राष्ट्रिय सभाका अध्यक्षको चुनाव फागुन २९ मा गर्ने तयारी
राष्ट्रिय सभाका अध्यक्षको चुनाव आउँदो फागुन २९ गते गर्ने तयारी गरिएको छ।
संघीय संसद्को हिउँदे अधिवेशन माघ २२ गतेदेखि शुरू हुँदै छ। हिउँदे अधिवेशनका लागि राष्ट्रिय सभा सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा अध्यक्षको चुनावलाई समेटिएको छ।
राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिले बैठकले फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको चुनाव गर्ने सम्भावित कार्यतालिका तयार गरेकाे हो। यसमा हेरफेर नभए परामर्श समितिले तय गरेकै दिन राष्ट्रिय सभा अध्यक्षको चुनाव हुनेछ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि फागुन २० मा सकिंदै छ। उनीसँगै राष्ट्रिय सभाका २० जना सदस्यको समयावधि सकिन लागेको छ।
राष्ट्रपतिबाट मनोनीत हुने एक जना बाहेक १९ जना सदस्यका लागि माघ ११ गते निर्वाचन भएको थियो। त्यसमा नेकपा (एमाले)का एक र गठबन्धनमा रहेका दलका १८ जना निर्वाचित भइसकेका छन्।
नवनिर्वाचित सदस्य आएसँगै नयाँ अध्यक्षको चुनाव हुनेछ।