गौतम बुद्ध क्रिकेट रंगशालाका लागि बजेट स्वीकृत, एक साताभित्र टेन्डर आह्वान हुने
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले बजेट स्वीकृत गरेको छ।
चितवन जिल्लाको भरतपुर महानगरपालिकामा अवस्थित रंगशाला निर्माणका लागि ठेक्का आह्वान गर्न स्वीकृति समेत प्राप्त भएको छ। मंगलबार प्रदेश मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का आह्वान गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले बताए।
यस्तै, आजको प्रदेश मन्त्रिपरिषद् बैठकले अघिल्लो आर्थिक वर्षमै सम्पन्न भएका आयोजनाहरूको ठेकेदार कम्पनीलाई बक्यौता रकम पनि भुक्तानी गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार विशेष गरी भौतिक पूर्वाधारसँग सम्बन्धित आयोजनाहरूको करीब ४० करोड रुपैयाँ भुक्तानी दिने निर्णय भएको छ।
त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा १९ कट्ठा जग्गामा निर्माणाधीन रंगशालाको ३९ प्रतिशत काम सकिएपछि बजेट अभाव भएको भन्दै धुर्मस-सुन्तली फाउन्डेशनले २०७८ साउन २२ गतेबाट काम पूर्णतः रोकेको थियो। पछि रंगशाला निर्माण गर्दाको ऋणको जिम्मा संघीय सरकारलाई नै छोड्ने गरी बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गर्ने सहमति भएको थियो। महानगरले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन अनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ र भरतपुर महानगरले २२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछन्।
प्रदेश सरकार र महानगरबीच गत कात्तिक २१ गते रंगशाला निर्माणको सम्झौता भएको थियो। मुख्यमन्त्री शालिकराम जम्कट्टेल र भरतपुर महानगर प्रमुख रेनु दाहालले रंगशाला निर्माणको समझदारीपत्रमा हस्ताक्षर गरेपछि बजेट जुटाउन स्रोतको खोजी तीव्र पारिएको थियो। महानगरले संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरेको बताइएको छ।
कुल ३० हजार दर्शक क्षमताको रंगशालामा तीन हजार दर्शक बस्न मिल्ने प्यारापिट बनिसकेको छ। यसका लागि २८६ पिलर उभ्याइएका छन्।
एक साताभित्र टेन्डर आह्वान गरिने
रंगशालाको थप पूर्वाधार निर्माणका लागि एक साताभित्र टेन्डर आह्वान हुने भएको छ। यसअघि फाउन्डेशनले बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई परिमार्जन गरी केही पूर्वाधार थप्नुपर्ने र केही हटाउनुपर्ने महानगरले जनाएको छ।
पहिलो चरणमा मैदान, नाला, भीआईपी कक्ष, प्यारापिटको काम अघि बढाइनेछ। थप बजेट सुनिश्चित गरेर दोस्रो चरणको काम पनि शुरू गरिने बताइएको छ।
फाउन्डेशनले ५७ करोड रुपैयाँको काम गरेको सरकारी प्रतिवेदनहरूमा उल्लेख छ। विभिन्न निर्माण सामग्री दिने सप्लायर्सहरूलाई तिर्न बाँकी १८ करोड ४३ लाख रुपैयाँ छ। निर्माणका लागि थप स्रोत जुटाउन नसकेपछि फाउन्डेशनले २०७८ पुस २ गते महानगरपालिकालाई स्वामित्व लिन अनुरोध गर्दै पत्र लेखेको थियो।
रंगशाला निर्माणको विगत
धुर्मुस-सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा २०७५ माघ १६ गते बुधबार शिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, हालका प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपति लगायत मन्त्री, सांसद तथा खेलाडीहरूको उपस्थितिमा परियोजना अगाडि बढाइएको थियो।
शहीद दिवसको अवसर पारेर त्यस दिन रंगशाला निर्माणका लागि फाउन्डेशन र भरतपुर महानगरबीच जग्गाप्राप्ति सम्बन्धी सम्झौता भएको थियो। सम्झौतामा फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले हस्ताक्षर गरेका थिए।
क्रिकेट रंगशाला बनाउने भएपछि त्रिभुवन विश्वविद्यालयले भरतपुर महानगरपालिका मार्फत फाउन्डेशनलाई जग्गा उपलब्ध पनि गराएको थियो। रंगशाला कमलको फूल आकारको बन्ने भनिएको थियो। रंगशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फूटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, स्वीमिङ पूल र फिटनेस सेन्टरसम्म रहने बताइएको थियो।
रंगशालाको बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरू, एकसिंगे गैंडा, हात्ती, पाटे बाघ लगायत जनावरको धातुको मूर्ति तथा नेपालका पर्यटकीय स्थललाई चिनाउने प्रतीक समेत रहने गरी निर्माण थालिएको थियो। क्रिकेट खेलाडी उत्पादन गर्न एकेडेमी समेत सञ्चालन गर्ने योजना सहित तीन अर्बको लागतमा रंगशाला निर्माण हुने अनुमान थियो। प्रारम्भिक चरणमा दुई करोड ८६ लाख ३७ हजार ११ रुपैयाँ खर्च गर्ने गरी काम अघि बढाइएको थियो।
देश-विदेशका नेपालीहरूबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने भने पनि पर्याप्त रकम जुट्न नसकेपछि र फाउन्डेशनलाई ऋण लागेपछि निर्माण कार्य रोकिएको थियो। देशभरका स्थानीय तहबाट समेत फाउन्डेशनलाई सहयोग गरिएको थियो।