सामाजिक सञ्जालका कारण सद्भाव खलबलिन सक्ने धर्मगुरुको चिन्ता
सामाजिक सञ्जालमार्फत भ्रम फैलिँदा सामाजिक सद्भाव खलबलिन सक्ने धर्मगुरुहरूले चिन्ता जनाएका छन्।
एक-अर्का विरुद्ध अनर्गल प्रचार गर्न सामाजिक सञ्जालको प्रयोग भइरहेकाले सचेत हुनुपर्ने उनीहरूको भनाइ थियो। सामाजिक सद्भाव जोगाइराख्न सबैले आआफ्नो क्षेत्रबाट सघाउन पनि धर्मगुरुहरूले आग्रह गरेका छन्।
अन्तरधार्मिक सद्भाव सप्ताह मनाउन आइतबार राष्ट्रिय अन्तर धार्मिक सञ्जाल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले सहि आचरण र असल व्यवहार नभएको व्यक्ति धर्मगरु हुन नसक्ने बताए। कार्यक्रममा बोल्दै राष्ट्रिय अन्तर धार्मिक परिषद्का अध्यक्ष दामोदर गौतमले धर्मगुरुको नाममा गलत क्रियाकलाप बढ्दै गएकोमा पनि चिन्ता जनाए। “अपराध गर्नेहरू कहिल्यै पनि धर्मगुरु हुँदैनन्। आचरण र व्यवहार असल भएपछि मात्रै धर्मगुरु हुनसक्छन्,” अध्यक्ष गौतमले भने।
हिन्दू, बौद्ध, इस्लाम, ईसाई, शिख, किराँत, जैन, बहाई र वैदिक सनातन धर्म लगायतको धार्मिक अगुवाको उपस्थितिमा अन्तर धार्मिक सद्भाव सप्ताह मनाइँदै छ। नेपालमा अन्तरधार्मिक चेतनाको विकासको लागि सदभाव सप्ताह मनाउन लागेको सञ्जालले जनाएको छ।
सन् २०१० मा जोर्डनका राजा अब्दुल्लाह द्वितीयले विश्वभर अन्तर धार्मिक सप्ताह मनाउन संयुक्त राष्ट्र संघमा प्रस्ताव गरेका थिए। राष्ट्र संघले त्यसलाई मान्यता दिँदै फेब्रुअरी महीनाको पहिलो साता संसारभर अन्तर धार्मिक सद्भाव सप्ताह मनाउन शुरू गरिएको थियो।
नेपालमा पनि सन् २००८ मै अन्तर धार्मिक सञ्जाल गठन भएको थियो। अहिले देशका ३० जिल्ला र ४६ स्थानीत तहमा सञ्जाल गठन भएको छ।
कार्यक्रममा ‘मिडिया र अन्तर धार्मिक सद्भाव’बारे कार्यपत्र प्रस्तुत गर्दै डा. नरेन्द्र पाण्डेले मिडिया र धार्मिक गुरुहरूबीच रहेको दूरी घटाउनुपर्ने बताए।
त्यस्तै, धर्मगुरुहरूसँगको सहकार्यले समाजमा परिवर्तन ल्याउन सकिने बाल स्वास्थ्य तथा खोप सेवा महाशाखा प्रमुख डा. अभियान गौतमले बताए। उनले दादुरा-रुबेला खोप अभियान सफल पार्न पनि धर्मगुरुसँग सहकार्य गरिने बताए।
महिला हिंसा विरुद्ध राष्ट्रिय अन्तर धार्मिक सञ्जालका अध्यक्ष प्रिय दसीले धार्मिक रिपोर्टिङमा सञ्चार माध्यमले शब्दको प्रयोगमा ध्यान दिनुपर्ने बताए। “समाज सुधार र समाज रुपान्तरणको लागि मिडिया र धर्मगुरुको सम्बन्ध मजबूत बनाउनुपर्छ,” उनको भनाइ थियो।
नेपाली परिवेश र नेपाली माटो सुहाउँदो धर्महरुको व्याख्या गर्न आवश्यक रहेको नाहिदा बानुले बताइन्। अन्तर सञ्जालले बालविवाह अन्त्य गर्न र स्कूल भर्ना अभियान सफल पार्न सहयोग पुगेको बताइन्।