सुनचाँदी व्यवसायीमाथि गोली प्रहार, भैरहवामा उपचार हुँदै
नवलपरासीको बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ।
सुस्ता गाउँपालिका-१, बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकै शनिबार साँझ गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले बताए।
डीएसपी बोहराका अनुसार व्यवसायी विश्वकर्मामाथि अज्ञात समूहले एक राउन्ड गोली प्रहार गरेको हो। उनको पाखुरामा गोली लागेको छ।
गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी बोहराले जानकारी दिए। गोली प्रहार गर्नेको खोजी भइरहेको उनको भनाइ छ।
घाइते विश्वकर्माको लु ७८ प ७४३५ नम्बरको स्कूटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा बर्दघाट-१४ मा फेला परेको छ। कसले किन गोली प्रहार गर्यो भन्ने नखुलेको डीएसपी बोहराको भनाइ छ।