घरभित्र निस्सासिएर सासू-बुहारीको मृत्यु
घरभित्र निस्सासिएर डडेल्धुरामा दुई जनाको मृत्यु भएको छ।
डडेल्धुराको अमरगढी नगरपालिका-१, मालमका ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरू सासू-बुहारी हुन्।
दुवै जना सोमबार बिहान बेहोश भेटिएका थिए। उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुम नायकले बताए।
गएराति दुवै जना आगो बालेर सुतेका थिए। झ्यालढोका बन्द गरेकाले निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक नायकको भनाइ छ।