इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवाना
विशेष अदालतले पूर्व सांसद एवं सिभिल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय र एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना तोकेको छ।
उनकी श्रीमती सिर्जना शाक्यलाई भने डेढ वर्ष कैद र एक अर्ब तीन करोड रुपैयाँ बिगो सहित जरिवानाको फैसला भएको छ। अर्का अभियुक्त केशवलाल श्रेष्ठलाई पनि डेढ वर्ष कैद सजाय तोकिएको छ। उनलाई २५ करोड ६५ लाख बिगो जरिवाना भराउन पनि भनिएको छ।
सहकारीका दुई हजारभन्दा बढी बचतकर्ताले जम्मा गरेको रकम आफूसम्बद्ध कम्पनी, संस्था र निजी सम्पत्तिका रूपमा लगानी गरेर अवैध धनलाई वैध बनाएको आरोप सहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ मा मुद्दा दायर गरेको थियो।
यस मुद्दामा माघ ७ गते टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारिबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको थियो। आज सजाय निर्धारण गरिएको हो।
विशेष अदालतले प्रतीक्षा तामाङ, प्रतिष्ठा तामाङ र मीना श्रेष्ठलाई भने सफाइ दिएको थियो। उनीहरूको सम्पत्ति भने जफत हुने फैसला भएको छ।
इच्छाराज सहकारीको रकम हिनामिनाको ठगी कसूरमा अहिले पनि थुनामा छन्। ठगी कसूर सम्बन्धी मुद्दा भने जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ।
उनले तीन अर्ब ३१ करोड पाँच लाख ९२ हजार ९४२ रुपैयाँको स्रोत खुलाउन नसकेको आरोप सहित सम्पत्ति शुद्धीकरणको कसूरमा मुद्दा चलेको थियो। त्यस्तै, सिर्जनाले एक अर्ब ३० करोड ९३ लाख ९५ हजार ८०२ रुपैयाँ, प्रतीक्षाले ६ करोड ४७ लाख ४६ हजार २५० रुपैयाँ र प्रतिष्ठाले एक करोड ८९ लाख एक हजार ६४६ रुपैयाँ अवैध सम्पत्ति जोडेको आरोप थियो।
यसैगरी, केशवलालले २६ करोड ६१ लाख ४५ हजार ५३० रुपैयाँको अवैध सम्पत्ति भेला पारेको आरोप थियो।
यो पनि पढ्नुहोस् : घरजग्गा व्यवसायबाट उदाएका इच्छाराज तामाङको ओरालो यात्रा