खाद्यान्न, दाल, मसलाको मूल्यमा चर्को वृद्धि, मूल्यवृद्धि दर भने ५.२६ प्रतिशत मात्रै
नेपाल राष्ट्र ब्यांकले पुसमा औसत उपभोक्ता मूल्यवृद्धि दर ५.२६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ।
गत वर्षको यही अवधिमा मूल्यवृद्धि दर ७.२६ प्रतिशत थियो। गत आर्थिक वर्षभरि उच्च रहेको मूल्यवृद्धि दर गत भदौयता घटिरहेको थियो। भदौमा ८.१९ प्रतिशत पुगेको मूल्यवृद्धि मंसीरमा आइपुग्दा ४.९५ प्रतिशतमा ओर्लिएको थियो। पुसमा भने अघिल्लो महीनाका तुलनामा मूल्यवृद्धि दरमा सामान्य बढोत्तरी भएको हो।
औसत उपभोक्ता मूल्यवृद्धि दर मध्यम खालको देखिए पनि खाद्यान्न, मरमसला सहित अधिकांश घरायसी वस्तुको मूल्यमा चर्को वृद्धि देखिएको छ। राष्ट्र ब्यांकका अनुसार पुसमा खाद्यान्नको मूल्य ११.३८ प्रतिशतले बढेको छ। त्यसैगरी, दाल तथा गेडागुडीको मूल्य ११.१४ प्रतिशतले बढेको छ। दूध र अन्डाको मूल्य १०.२९ प्रतिशतले, फलफूलको मूल्य १०.१५ प्रतिशतले, चिनी र चिनीजन्य वस्तुको मूल्य ७.२९ प्रतिशतले बढेको छ।
पुसमा मसलाको मूल्य भने अचाक्ली बढेको छ। अघिल्लो वर्षका तुलनामा मसलाको मूल्य ३५.६ प्रतिशतले बढेको केन्द्रीय ब्यांकले जनाएको छ।
खाद्यान्न, दाल, दूध, मसला जस्ता वस्तुको मूल्य बढ्दा न्यून आय भएका समूह बढी मर्कामा पर्छन्। न्यून आय हुने समूहको आम्दानीको अधिकांश हिस्सा खाद्यवस्तुकै खरीदमा जान्छ।
यद्यपि घ्यूतेल, तरकारी जस्ता वस्तुको मूल्य यो अवधिमा घटेको छ। पुसमा घ्यूतेलको मूल्य १३.०७ प्रतिशतले घटेको छ। त्यसैगरी, तरकारीको मूल्य १.०४ प्रतिशतले घटेको छ।
राष्ट्र ब्यांकका अनुसार मनोरञ्जन क्षेत्रको मूल्य १२.८४ प्रतिशतले बढेको छ। पुसमा शिक्षा क्षेत्रको मूल्य ८.९२ प्रतिशत र फर्निचरको मूल्य ५.१८ प्रतिशतले वृद्धि भएको छ। यद्यपि यातायातको मूल्य १.६२ प्रतिशतले घटेको छ।
पुस महीनामा वार्षिक बिन्दुगत तलब तथा ज्याला दर ५.५६ प्रतिशतले बढेको छ।
तर केन्द्रीय ब्यांकले सार्वजनिक गर्ने मूल्यवृद्धिको तथ्यांक बजारको वृद्धिसँग तालमेल नहुने उपभोक्ताहरूको गुनासो हुने गर्छ। बजारमा उपभोग्य वस्तुको मूल्यवृद्धि चर्को भए पनि तथ्यांकमा वृद्धिदर थोरै मात्रै देखिने गरेको उनीहरू बताउँछन्।
केन्द्रीय ब्यांकले भने ४९६ वटा वस्तु र सेवाको भारका आधारमा औसत मूल्यवृद्धि दर निकालिने भएकाले कुनै एक वस्तुको मूल्य बढ्दा त्यसले समग्र सरदर मूल्यवृद्धि दरमा खासै प्रभाव नपार्ने बताउने गरेको छ।