क्यान्सरका बिरामीमा प्रभावकारी ‘कार-टी सेल थेरापी’ को प्रयोगशाला परीक्षण सफल
क्यान्सर उपचारमा प्रयोग हुने ‘कार-टी सेल थेरापी’ को नेपालमा प्रयोगशाला परीक्षण सफल भएको छ।
सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै संयुक्त राज्य अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनबाट प्रमाणित सीडी-१९ कारको प्रयोगशालामा कार-टी सेलको सफलतापूर्वक परीक्षण गरेको जनाएको हो। रिजेनरेटिभ मेडिसिनको सीडी-१९ कार-टी सेल स्वीस औषधि निर्माता नोभार्टिस र गिलियाडको कार-टी सेल जत्तिकै प्रभावकारी देखिएको अमेरिकाको एस्ट्राजेनेका फार्मास्यूटिकल्सको अन्कोलोजी विभागमा कार्यरत डा. सञ्जीवन गौतमले बताए। गौतमका अनुसार अति उच्च प्रविधियुक्त यस उपचार विधिको सफल प्रयोगशाला परीक्षण नेपालमा पहिलो पटक भएको हो।
डा. गौतमका अनुसार कार-टी सेल एक विशेष उपचार पद्धति हो जुन रक्त क्यान्सरका बिरामीहरूमा निकै प्रभावकारी देखिएको छ। “नेपालमा यो पद्धति प्रयोगमा ल्याउन सकेमा देशकै लागि ठूलो अवसर हुनेछ,” डा. गौतमले भने।
अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले यो प्रविधिलाई सात वर्षअघि प्रमाणित गरेको थियो। त्यसपश्चात् संसारका अन्य देशमा पनि यसको परीक्षण भएको छ। पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यसमा प्रयोग हुने रिएजेन्ट र उपकरण निकै महँगा र जटिल प्रविधियुक्त हुन्छन्।
विकसित देशमा तीनदेखि पाँच करोड रुपैयाँसम्म खर्च लाग्ने कार-टी सेल थेरापीलाई अमेरिकी, जर्मन र ब्राजिलियन संस्थाहरूको सहकार्यबाट नेपालमै १० गुणा कम लागतमा उत्पादन र उपलब्ध गराउने उद्देश्य रहेको डा. गौतमको भनाइ थियो।
वीर अस्पतालको क्यान्सर विभागमा कार्यरत प्रा. डा. रमिला शिल्पकार रक्त क्यान्सरमा सफलतापूर्वक परीक्षण गरिएको यो उपचार पद्धति नेपाल प्रयोगमा ल्याउँदा बर्सेनि १०० भन्दा बढी बिरामी लाभान्वित हुने प्रक्षेपण गरिएको बताउँछिन्। शिल्पकारका अनुसार यो पद्धति बिस्तारै रक्त सहित अन्य क्यान्सरमा पनि प्रयोग हुने क्रममा छ।
वीर अस्पतालकै वरिष्ठ कलेजो रोज विशेषज्ञ प्रा. डा. सुधांशु केसीले कार-टी सेल थेरापी क्यान्सर मात्र नभई कलेजो, मधुमेह, स्वप्रतिरक्षा तथा मुटु सम्बन्धी रोगहरूमा पनि प्रभावकारी देखिएको बताए।
कार-टी सेल थेरापीले अबका केही वर्षमा नै उपचार पद्धतिमा महत्त्वपूर्ण हिस्सा ओगट्ने बेलायतको केभेन्ट्री विश्वविद्यालयका डा. ओम कुर्मी बताउँछन्। आनुवंशिकी वैज्ञानिक बलराम गौतमका अनुसार कार-टी सेल प्रविधिका लागि आवश्यक सामान पश्चिमा मुलुकबाट ‘फ्रीजिङ कन्डिशन’ मा आयात गर्नुपर्ने हुँदा महँगो पर्ने र ढुवानीमा जटिलता आउने जस्ता समस्या छन्।
हालसम्म फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले ६ वटा कार-टी सेललाई मान्यता दिएको छ। नेपाली प्रयोगशालामा सफल परीक्षण गरिएको कार-टी सेललाई प्रयोगमा ल्याउन कम्तीमा एक वर्ष लाग्ने यसमा संलग्न वैज्ञानिकहरूको अनुमान छ।
वरिष्ठ कलेजो रोज विशेषज्ञ डा. केसी औषधि व्यवस्था विभाग र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् जस्ता निकायले कार-टी सेल नेपाल ल्याउनका लागि ऐन-नियमहरूको व्यवस्था गर्न आवश्यक रहेको औंल्याउँछन्।