा यी ठाउँमा जानै प्रतिबन्ध थियो,” श्रीलंकाली संरक्षण समाजका पर्यावरणविद् चण्डिमा फर्नान्डो भन्छन्।
जमीन वितरणको यो क्रमसँगै विगतका जंगली क्षेत्रमा खेती विस्तार भयो र बस्ती बसाउँदै लगियो जसले हात्ती र मानवबीचको द्वन्द्व बढाउने आधार बनाइदियो।
श्रीलंकामा हात्तीलाई सांस्कृतिक तथा आर्थिक दृष्टिले पनि मूल्यवान् मानिन्छ। घरपालुवा हात्तीलाई सांस्कृतिक साथै पर्यटन प्रवर्द्धनमा पनि उपयोग गरिन्छ। श्रीलंकाली कानूनले हात्तीलाई संरक्षण गरेको छ र यसको वध गर्नेलाई सजाय हुन्छ। यद्यपि बाली जोगाउन हदैसम्मको उपाय अपनाउने किसानहरूलाई रोक्न चाहिं सकिएको छैन।
श्रीलंकामा वन्यजन्तु धपाउन विद्युतीय तारबार लगाउने अनुमति दिइएको छ। तर सो प्रावधान अनुसार वन्यजन्तुलाई गम्भीर चोट लाग्न नदिई तर्साउनेसम्मको विद्युतीय झट्का हान्न पाइन्छ। यसरी हात्तीबाट जोगिन श्रीलंकामा पाँच हजार किलोमिटर क्षेत्रमा विद्युतीय तारबार लगाइएको छ। थाल्गास्वेवा गाउँ वरिपरि पनि विद्युतीय तारबार लगाइएको छ र तारबार लगाउने क्षेत्र विस्तार गरिने योजना छ।
उता, किसानले तारबारमा उच्च भोल्टेजको करेन्ट छोड्ने गरेका छन्। जसका कारण हात्तीको मृत्यु हुने गरेको छ। त्यस्तै, किसानले कहिलेकाहीं विष र ‘ज बम’ (हात्तीको चारामा लुकाइएको र टोक्दा विस्फोट हुने एक उपकरण) को पासो थाप्ने गरेका छन्। कहिलेकाहीं हात्ती धपाउन गोली पनि हान्ने गरेका छन्।
हात्तीबाट जोगिन हात्तीले मन नपराउने सुन्तला जातका फलफूल र अन्य बाली लगाउन सकिने चण्डिमा फर्नान्डोको सरल र सोझो सुझाव छ। सिमसार, घाँसे मैदान, उच्च मैदान र झाडीयुक्त श्रीलंकाको संरक्षित क्षेत्रमा पाँच हजार ८०० हात्ती रहेको अनुमान गरिन्छ, यद्यपि केही विज्ञ वास्तविक हात्तीको संख्या त्योभन्दा कम रहेको अनुमान गर्छन्।
सामान्यतया हात्ती दिनमा ४८ किलोमिटर हिंड्छ र ताजा पानीको स्रोत नजिक बस्छ। खानाको अभाव नभएसम्म हात्तीले लामो यात्रा गर्दैन।
खडेरी वा अन्य कारणले संरक्षित क्षेत्रमा आहाराको कमी भएमा हात्ती नजिकैको खेतबारीतिर जान्छ।
खुम्चिंदो वन क्षेत्रमा धेरै हात्ती अटाउन नसक्ने भएकाले श्रीलंकाली सरकारले संरक्षित क्षेत्रबाट बाहिर निस्कने हात्तीलाई भित्र पठाउने प्रयास नगर्न भनेको छ।
सन् २०२० मा पृथ्वीराज फर्नान्डोको अध्यक्षतामा मानव-हात्ती द्वन्द्व न्यूनीकरण गर्ने राष्ट्रिय कार्ययोजना बनाउने समिति बनेको थियो। तर केही वर्षयता श्रीलंका आर्थिक मन्दीको मारमा परेको हुँदा काम अघि बढ्न सकेको छैन। तर प्रत्येक दिन हात्ती हताहत हुने क्रम बढेसँगै तत्काल केही गर्नुपर्ने आवश्यकता देखिएको छ।
वर्ल्डवाइड फन्ड फर नेचरका अनुसार १९औं शताब्दीयता श्रीलंकामा हात्तीको संख्या ६५४ प्रतिशतले घटेको छ। १० वर्षअघिसम्म श्रीलंकामा प्रतिवर्ष २५० हात्ती मर्ने गरेका थिए। तर केही वर्षयता बर्सेनि मर्ने हात्तीको संख्या चुलिंदो छ- लगातार दोस्रो वर्ष ४०० भन्दा बढी हात्ती मरेका छन्। यही अनुपातमा श्रीलंकाका ७० प्रतिशतभन्दा बढी हात्ती मर्ने चेतावनी पृथ्वीराज फर्नान्डोको छ।
विज्ञहरू धेरैजसो भाले हात्तीको मृत्यु भएकाले पनि चिन्तित छन्। कतै यो प्रजाति नै संकटमा पर्ने त होइन भन्ने उनीहरूको चिन्ता छ। किनकि भाले हात्ती एक्लै गाउँतिर डुल्ने हुँदा यो झन् जोखिममा छ।
श्रीलंकाको मध्य क्षेत्रमा हालका वर्षहरूमा एउटा पनि हात्ती नदेखिनु चिन्ताको विषय भएको चण्डिका फर्नान्डो बताउँछन्। कोरोना महामारीअघि त्यो क्षेत्रमा हात्ती बरोबर देखिइरहन्थे।
अनुसन्धाताहरू संरक्षण क्षेत्र बाहिर हात्ती मरेको थाहा हुने गरे पनि वन क्षेत्रभित्र हात्ती रोग, खडेरी र भिडन्तले मरेका छन् कि भन्नेबारे केही थाहा नभएको बताउँछन्।
यता थाल्गास्वेवामा भने मलकान्दीलाई फेरि पनि घरआँगनमा हात्तीसँग जम्काभेट हुने त होइन भन्ने डर छ। “धेरैभन्दा धेरै हात्ती खेतबारीमा आइरहेका छन्,” उनी भन्छिन्, “हामीलाई त यहाँ बस्नै डरमर्दो छ।”
- बीबीसीमा प्रकाशित यस लेखको अनुवाद महेश्वर आचार्यले गरेका हुन्।