अर्थतन्त्र लयमा फर्कँदै छ : अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र गतिशील बन्दै गएको बताएका छन्।
इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान)को प्रथम वार्षिकोत्सव अवसरमा बुधबार आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढ्दै गएको बताएका हुन्। “विगतका दिनमा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भयो, त्यो खर्चको दायित्व तिर्दा अर्थतन्त्र केही दबाबमा परेको थियो। पूँजीगत खर्च अब बढ्छ, त्यो बिस्तारै समाधान हुँदै छ, अर्थतन्त्र लयमा फर्कंदै छ,” उनले भने।
ब्यांक तथा वित्तीय क्षेत्रबाट लिएको ऋण तिनुपर्ने अर्थमन्त्री महतको भनाइ थियो। “ब्यांक तथा वित्तीय संस्थाबाट लिएको ऋण कुनै हालतमा पनि तिर्नुपर्छ,” उनले भने। निजी क्षेत्र, सञ्चारकर्मी, सरकार, नागरिक समाज, समग्र जनता मिलेर मुलुकको अर्थतन्त्रलाई सपार्ने बाटोमा लाग्नुपर्ने उनले बताए।
सबै क्षेत्रको सामूहिक प्रयासबाट मात्र अर्थतन्त्रले गति लिने उनको भनाइ छ। उनले अर्थतन्त्रले पछिल्लो समय राम्रो गति लिएको तथ्यांकले देखाएको उल्लेख गरे। “हामीसँग पूँजी छ तर खर्च गर्न समस्या भएको छ, आगामी दिनमा खर्च पनि बढ्छ,” उनले भने।
नेपाल राष्ट्र ब्यांकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पछिल्लो समय नेपालको अर्थतन्त्र गतिशील बन्दै गएको बताए। आयात बिस्तारै घट्दै जानुका साथै विप्रेषण समेत बढ्दै गएको पौडेलको भनाइ थियो।
उनले नेपालका ब्यांक तथा वित्तीय क्षेत्रमा जुन खालको कर्जा प्रवाह गर्नुपर्ने हो त्यो हुन नसकेको बताए। कर्जालाई उत्पादन क्षेत्रमा प्रवाह गर्नुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रका सूचकांक पछिल्लो समय सकारात्मक गतिमा जाँदा पनि उक्त कुरा आमजनतासमक्ष जान नसकेको बताए। फेब्रुअरीमा हुन लागेको लगानी सम्मेलनलाई आवश्यक पर्ने ऐन-कानून सहजीकरणका लागि निजी क्षेत्रले सरकारलाई सुझाव दिइसकेको ढकालको भनाइ थियो।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्रको मनोबल बढाउन जरुरी रहेको बताए। राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले व्यक्तिगत पाराले सहकारी चलाउँदा सहकारी क्षेत्रमा समस्या उत्पन्न भएको बताइन्।
नेपाल ब्यांकर्स संघका अध्यक्ष सुनLल केसी, नेपाल उद्योग परिसंघ उद्योग समितिका संयोजक लक्ष्मीप्रसाद सुवेदी लगायतले मुलुकको अर्थतन्त्रको विकासमा सबैको सहकार्य आवश्यक रहेको बताए।