थेबेको काव्यिक परिष्कार
थेबेका प्रायजसो कविता आत्मिक लाग्छन्। तिनले सामाजिक र आर्थिक विषयभन्दा अन्तर्मनको संवेदनालाई पक्रिएका छन्।
कवि सन्तोष थेबे समकालीन कवितामाझ आफ्नो पछिल्लो संग्रह स्मृतिको पुरानो दह लिएर प्रस्तुत भएका छन्। यसअघि ‘फालेलुङ र कावेली बजार’ कविता संग्रह ल्याइसकेका उनी दोस्रो संग्रहमा थप परिष्कृत र सशक्त देखिन्छन्। ५५ वटा साना र मझौला कविता संगृहीत स्मृतिको पुरानो दह भाषा र विम्बमा प्रबल छ।
समकालीन नेपाली कविताका विविध स्वरहरूमा छुट्टै लाग्छन् थेबे। समालोचकहरू भन्छन् कि कविता विम्बले लेखिन्छ। अर्काथरीको बुझाइमा चाहिँ भाषिक विचलन नभई कविता हुँदैन। यी दुवै तत्त्व बोकेका थेबेका कविता पुस्तकको शीर्षकले नै संकेत गरेझैं उनको स्मृतिका साक्षी हुन्।
रिसाएर तिमी निदाएका वेला
मौका छोपेर
तिम्रो अधरमा
चुम्बनको टीका लगाइदिएँ
स्पर्शको माला पहिराइदिएँ।
-सपनाको डोली
यी पंक्तिमा कवि अतीत-सम्मोही अर्थात् ‘नोस्टाल्जिक’ बनेका छन् जहाँ प्रेमानुभूतिलाई काव्यिक आयाममा व्यक्त गर्छन्। उनका प्रायजसो कविता आत्मिक लाग्छन्। तिनले सामाजिक र आर्थिक विषयभन्दा अन्तर्मनको संवेदनालाई पक्रिएका छन्। जस्तै-
आँधीको पूर्व संंकेत स्पष्ट छ
झ्याल ढोकाहरू बन्द भइसके।
-हिउँको टुक्रा
कविता कविको आत्मजीवनी पनि हो। यस्तै आत्मानुभव थेबेका कवितामा यत्रतत्र भेटिन्छ। जस्तो-
शब्दजालमा निस्सासिएको
आवाजहरूको दोबाटोमा लम्पसार
सुतेर भोक हड्ताल गरिरहेछु।
-इसारा
२०६२/६३ को जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तनसँगै पहिचानका पक्षमा लेख्ने थुप्रै स्रष्टा निक्लिए। यस कर्ममा थेबे पनि अछुतो छैनन्। मानसिक रोगको विषादलाई भने नेपाली कविहरूले विरलै देखेका छन्। यसै क्रममा थेबे लेख्छन्,
अहिले समुद्र आगोमा नाचिरहेछ
यसै भन्न गाह्रो छ साथी
मनभित्र समूह जलिरहेछ या समुद्रभित्र मन
-अवसादका गोटीहरू
कविताको तत्त्व-मीमांसीय र ज्ञान-मीमांसीय उचाइ छुन भने थेबेले अझै प्रयत्न गर्नुपर्ने देखिन्छ। कविता भनेको शब्दहरूको थुप्रो वा भावको अभिव्यक्ति मात्र होइन। यो त लेखन प्रविधि पनि हो। कविता रूप पनि हो। थेबेको यो दोस्रो संग्रह सौन्दर्यशास्त्रका दृष्टिले उच्च कोटिको लाग्छ। उनी लेख्छन्-
बितेर गएकाहरू
आज पनि सम्झनाको तलाउमा बसेर
ससाना ढुङ्गा फालिरहेछन्
-बितेर गएकाहरू
यस कवितामा संवेदनाको मर्करी छ। मनको उत्खनन उनको विशेषता हो र तीन दशकदेखि यही गर्दै आएका छन्। जस्तो कि-
बाटोमा एकजोर आँखा बिछ्र्याइदिएको छु।
अफ्ठयारो नमानी टेक
तिमीले दृष्टि पाएर म कहिले अन्धो हुने छैन।
-दृष्टि
नेपाली कविताको इतिहासमा नाम कमाएका स्थापित कविहरू वैरागी काइँला, भूपी शेरचन र भक्त कटुवालको लेखन परम्पराबाट थेबे प्रभावित छन्। उनको शब्दबोध र आत्मबोध स्मृतिको गहिरो दहमा पौडिरहेको हामी पाउँछौं।
किताब : स्मृतिको पुरानो दह, कवि : सन्तोष थेबे, प्रकाशक : कृष्ण पाख्रिन स्मृति प्रतिष्ठान, मूल्य : २५०।- पृष्ठ : ९६