साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या आरोपमा प्रहरी जवान पक्राउ
साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीलाई श्रीमती टीका विक र छोरा सुशान्तको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो। उनले घोराहीस्थित एक होटलमा श्रीमती र छोराको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) जनकबहादुर मल्लले बताए।
रोल्पाको रुन्टिगढीका पिमलाल श्रीमती र छोरा सहित गएराति घोराहीस्थित होटेलमा वास बसेका थिए। प्रहरीका अनुसार श्रीमती र छोरा शनिबार मात्रै रोल्पाबाट घोराही आएका थिए।
पिमलालले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेको डीएसपी मल्लले जानकारी दिए। पिमलाल आफैं जिल्ला प्रहरी कार्यालय पुगेर आफूले हत्या गरेको जानकारी गराएको डीएसपी मल्लको भनाइ छ।
“मैले श्रीमती र छोराको हत्या गरें भनेर प्रहरी जवान पिमलाल नेपालीले कार्यालयमा आएर भनेका थिए,” डीएसपी मल्लले भने, “पछि उनले भनेको होटेलमा गएर हेर्दा श्रीमती र छोराको शव फेला परेको छ।”
उनले किन हत्या गरे भने खुल्न बाँकी छ। पिमलाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए।