आजबाट रास्वपाले ‘राष्ट्रव्यापी दबाब अभियान’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’ शुरूआत गर्दै छ।
आगामी चैत २१ गतेसम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट शुरू गर्न लागेका छन्। ‘राष्ट्रव्यापी दबाब अभियान’ को शुरूआत मेलम्ची खानेपानी आयोजनास्थलबाट शुरू गर्न लागिएको रास्वपा सिन्धुपाल्चोकका संयोजक माया गुरुङले बताइन्।
मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको गुरुङले जानकारी दिइन्। सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन्।
मेलम्चीस्थित खानेपानी कार्यालय, पीपलबोटबाट पदयात्रा शुरू गरी हेलम्बुस्थित अम्बाथान मुहानसम्म पुग्ने कार्यक्रम तय भएको जनाइएको छ। पदयात्राका क्रममा स्थानीय बस्तीका बासिन्दाका सुझाव तथा गुनासा समेत संकलन गरिने बताइएको छ।
अभियान अन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ। रुग्ण र अलपत्र विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन रास्वपाले दबाब अभियान शुरू गर्न लागेको सांसद गौतमले बताइन्।