हरेक दिन नेपाल भित्रिन्छ चार अर्ब रेमिटेन्स, विदेशी मुद्राले ढुकुटी बलियो
आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महीनामा नेपालमा रु.सात खर्ब ३३ अर्ब रेमिटेन्स भित्रिएको छ।
अघिल्लो वर्षको यही अवधिका तुलनामा यो करीब एकचौथाइले धेरै हो। नेपाल राष्ट्र ब्यांकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले गत साउनदेखि पुससम्ममा पाँच अर्ब ५२ करोड अमेरिकी डलर बराबरको रेमिटेन्स भित्र्याएको हो।
कामका लागि विदेशिने युवाको संख्या बढेसँगै रेमिटेन्स आप्रवाह पनि उल्लेख्य बढेको छ। अहिले दैनिक सरदर रु.चार अर्ब सात करोड बराबरको रेमिटेन्स नेपाल भित्रिइरहेको छ। देशको अरू आम्दानीको स्रोत उल्लेख्य नहुँदा पनि पर्याप्त रेमिटेन्स भित्रिइरहेकाले मुलुकको अर्थतन्त्र बर्बाद हुनबाट जोगिएको अर्थशास्त्रीहरू बताउने गर्छन्।
पर्याप्त रेमिटेन्स भित्रिएका कारण देशको अर्थतन्त्रको बाह्य स्थिति नाप्ने शोधनान्तर स्थिति, चालू खाता तथा विदेशी मुद्राको सञ्चिति सकारात्मक रहेको केन्द्रीय ब्यांकले जनाएको छ। पुससम्म नेपालको विदेशी मुद्राको सञ्चिति १३ अर्ब ६९ करोड अमेरिकी डलर बराबर पुगेको छ। यो रकम गत असारको तुलनामा करीब १७ प्रतिशत धेरै हो।
यो सञ्चिति नेपाललाई एक वर्षको वस्तु र सेवाको आयात थेग्न पर्याप्त हुन्छ। विदेशी मुद्राको सञ्चिति भएन भने मुलुकले विदेशबाट वस्तु र सेवाको आयात गर्न सक्दैन।
यस्तै, बाहिरिने र भित्रिने रकमबीचको अन्तरलाई जनाउने शोधनान्तर स्थिति अहिले सुदृढ अवस्थामा देखिएको छ। पुसमा शोधनान्तर स्थिति रु.दुई खर्ब ७३ अर्ब ५२ करोड बचतमा छ। यो नोक्सानमा जानुको अर्थ देशमा भित्रिनेभन्दा बाहिरिने रकम धेरै हुनु हो।
त्यसैगरी, विदेशसँगको कारोबारलाई जनाउने चालू खाता पनि पुसमा एक खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँले बचतमा छ।
यी सबै तथ्यांकले देशको बाह्य क्षेत्र बलियो अवस्थामा रहेको देखाउँछ। यद्यपि व्यवसायीहरूले देशको आन्तरिक अर्थतन्त्रमा माग खस्किएको र अर्थतन्त्र शिथिल रहेको बताउने गरेका छन्। आयात शिथिल भएको तथ्यांकले पनि देखाएको छ।
राष्ट्र ब्यांकका अनुसार पुससम्म नेपालले रु.सात खर्ब ६८ अर्बको वस्तु आयात गरेको छ। यो गत वर्षको यही अवधिका तुलनामा ३.१ प्रतिशत थोरै हो।
देशमा उपभोक्ताको माग नभएका कारण आयात कमजोर भएको व्यवसायीको तर्क छ। सुन, कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, धान तथा चामल, पेट्रोलियम पदार्थ लगायतका वस्तुको आयात घटेको केन्द्रीय ब्यांकले जनाएको छ।
आयातसँगै निर्यात पनि घटेको छ। यो अवधिमा नेपालले रु.७४ अर्ब ९७ करोडको वस्तु निर्यात गरेको छ। यो गत वर्षको यही अवधिका तुलनामा ७.२ प्रतिशतले थोरै हो। यो आर्थिक वर्षको पहिलो ६ महीनामा नेपालले वैदेशिक व्यापारमा रु.६ खर्ब ९३ अर्ब घाटा बेहोरेको छ।