सहकारीपीडितले रवि लामिछाने र दीपेश पुन विरुद्ध पनि दिए उजुरी
पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाबाट पीडित बचतकर्ताले रवि लामिछाने विरुद्ध पनि उजुरी दिएका छन्।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सोमबार पूरक निवेदन आएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए। “सूर्यदर्शन सहकारीको ठगीका विषयमा आज पूरक जाहेरी परेको हो,” डीएसपी विकले भने।
सूर्यदर्शन सहकारीको ठगी प्रकरण सम्बन्धी मुद्दा जिल्ला अदालत, कास्कीमा विचाराधीन छ। यसअघि गत भदौमा प्रहरीमा उजुरी परेको थियो। प्रहरीले अनुसन्धान गरेर जिल्ला सरकारी वकीलको कार्यालय मार्फत अदालतमा मुद्दा दायर गरेको थियो।
त्यति वेला सहकारीका अध्यक्ष थानबहादुर बुढा मगर, पूर्व अध्यक्षहरू गितेन्द्रबाबु राई (जीबी) र भूपेन्द्र राई लगायतलाई विपक्षी बनाइएको थियो। उनीहरूमध्ये कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्यहरू शिवबहादुर गुरुङ र भगीश्वर अर्याल पक्राउ परेका थिए। उनीहरूलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
पूर्व अध्यक्ष जीबी राई फरार छन्। उनी विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरिसकेको छ।
जीबी राई अध्यक्ष रहेको ग्यालेक्सी टेलिभिजनमा सूर्यदर्शन सहकारीको रकम लगानी गरिएको आरोप छ। ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्दा रवि लामिछाने प्रबन्ध निर्देशक थिए। त्यसै आधारमा उनीमाथि पनि छानबिनको माग गरी पीडितहरूले आज उजुरी दिएका हुन्।
आज दिएको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँगै नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनलाई पनि विपक्षी बनाइएको छ। पुन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्।
त्यस्तै, विभिन्न १५ कम्पनीलाई पनि विपक्षी बनाइएको छ। बचतकर्ताको रकम ती कम्पनीमा लगानी गरेर हिनामिना गरिएको पीडितको आरोप छ।
उनीहरूले दिएको उजुरीमा एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ। उनीहरूबाट बिगो भराउन र सहकारी ऐन अनुसार जेल सजाय माग गरिएको छ।
यसलाई पूरक उजुरीका रूपमा लिएर अनुसन्धान अघि बढ्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विकले बताए। “अब यसमा थप अनुसन्धान गर्छौं,” डीएसपी विकले भने, “नाम आएकाहरू विरुद्ध आवश्यकता अनुसार अनुसन्धान अघि बढ्छ।”