बीपी प्रतिष्ठानका विद्यार्थी ६ दिनदेखि रिले अनशनमा
पठनपाठन सञ्चालन गर्नुपर्ने माग राखी रिले अनशनमा बसिरहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीले आमरण अनशन बस्ने चेतावनी दिएका छन्।
शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनका कारण प्रतिष्ठानको पठनपाठन र कामकाज प्रभावित छ। झण्डै एक महीनादेखि पढाइ नभएपछि विद्यार्थीले रिले अनशन शुरू गरेका थिए।
प्रतिष्ठानमा ६ दिनदेखि रिले अनशन बसिरहेका विद्यार्थीले अब आमरण अनशन बस्ने चेतावनी दिएका छन्। “यतिका दिनसम्म मागको सुनुवाइ भएको छैन, पठनपाठन शुरू हुन सकेको छैन,” विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजकले भने, “तत्काल माग पूरा भएन भने आमरण अनशन बस्छौं।”
रिले अनशन बसिरहेका विद्यार्थीमध्ये राति अनशन बस्नेको स्वास्थ्यमा समस्या देखिन थालेको छ। चिसोका कारण अनशन बस्ने विद्यार्थी बिरामी पर्न थालेका छन्।
यसैबीच विद्यार्थी कल्याण समाजले विज्ञप्ति जारी गरी पठनपाठन सञ्चालनका लागि पहल गर्न राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला सबैलाई आग्रह गरेको छ।
बढुवा प्रक्रिया शुरू गर्नुपर्ने माग राखी गत पुस २९ गतेदेखि शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले भद्र अवज्ञा गर्दै आएका छन्। शिक्षक र कर्मचारीले कामकाज बन्द गरेका छन्। जसले गर्दा प्रतिष्ठानको शैक्षिक गतिविधि ठप्प छ।