एउटा पुल नहुँदा देशबाटै अलग्गिएका तीन गाउँ
मेची नदीमा एउटा झोलुंगे पुल पनि नहुँदा मेची पारिका तीन गाउँ शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताबाट पनि वञ्चित भइरहेछन्।
बिहानको ११ बज्दै थियो, नेपालको पूर्वी सिमाना मेची नदीपारि रहेको नेपाली गाउँ सिसौडाँगीबाट खोमनी यादव वारि आउँदै थिइन्। नदी तर्ने मनसायले किनारामा उभिएका पत्रकारहरूलाई उनले हातको इशाराले अलि परबाट स्कूटर तार्न भनिन्।
केही बेरमै उनले देखाएको बाटोबाट उनकी छोरी दीपा झोला बोकेर आइपुगिन्। आमाका हातमा रहेका रित्ता भाँडा लिइन्। आफूसँग भएको झोला दिइन् र बाटो लागिन्।
खोमनीका अनुसार यो उनीहरूको दैनिकी हो। मेची नदीलाई उनीहरूले घर र कामबीचको सिमाना बनाएका छन् जहाँबाट खाना ल्याउने र रित्ता भाँडा लिएर फर्किने गर्छन्।
मेची वारि कालिकाझारमा उनीहरूको घर छ। पारि सिसौडाँगीमा दुई बिघा ऐलानी जग्गामा खेती। त्यही खेती गरेको भरमा उनीहरूको गुजारा चल्छ। “यो मेचीको पुलमा झोलुंगे पुल हालिदिएको भए खाना ल्याउने र पुर्याउने दैनिकी फेरिन्थ्यो होला,” खोमनी भन्छिन्।
मेची नदीमा पुल नबन्दा दैनिक कष्ट खप्ने खोमनीको परिवार मात्र होइन। यो त मेची नदीले छुट्याएका तीन वटा गाउँहरू ग्वालाबस्ती, सिसौडाँगी र झाडुबस्तीका बासिन्दाको साझा दुःख हो। तिनैमध्येका एक हुन्, सुधीर घोस।
८० वर्षीय सुधीरकी श्रीमती र तीन सन्तान भारतको बिहारमा बसोबास गरिरहेछन्। उनका अनुसार मेची किनारको दुःखले नै उनको परिवारलाई त्यहाँ पुर्याएको हो। आफू बसिरहेको नेपाली बस्तीमा कामको अवसर नपाएपछि छोराहरू ज्यामी कामका लागि बिहार पुगेको उनी बताउँछन्। माघ १४ गते घरैमा पुग्दा उनी छोरी सिपाली बसिरहेको बिहारको गाउँ गलगलिया जान तयार थिए।
“मेचीको पेटमा जन्मिएको म, मर्ने वेला मेची छोडेर कतै हिंड्दिनँ भनेको थिएँ, बूढी, छोराछोरी सबै रिसाए,” सुधीर सुनाउँछन्, “आज केटी (छोरी)ले मीठो खान बोलाएकी छ तर म भोलि फर्किहाल्छु, बुढेसकाल लागेको छ, कति वेला मर्छु, मैले केटाहरूलाई यही जग्गामा जलाइदेई भनेको छु।”
पौडेर मेची नदी तर्दैमा उनको जवानी सकियो। २०६५ सालमा मेची नदी तर्न खोज्दा बाढीले झन्डै बगाएपछि भने पौडिने आँट पनि सेलाएको बताउँछन् उनी। गाउँकै मान्छेले बचाएपछि हरेक वर्ष असारमा मेची नदीलाई नै आमा मानेर पूजा गर्ने गरेको बताउँछन् उनी।
मर्नुअघि मेची नदी वारिपारिका दुई नेपाली गाउँ जोड्ने पुल बनेको हेर्ने रहर लागेको सुनाउँछन् उनी। भन्छन्, “खै अब मैले मेचीमा झोलुंगे पुल बनेको देख्न पाउँछु कि पाउँदिनँ? मैले पुल बनाउँछु भन्दै आउनेलाई भने भोट दिएको छु। उनीहरूले मेरो भोट झोलुंगे पुलका लागि थियो भन्ने चाल पाए कि पाएनन्?”
मेची नदीमा एउटा झोलुंगे पुल पनि नहुँदा पारि सिसौडाँगीका नेपाली बासिन्दा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताबाट पनि वञ्चित हुनुपरेको छ।
मेची पारिका तीन बस्तीका बालबालिका पढाउने एउटा मात्रै विद्यालय छ, मेची प्राथमिक विद्यालय। ग्वालाबस्तीमा रहेको उक्त विद्यालयमा कक्षा २ सम्म मात्रै पढाइ हुन्छ। त्यसपछि माथिल्लो कक्षा पढ्न मेची तरेर कालिकाझोडामा रहेको प्राथमिक विद्यालयमा जानुपर्ने बाध्यता रहेको विद्यालयकी शिक्षिका रमादेवी कोइराला बताउँछिन्। “तर पुल नहुँदा अधिकांश बालबालिका बीचमै पढाइ छोड्न बाध्य छन्,” कोइराला भन्छिन्।
विद्यालयसम्म पहुँच नभएकैले पढाइ छोडेका एक विद्यार्थी हुन्, प्रदीप राजवंशी। “कहिले नेपाल त कहिले भारतको विद्यालय गर्दै कक्षा आठसम्म पढें,” राजवंशी भन्छन्, “भारतमा भाषा मिल्दैन, नेपालमा मेची तरेर जान सकिंदैन।”
मेची नदी तरेर नियमित विद्यालय जाने विद्यार्थी दुई-तीन जना मात्र रहेको ग्वालाबस्ती टोल विकास समितिका अध्यक्ष अमुल यादव बताउँछन्। यादव भन्छन्, “मेची वारिका विद्यालयमा पढाउन कोठा लिएर राख्न यस भेगका अभिभावकको आर्थिक अवस्थाले पुग्दैन। नदी तर्न विद्यार्थी सक्दैनन्।”
यी तीन बस्तीका बासिन्दा स्वास्थ्य सेवाको पहुँचबाट पनि उसैगरी वञ्चित हुनुपरेको छ। मेची पारि कुनै पनि स्वास्थ्य संस्था छैन। बिरामीले सजिलै उपचार पाउँदैनन्। प्राथमिक उपचारका लागि समेत मेची तरेरै आउनुपर्ने भएकाले गर्भवती र सुत्केरी महिलालाई वर्षाको समयमा वारि वासस्थान खोजेर राख्ने गर्छन्।
“बिरामी हुँदा गाउँसम्म एम्बुलेन्स आउँदैन, बोकेर नै नदी तार्नुपर्छ,” खोमनीको दुखेसो छ। नदी तर्नुपर्ने बाध्यताकै कारण बिरामी हुँदा भारतीय मेडिकलहरूको भर पर्नुपरेको उनी सुनाउँछिन्।
नेपाली भूमि भएर पनि देशबाट अलग्गिएका यी तीन बस्ती अवसर र बजारबाट पनि वञ्चित छन्। न पसल छ न बेच्ने ठाउँ। अधिकांश घर टाटीले बनाइएका छन्। “हाम्रा घरहरूमा पानी चुहिन्छ, चुलोमा हत्तपत्त आगो बल्दैन, बिहान खाए बेलुका के खाने भन्ने पीर हुन्छ,” झाडुबस्तीकी मदन पाहन भन्छन्।
आफूले खेती गरी उब्जाएको अनारस र आलु बेच्न पनि भारतीय व्यापारीको भर पर्नुपरेको पाहन बताउँछन्। उनका अनुसार भारतको अधिकारी बजार र बतासी पायक पर्ने बजार हुन्। मेची वारिका कालिकाझार, भिन्डीबस्ती र फँडानीबस्तीमा हाट लाग्ने गरेको भए पनि पुल नहुँदा टाढा पर्छ।
“हाम्रो सामान नेपाल लैजानका लागि ठूलो लागत लाग्छ, गाउँमा आउने कुनै बाटो छैन, कसरी नेपाली बजार लग्नु?” पाहन भन्छन्, “हाम्रा लागि त के नेपाल, के भारत?”
नेपाल-भारत सिमाना छुट्याउने जंगे पिलरले घेरिएका छन् यी तीन गाउँ। वर्षौंदेखि ती सीमास्तम्भको रक्षा गर्ने पनि यिनै गाउँका बासिन्दा हुन्। तर राज्यको नजर उनीहरूसम्म पुगेको छैन। सिसौडाँगीकी सोना बास्की भन्छिन्, “एउटा पुलका लागि हामी वर्षौंदेखि कराइरहेका छौं, नेताहरूले चार चार पटक गाउँ आएर पुल बनाउँछौं भनेका छन् तर पुल हाल्ने चाल गरेका छैनन्।”