अरुण चौधरी सहित तीनै जनालाई बुधबारसम्म छाड्न अदालतको आदेश
जिल्ला अदालत, काठमाडौंले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजी स्वामित्वमा लगेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरी लगायत तीनै जनालाई बुधबारसम्म छाड्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले सोमबार उद्योगी चौधरी, बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई हाजिर जमानीमा छाड्न आदेश दिएको हो।
जिल्ला अदालतका रजिस्ट्रार रामु शर्माले भोलिसम्म अनुसन्धान सम्पन्न गरेर मुद्दा दर्ता गर्नुपर्ने र मुद्दा दर्ता गर्न नसके पनि हाजिर जमानीमा छाडेर अनुसन्धान गर्नुपर्ने आदेश आएको बताए।
आदेशमा ‘...यि प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको र प्रतिवादीहरुको अनुसन्धान अधिकारी समक्षको बयान कार्य सम्पन्न भएको हुँदा केही थप बुझ्नु पर्ने, कागज गराउनु पर्ने भएमा त्यस सम्बन्धमा बुझी, कागज गराउनको लागि मिति २०८०/१०/२२ गतेदेखि लागू हुने गरी दुई दिनको म्याद थप गरी दिएको’ उल्लेख छ।
विवादित जग्गा वा सम्पत्तिलाई मास्न लुकाउन वा अहिले नै अन्त हक हस्तान्तरण गरी अनुसन्धानलाई प्रभावित पार्ने अवस्था नरहेको र प्रतिवादीमध्येका थापाको उमेर ८० वर्षमाथि रहेको तथा अन्य प्रतिवादीहरू अन्य पेशा व्यवसायमा रही हजारौंलाई रोजगारी प्रदान गरी अभिभावकका रूपमा रही आएको देखिंदा २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने नदेखिएको आदेशमा छ।
थप बुझ्नुपर्ने वा कागज गराउन नपर्ने भएमा दुईदिने म्याद नसकिंदै छाड्न सकिने पनि आदेशमा भनिएको छ। त्यसरी छाड्न नमिले थपिएको म्यादभित्र बुझ्नुपर्ने बाँकी काम पूरा गरेर हाजिर जमानीमा छाड्न अदालतले आदेश दिएको हो।
अदालतले आदेशमा भनेको छ, ‘यी प्रतिवादीहरुबाट थप बुझ्नु पर्ने वा कागज गराउन नपर्ने भएमा सो अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाडन सक्ने र सो नभएमा म्याद थप भएको दुई दिनभित्र यी प्रतिवादीहरुबाट अब बुझ्नुपर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्पन्न हुन नसक्ने भएमा निजहरुलाई अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्नु भनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम यो आदेश गरी दिएको छ।’
तीनै जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले माघ १८ गते पक्राउ गरेको थियो।