भिजिट भिसा प्रकरणमा अध्यागमन अधिकृत सहित चार जना जेल चलान
भिजिट भिसाको आवरणमा संगठित समूह बनाएर मानव तस्करी गरेको आरोप लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का सहित चार जनालाई जिल्ला अदालत, काठमाडौंले जेल चलान गरेको छ।
नरवीर मानव बेचखिन तथा ओसारपसार सम्बन्धी अलग्गै कसूरमा पुर्पक्षका लागि थुनामा छन्। रूसी सेनामा भर्ती हुन गएका एक पूर्व प्रहरीले फर्किएर जाहेरी दिएपछि नरवीर गत मंसीरमा पक्राउ परेका थिए।
न्यायाधीश कपिलमणि गौतमको इजलासले माघ २३ गते नरवीर, अरुण दाहाल, मनोज तामाङ र सरोजकुमार यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। दिनेश ज्ञवाली, रविन अर्याल, पदम लामा, विनोद कार्की र रामप्रसाद भण्डारीलाई भने धरौटीमा छोडेको छ। पाँच लाख धरौटी जम्मा गर्न नसकेपछि गीता शाहलाई पनि जेल चलान गरिएको छ।
शाहले भिजिट भिसामा बाहिर जाने मानिस खोज्ने भूमिका पाएकी थिइन् भने दिनेश, रविन र रामप्रसाद नामावली संकलन गर्ने भूमिकामा थिए। संकलित नामावली अनुसार नक्कली कागजात बनाउने जिम्मेवारी मनोज र विनोदको थियो।
दाहाल, तामाङ र यादवले भिजिट भिसामा पठाउनुपर्नेहरूको नामावली अध्यागमन अधिकृत खड्कालाई दिने गरेको अभियोग छ। ती नामावली अनुसार खड्काले अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो सहितको टीम बनाएर पार गराउने गरेका थिए। खड्का बाहेक अध्यागमनका अन्य अधिकृत भने फरार छन्।
रोजगारीका लागि सेटिङमा भिजिट भिसामा जानेहरूबाट रकम असुलेर संगठित गिरोह सञ्चालन गर्ने समूहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरेको थियो। अध्यागमनका नौ जना कर्मचारी सहित २२ जनाले भूमिका बाँडफाँड गरेर संगठित रूपमा भिजिट भिसामा मानिस पठाउने गरेको अभियोग माघ १८ गते अदालतमा दर्ता भएको थियो।
भिजिट भिसा लिएर सेटिङमा गएकाहरू कतिपयले विदेश पुगेपछि श्रम भिसा लिएर काम गर्ने गरेका छन् भने कतिपय अलपत्र पर्ने गरेका छन्।
नक्कली कागजात बनाउने, भिजिट भिसामा जाने मानिस खोज्ने, त्यस्ता मानिसको नामावली संकलन गर्ने, नामावली अनुसार विमानस्थलबाट प्रस्थान गर्न सहजीकरण गरिदिने जस्ता भूमिका बाँडेर संगठित रूपमा यस गिरोहले काम गरेको अभियोजनपत्रमा उल्लेख छ।
यस गिरोहमा अध्यागमन कर्मचारी सहित ट्राभल्स, अनलाइन सेवा सञ्चालक, होटल सञ्चालक, अध्यागमनका कर्मचारीको मिलेमतो भएको अभियोजनपत्रमा छ। यसरी गिरोहले नक्कली कागजात खडा गरेर साउदी अरब, मलेशिया, संयुक्त अरब इमिरेट्स, कतार पठाउने गरेको थियो।