संसद् अधिवेशनको सबै तयारी पूरा, ‘प्रिबजेट’ बारे छलफल हुने
संघीय संसद्को अधिवेशनको सबै तयारी पूरा भएको छ भने यो हिउँदे अधिवेशनमा ‘प्रिबजेट’ बारे छलफल गरिने भएको छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन सोमबारदेखि शुरू हुँदै छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् बैठकको सम्पूर्ण तयारी पूरा भएको बताए।
संसद् अधिवेशन तयारीबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभामुख घिमिरेले हिउँदे अधिवेशनलाई प्रभावकारी तुल्याउन नयाँ कार्यतालिका बनाएर काम गर्ने बताए।
अहिले १५ दिनको कार्यतालिका बनाएर कार्यान्वयन गर्दै अघि बढ्ने उनको भनाइ थियो। त्यसै अनुसार काम गर्दै जाने योजना बनाएको उनले बताए।
त्यस्तै, प्रिबजेट छलफलका लागि पनि तयारी भएको उनको भनाइ थियो। “बजेट प्रस्तुतिअघिको छलफलका लागि कानूनी प्रबन्ध सहित अध्यादेश आएको छ। त्यस अनुसार कार्यतालिका मिलाइनेछ,” उनले भने।
संसद् अधिवेशनमा सरकारले विधेयकको कमी हुन नदिने जानकारी आएको उनले बताए। “सदनलाई बिजनेस दिएर लक्ष्य अनुरूप कानून निर्माण गर्न सबैको प्रयत्न हुनुपर्छ। निराशा होइन, आशा जगाउनेतर्फ शिक्षा लिएर अघि जानुपर्छ,” घिमिरेले भने।
हिउँदे अधिवेशन सञ्चालनका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। “सभामुखबाट विधेयकबारे कानून, न्याय तथा संसदीय मामिला सम्बन्धी मन्त्रीसँग परामर्श भइसकेको छ। नियमित रूपमा गर्नुपर्ने सबै काम पूरा भएका छन्,” धमलाले भने।
यस हिउँदे अधिवेशनका लागि हाल संघीय संसद्मा २४ विधेयक छन् भने १६ वटा विषयगत समिति छन्। त्यस्तै, १५ विधेयकमा समितिमा दफावार छलफल भइरहेको छ।