कांग्रेस महासमिति बैठकका लागि उपसमितिका संयोजक चयन
नेपाली कांग्रेसको महासमिति बैठकको तयारीका लागि गठन भएका आठ वटा उपसमितिका संयोजक चयन गरिएका छन्।
सभापति एवं तयारी मूल समितिका संयोजक शेरबहादुर देउवाले उपसमितिका संयोजक तोकेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। कांग्रेसको महासमिति बैठक आउँदो फागुन ७ गते बोलाइएको छ।
सभापति देउवाले प्रचारप्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदयशमशेर राणा र यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरेका छन्।
त्यस्तै, स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा जितेन्द्र श्रेष्ठलाई संयोजक तोकिएको छ। श्रेष्ठ कांग्रेस ललितपुरका सभापति हुन्।