दुई पटक म्याद थप्दा पनि नारायणगढ-बुटवल सडकमा ४६ प्रतिशत मात्रै काम
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम शुरू भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।
सडक विस्तारको काम २०७९ साउन २२ मा सम्पन्न गर्ने गरी चीनको चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन लिमिटेडले २०७५ माघ २४ मा सम्झौता गरेको थियो। विस्तारको काम शुरू भएको ४२ महीनाभित्र काम सक्ने गरी जिम्मा पाएको कम्पनीले समयमा काम नसक्दा दुई पटक म्याद थपी सडक विस्तारको काम भइरहेको छ।
नारायणगढ-बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनीयर शिव खनालले पहिलो पटक थप गरिएको समय २०८० भदौ १२ मा सकिएपछि दोस्रो पटक समय थप गरेर आयोजना पूरा गर्ने समय २०८१ साउन ८ सम्म थपिएको छ। “राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सडक विस्तारको पाँच वर्ष पुग्दा हालसम्म जम्मा ४६ प्रतिशत काम सकिएको छ,” खनालले भने, “दोस्रो पटक म्याद थप गरेपछि निर्माण व्यवसायीले हालसम्म ५८ प्रतिशत काम गर्छौं भनेर योजना बनाएको भए पनि त्यो पूरा गर्न सकेका छैनन्।”
निर्माण व्यवसायीलाई दोस्रो पटक थपिएको म्याद सकिन करीब पाँच महीना बाँकी हुँदा हालसम्म सडकको एकतर्फी कालोपत्रेको काम २०.३८ किलोमिटर मात्रै भएको बताए। दुईतर्फी कालोपत्रेको काम १३० किलोमिटर गर्नुपर्नेछ। “निर्माण व्यवसायीले बनाएको कार्ययोजना अनुसार कुनै पनि काम गरेका छैनन्,” खनालले भने, “निर्माण व्यवसायीले बनाएको योजना र हामीले गर्नका लागि भनेको योजना पनि फरक छ। निर्माण व्यवसायी आफैंले बनाएको योजना अनुसार काम गर्न सकेका छैनन्।”
सडक विस्तारका लागि चालक सहितका सबै कामदार गरी ६२६ जना निर्माणमा संलग्न रहेको उनले बताए। “निर्माण व्यवसायीले एक हजार ५४१ कामदार आवश्यक पर्छ भनेर भनेका थिए। तर हामीले दुई हजार २०० मजदूर आवश्यक पर्ने प्रक्षेपण गरेका थियौं,” उनले भने, “आफैंले बनाएको कार्ययोजना समेत निर्माण व्यवसायीले पूरा गर्न सकेको देखिएन।”
सडक विस्तारका लागि योजनाले पेभर (कालोपत्रे गर्ने उपकरण) दुई वटा आवश्यक पर्ने भनेकामा निर्माण व्यवसायीले एउटा उपकरणबाट मात्रै कालोपत्रे गरेको, ग्रेडर (सडक सम्याउने उपकरण) २५ आवश्यक पर्ने भनेकामा निर्माण व्यवसायीले १६ वटाबाट काम गर्ने जनाएकामा जम्मा सात वटा मात्रै ग्रेडरको प्रयोग भएको उनले बताए। त्यस्तै, स्काभेटर (माटो खन्ने उपकरण) ४० आवश्यक पर्नेमा निर्माण व्यवसायीले २६ वटाबाट काम गर्छौं भन्दै नौ वटा मात्रै प्रयोग गरेको, रोलर (कालोपत्रे गर्नुअघि सडक सम्याउने उपकरण) ४५ वटा आवश्यक पर्ने भनिएकामा २६ वटाबाट काम गर्छौं भन्दै नौ वटा रोलर मात्रै सडकमा प्रयोग गरेको खनालले बताए।
निर्माण व्यवसायीले आफैंले बनाएको योजना अनुसार काम नगर्दा सडक विस्तारको कामले गति लिन नसकेको उनको भनाइ छ। “कार्यतालिका अनुसार काम गर्न र आयोजनाको काम समयमै सम्पन्न गर्न हामीले निरन्तर दबाब दिइरहेका छौं,” खनालले भने, “निर्माण व्यवसायीले लो बिडिङ (कम मूल्य) मा ठेक्का सकारेका कारण नगद प्रवाह गर्न नसक्दा भने अनुसार काम गर्न सकेको छैन।”
चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाले दोस्रो पटक थप भएको समयमा सडक विस्तारको काम नसकिने बताउँदै अझै एक वर्ष म्याद थप्नुपर्ने जिकिर गरे। “सडक विस्तारको शुरूआती समयमा विभिन्न कारणले काममा ढिलाइ भएको थियो, अहिले पनि मौसमका कारण सडकको काम तीव्र रूपमा गर्न सकिएको छैन,” झाले भने, “कावासोती, प्रगतिनगर लगायत ठाउँमा कालोपत्रे गर्न तयारी गरिएको भए पनि रातिमा शीत खस्ने र मौसम चिसो भएका कारण कालोपत्रे गर्न सकिएको छैन।”
२०८१ साउन ७ सम्म आयोजनाको करीब ७० प्रतिशत काम पूरा गर्ने गरी खटिएको उनको भनाइ छ। “साउनसम्म हामीले गैंडाकोटबाट दाउन्नेसम्म एकतर्फी कालोपत्र गर्ने गरी काम गरिरहेका छौं,” उनले भने, “त्यसपछिको बाँकी काम २०८१ चैतभित्र सकाउने हाम्रो योजना छ।”
सडक विस्तार गर्ने केही ठाउँमा खानेपानी र बिजुलीको पोल सार्ने काम बाँकी रहेको भन्दै उहाँले साइड क्लीयर भएको ठाउँमा काम धमाधम अघि बढेको जानकारी दिए। “यो फेब्रुअरीसम्म सिजी, गैंडाकोट र दुम्कीबास क्षेत्रमा ३० केभी प्रसारण लाइन सार्ने काम सकिन्छ,” उनले भने, “विद्युत्को पाँच किलोमिटर पोल सार्ने र खानेपानीको ६ किलोमिटर पाइप सार्ने कामपछि सडकका सबै बाधा सकिन्छन्।”
आयोजना अन्तर्गत अहिले बाँकी रहेका कल्भर्ट निर्माण गर्ने, पहाडको भित्तो काट्ने, पर्खाल लगाउने, सडक किनारमा ग्याभिन भर्ने, बस वे (सवारीसाधन रोक्ने ठाउँ) बनाउने, कालोपत्रे गर्ने सडक खन्ने र नयाँ बनाउने, माटो भर्ने, बेस र सबबेसको काम भइरहेको उनको भनाइ छ। नारायणगढबाट-बुटवलसम्मको जम्मा ११४ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर सडक छ।
२०१८ सालमा गैंडाकोटको शिलान्यास चोकबाट पूर्व राजा महेन्द्रले शिलान्यास गरेको सडक करीब ५८ वर्षपछि एशियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार भइरहेको छ। चार लेनमा विस्तार हुने नारायणगढ-बुटवल सडकका दुई-दुई लेनको बीचमा ‘ग्रिनरी’ सहितको सडक निर्माण हुनेछ। तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ।
हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात-सात मिटरको हुनेछ। बजार क्षेत्रमा ६-६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ। बजार क्षेत्रको १७.६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ।
सडकको ४२.७ किलोमिटर खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको करीब पाँच किलोमिटर सडक तीन लेनको हुने सूचना अधिकारी खनालले बताए। यस खण्डमा १२ वटा ठूलो पुल (मेजर ब्रिज) र सानो २२ वटा (माइनर ब्रिज) बन्ने क्रममा छन्। सडकका विभिन्न स्थानमा निर्माण हुने २१५ वटा कल्भर्टमध्ये अधिकांशको काम सकिएको छ।
एशियाली विकास ब्यांकको ८५ प्रतिशत ऋण सहयोगमा निर्माण शुरू भएको यस खण्डको कुल लागत नौ अर्ब ३८ करोड रुपैयाँ रहेकामा हालसम्म तीन अर्ब ७६ करोड ६६ लाख आर्थिक प्रगति भएको खनालले बताए। -रासस