साउनयता चितवनमा ११ गैंडा मरे
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालू आर्थिक वर्षमा ११ वटा गैंडा मृत भेटिएका छन्।
मृत भेटिएकामध्ये दुई वटा चोरी शिकारीले मारेका र नौ वटा प्राकृतिक कारणले मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। तिवारीका अनुसार प्राकृतिक कारणले मर्नेमा दलदलमा फसेर, बिरामी भएर, जुधेर, बाघको आक्रमणमा परेर र बूढो भएर लगायत थिए।
सोमबार पश्चिम चितवनको राप्ती नदी किनारमा मृत भेटिएको भाले गैंडा बूढो भएर मरेको र अन्दाजी ३० वर्षको सो गैंडाको खाग, खुर सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए।