उद्यमी अरुण चौधरी सहित तीनै जना रिहा
बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजी स्वामित्वमा लगेको आरोपमा पक्राउ परेका उद्यमी अरुण चौधरी सहित तीनै जना रिहा भएका छन्।
उद्यमी चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई बुधबार रिहा गरिएको हो। तीन जनालाई हाजिरी जमानीमा रिहा गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी दिनेश आचार्यले बताए।
सीआईबीले तीनै जनालाई माघ १८ गते पक्राउ गरेको थियो। उनीहरूलाई हिरासतमा राख्न दुई पटक म्याद थपिएको थियो।
दोस्रो पटक म्याद थप्दा जिल्ला अदालत, काठमाडौंले दुई दिनपछि थुनामुक्त गर्न आदेश दिएको थियो। माघ २२ मा जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले दुई दिन मात्रै हिरासतमा राख्न भनेको थियो।
आदेशमा ‘...यि प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको र प्रतिवादीहरुको अनुसन्धान अधिकारी समक्षको बयान कार्य सम्पन्न भएको हुँदा केही थप बुझ्नु पर्ने, कागज गराउनु पर्ने भएमा त्यस सम्बन्धमा बुझी, कागज गराउनको लागि मिति २०८०/१०/२२ गतेदेखि लागू हुने गरी दुई दिनको म्याद थप गरी दिएको’ उल्लेख छ।
जिल्ला अदालतको आदेश अनुसार तीनै जनालाई हाजिरी जमानीमा थुनामुक्त गरिएको एसएसपी आचार्यले बताए।
सीआईबीका अनुसार २०४३ सालमा बाँसबारी कारखाना र चौधरी परिवारबीच लगानी प्रवर्द्धन सम्झौता भए पनि सरकारी जग्गा निजी स्वामित्वमा पुर्याउने खेल शुरू भएको थियो। यसका लागि २०४३ भदौ १० गते थापाले सञ्चालक समितिको बैठक बसालेर चौधरी परिवारसँग मिलेर च्याम्पियन फूटवेयर लिमिटेड नामक कम्पनी खडा गरेको सीआईबीका एसएसपी आचार्यले पत्रकार सम्मेलनमा बताएका थिए।
च्याम्पियन फूटवेयर लिमिटेड खोल्न बाँसबारी कारखानाका थापा र चौधरी परिवारका लूनकरणदास चौधरीबीच प्रवर्द्धन सम्झौता भएको समेत सीआईबीको अनुसन्धानबाट खुलेको एसएसपी आचार्यको भनाइ छ। ५१ प्रतिशत शेयर चौधरी परिवारको, २५ प्रतिशत बाँसबारीको र बाँकी २४ प्रतिशत सर्वसाधारणको शेयर रहने सम्झौता भएको कागजातबाट देखिएको सीआईबीले जनाएको छ।
२०४३ कात्तिक २७ गते च्याम्पियन फूटवेयर लिमिटेड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको थियो। २०४४ भदौ ५ गते बाँसबारी कारखानाको जग्गाको मूल्यांकन प्रतिरोपनी दुई लाख ५० हजार गरेर १५ लाख रुपैयाँ बराबरको ६ रोपनी जग्गा च्याम्पियनलाई हक हस्तान्तरण गरेको पनि आचार्यले बताए।
बाँसबारी कारखानाको कुल १८ रोपनी तीन आना दुई पैसा जग्गा थियो। २०४४ मंसीर १८ गते बाँसबारी कारखानाको थप चार रोपनी जग्गाको स्वामित्व च्याम्पियनमा सारिएको थियो। “१० रोपनी जग्गा दिएर २६ लाख रुपैयाँ लगानी भएको देखिन्छ,” एसएसपी आचार्यले पत्रकार सम्मेलनमा भने।
जबकि त्यति वेला कम्पनीको चालू पूँजी ५० लाख रुपैयाँ मात्र रहेको उनले खुलाए। यस अनुसार बाँसबारी कारखानाले आफ्नो २५ प्रतिशत शेयर हिस्साका लागि साढे १२ लाख रुपैयाँ मात्र लगानी गर्नुपर्नेमा दोब्बर लगानी गरेको उनको भनाइ छ। ५१ प्रतिशत शेयरवाला चौधरी परिवारले त जम्मा आठ लाख रुपैयाँ मात्रै लगानी गरेको भेटिएको उनले बताए। “सर्वसाधारणका लागि त शेयर जारी नै भएन,” उनले थपे, “बाँसबारीको जग्गा हडप्ने उद्देश्यले नै यी सबै काम भएको देखिन्छ।”
खुलेको तीन वर्षपछि नै च्याम्पियन फूटवेयर बन्द भएको थियो। २०४९ असार २३ गते अर्थ मन्त्रालयले बाँसबारी कारखानालाई निजीकरण गर्ने निर्णय गरेको र त्यसपछि च्याम्पियन फूटवेयरले बाँसबारीको २५ प्रतिशत शेयर मात्रै किन्ने प्रस्ताव गरेको पनि आचार्यले बताए।
महालेखा नियन्त्रकको कार्यालयले बाँसबारीको २५ प्रतिशत शेयरको लिलामीको सूचना निकालेपछि ३६ लाख रुपैयाँमा अरुण चौधरीले खरीद गरेको देखिएको एसएसपी आचार्यको दाबी छ। २०५२ साउन ११ गते चौधरी परिवारको स्वामित्वमा बाँसबारीको शेयर आएको कागजातबाट देखिने उनले बताए।
२०५४ पुस ४ गते भने च्याम्पियन फूटवेयर निजी कम्पनी प्रालिमा दर्ता भएको पनि उनले बताए। “यसरी सरकारको अधीनमा रहेको जग्गा व्यक्तिको नाममा गएको देखिन्छ,” उनले भने। कम्पनीको नाम परिवर्तन गरेर अहिले जग्गाको स्वामित्व चाँदबाग रेसिडेन्सीको स्वामित्वमा पुर्याइएको सीआईबीले जनाएको छ।