साफ च्याम्पियनशिपमा नेपालकाे महत्त्वपूर्ण जित
साफ यू-१९ महिला च्याम्पियनशिपको दोस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको छ।
बाङ्लादेशको राजधानी ढाकामा आइतबार भएको खेलमा नेपालले १-० गोलअन्तरले भूटानलाई पराजित गरेको हो। नेपालका लागि सेनु परियारले गोल गरिन्।
प्रतिस्पर्धात्मक पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफमा आक्रामक बनेको नेपाललाई परियारले अग्रता दिलाइन्। उनले खेलको ५४औं मिनेटमा गोल गरेकी थिइन्।
यस जितसँगै नेपालले तीन अंक बटुलेको छ भने फाइनलको सम्भावना जीवितै राखेको छ। अहिले नेपाल अंकतालिकाको तेस्रो स्थानमा छ। पहिलो स्थानमा भारत र दोस्रो स्थानमा बाङ्लादेश छन्।
नेपाल पहिलो खेलमा बाङ्लादेशसँग ३-१ गोलअन्तरले पराजित भएको थियो। अब अर्को खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा नेपालसँगै बाङ्लादेश, भूटान र भारत सहभागी छन्।