पूर्व मन्त्री केशव बुढाथोकीको निधन
पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकीको गएराति निधन भएको छ।
६ वर्षदेखि क्यान्सरसँग लड्दै आएका बुढाथोकीको विराटनगरमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस, झापाका सचिव कृष्ण हुमागाईंले बताए।
सचिव हुमागाईंका अनुसार बुढाथोकी २०२४ सालबाट कांग्रेसको राजनीतिमा सक्रिय थिए। हकी र निडर स्वभावका नेता बुढाथोकी पूर्वी नेपालको राजनीतिमा 'सेतो बाघ' का रूपमा परिचित थिए।
बुढाथोकी संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट दुई पटक निर्वाचित भएका थिए। उनी सामान्य प्रशासनमन्त्री समेत भएका थिए।