नेपाली र अमेरिकी सेनाबीच एकमहीने संयुक्त सैन्य अभ्यास शुरू
काठमाडौंमा नेपाली सेना र अमेरिकी सेनाबीच एक महीना लामो संयुक्त सैन्य अभ्यास शुरू भएको छ।
माघ २३ गतेबाट शुरू भएको सैन्य अभ्यास फागुन २४ गतेसम्म चल्नेछ। २०६० सालदेखि नेपाली सेना र अमेरिकी सेनाबीच पालैपालो संयुक्त अभ्यास हुँदै आएको छ। यो ४१औं संस्करण हो।
काठमाडौंको छाउनी र भक्तपुरको नगरकोटमा अभ्यास हुनेछ। अभ्यासमा नेपाली सेनाका ३६ जना र अमेरिकी सेनाका १० जना सैनिक सहभागी रहेको नेपाली सेनाले जनाएको छ। विपद् व्यवस्थापन, खोज तथा उद्धार र मानवीय सहायताको विषयमा अभ्यास केन्द्रित रहने पनि सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपालले अमेरिका बाहेक बेलायत, भारत, चीन, मंगोलिया, इन्डोनेशिया लगायत मुलुकसँग सैन्य अभ्यास गर्दै आएको छ।