नेपालीलाई चाउचाउ खान सिकाउने ‘रारा’
चार दशकअघि पोखरामा उत्पादन शुरू भएको रारा चाउचाउले नेपालीलाई चाउचाउ खान सिकाएको थियो।
बेलायत, हङकङ लगायत देशमा रहेका सैनिक छुट्टीमा घर आउँदा कोसेली बोकेर ल्याउँथे चाउचाउ। लाहुरेहरू ‘नुडल्स’ भन्थे। उनीहरूका परिवार र चिनजानका मान्छे पनि ‘नुडल्स’ नामसँगै परिचित थिए। त्यति वेला ‘नुडल्स’ भनेर चिनिने चाउचाउबारे कमैलाई थाहा हुन्थ्यो।
लमजुङका फणिन्द्रमान श्रेष्ठले पनि बेलायती सेनामा छँदा चाउचाउको स्वाद लिएका थिए। अवकाशप्राप्तिपछि पनि चाउचाउको स्वादले पछ्याइरह्यो। त्यसको भोक भेट्न व्यवसायी कृष्ण आचार्यसँग मिलेर गण्डकी नुडल्स प्रालि नै खोलेर पोखरामा सिन्के चाउचाउको उत्पादन थाले।
त्यो २०३२ सालतिर हो, सिन्के चाउचाउले अपेक्षित व्यापार गर्न सकेन। उद्योग बन्द गर्ने कि चलाउने भन्ने दोधारमै थिए। आचार्यले सुझाए- अब सिन्के चाउचाउको साटो तयारी चाउचाउ उत्पादन गर्नुपर्छ।
उनले पनि हङकङ पुग्दा चाउचाउको स्वाद लिएका थिए। नेपालीको खान्की चाउचाउ बन्न सक्छ भने सोच हङकङमा छँदै पलाएको थियो। सिन्के चाउचाउ नचलेपछि दुवै जना तयारी चाउचाउ उद्योगको स्थापना गर्नतिर लागे।
चाउचाउ उत्पादन गर्न सकिन्छ भन्ने सोच बनेसँगै लगानीको आवश्यकता पर्यो। उति वेला एक डलरको भाउ नौ रुपैयाँ थियो, केही समयपछि भाउ बढेर १२ रुपैयाँ पुग्यो। लगानीका लागि आचार्यले व्यवसायी सूर्यबहादुर केसीलाई र श्रेष्ठले सुशील गोसेलीलाई अनुरोध गरे।
पोखरामा चाउचाउ बनाउन सम्भाव्यताको अध्ययन शुरू भयो। तर त्यति वेलाको औद्योगिक सेवा केन्द्रले ‘चाउचाउ उद्योगको पोखरामा सम्भावना छैन’ भन्ने प्रतिवेदन तयार पारेर दियो। सम्बन्धित सरकारी निकायले नै सम्भावना नकारेपछि अलमलमा परे उनीहरू।
त्यति वेला चाउचाउ उद्योग खोल्न धेरै संघर्ष गर्नुपरेको आचार्य सुनाउँछन्। सरकारी कर्मचारीले नमानेपछि उनीहरूले उपाय निकाले- राजालाई बिन्ती चढाउने। “राजा वीरेन्द्र पहिलो पटक क्षेत्रीय भ्रमणमा आएको वेलामा भेट्ने मौका पाएँ। त्यसै वेला आफूहरूले पोखरामा उद्योग सञ्चालन गर्ने अनुमति पाएनौं भनेर बिन्ती गरें,” आचार्य सम्झिन्छन्, “त्यस भेटपछि राजाले नै २०३५ सालमा पोखरामै उद्योग चलाउनका लागि हुकुम गर्नुभयो।”
राजाको हुकुम भएपछि कसले रोक्न सक्थ्यो? पोखरामा नेपालकै पहिलो चाउचाउ उद्योग स्थापनाको बाटो खुल्यो।
उद्योग त खुल्ने भयो, लगानीको समस्या थियो। श्रेष्ठ, आचार्य र केसीसँगै ७० भन्दा बढी लगानीकर्ता थपिए। विशेषगरी पूर्व बेलायती सेना लगानीकर्ताका रूपमा आए। लगानीकर्ताबाट उठेको रकमले चाउचाउ उत्पादनका लागि जापानबाट मशिन ल्याएको आचार्य बताउँछन्। “धेरै संघर्ष गरेपछि २०३९ माघ २३ मा रारा चाउचाउको उत्पादन शुरू गर्न पायौं,” खुशी हुँदै उनी सुनाउँछन्।
नामको सकस
चाउचाउ उत्पादन गर्ने तयारी भएपछि नामको सकस पर्यो। के नाम राख्ने भनेर तीनै जनाबीच धेरै छलफल भयो। फेवा, माछापुच्छ्रे, धवलागिरि, रूपा, एभरेस्ट लगायत अनेक नाम आए।
चाउचाउलाई नेपालमा स्थापित गर्न र नेपालीको भान्सामा पुर्याउन सजिलो र मुखैमा झुन्डिने नाम चाहिएको थियो। त्यसका लागि हिमाल र तालका नाम अघि सर्दै जाँदा ‘रारा’ नाम निस्किएको उनी बताउँछन्। “सबैलाई नाम ‘रारा’ मन परेपछि चाउचाउको न्वारन गर्दै ‘रारा’ राखियो,” आचार्य भन्छन्।
यसरी विधिवत् रूपमा नेपालमै पहिलो पटक ‘रारा’ चाउचाउको उत्पादन शुरू भयो। ४१ वर्षको विरासत बोकेकोे ‘रारा’ चाउचाउले नेपालीलाई चाउचाउ खान सिकायो र चाउचाउलाई नेपालमा स्थापित गर्यो।
नेपालीमा थपियो नयाँ शब्द
रारा चाउचाउ उत्पादन हुन थालेपछि अर्को चिन्ता थपियो, बजार। कसरी बेच्ने भन्ने थाहा थिएन। पसलमा पनि सजिलै राख्दैनथे। जसका लागि व्यवसायीले जुक्ति लगाए- विभिन्न ठाउँमा, मेला तथा कार्यक्रममा चाउचाउ नै पकाएर खुवाउने र बेच्ने।
चार दशकअघिको व्यावसायिक चाँजोपाँजो सम्झिँदै आचार्य भन्छन्, “हामी आफैंले पकाएर चाउचाउ बनाउन र खान सिकाउन थाल्यौं।” उति वेला एक प्याकेट रारा चाउचाउको मोल तीन रुपैयाँ ५० पैसा थियो।
पकाएर खुवाउँदै र बेच्दै त कति दिन सकिन्थ्यो, कति प्रचार हुन्थ्यो। त्यसरी दुःख गर्नुभन्दा विज्ञापन पनि गर्नुपर्छ भन्ने सोच आएको उनी सुनाउँछन्। २०४२ सालमा भारत गएर रारा चाउचाउको विज्ञापन बनाइयो। विज्ञापन थियो, ‘आर ए आर ए रारा, मीठो भन्छन् सारा।’
त्यो विज्ञापन रेडियो नेपालमा बज्न थाल्यो। घर घरमा पुग्यो। रारा चाउचाउको विज्ञापनले चर्चा बटुल्यो। त्यससँगै रारा चाउचाउले पनि नेपाली बजारमा उडान भर्न थाल्यो।
रेडियो नेपालमा विज्ञापन बज्न शुरू गरेपछि त्यति वेलाको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले पत्र पठायो। पत्रमा ‘चाउचाउ’ भन्ने शब्दको प्रयोगबारे सोधिएको थियो। आचार्य सम्झिन्छन्, “बृहत् नेपाली शब्दकोश तयार पारिंदै थियो। चाउचाउ शब्दको प्रयोग कसरी गर्नुभयो भनेर पत्रमा सोधिएको थियो।”
हुन पनि त्यति वेला चाउचाउ शब्द प्रयोगमा थिएन। राराको उत्पादनसँगै उनीहरूले चाउचाउ शब्द प्रयोगमा ल्याएका थिए। “केहीले नुडल्स भन्थे, नेपालीमा छाउछाउ भनिन्थ्यो। छाउछाउ त सुन्दा असजिलो हुन थाल्यो,” आचार्य नयाँ शब्दको प्रयोगका दिन सम्झिँदै भन्छन्, “सजिलोका लागि सोच्दै जाँदा ‘छ’ को ठाउँमा ‘च’ भनेर चाउचाउ राख्यौं।”
नेपाली बृहत् शब्दकोशले चाउचाउलाई ‘मसिना लामा लामा त्यान्द्रा हुने, गहुँको पिठोबाट बनाइएको एक खाद्य वस्तु’ भनेर परिभाषित गरेको छ।
चाउचाउको उत्पादन र त्यसमा पनि राजधानी बाहिर पोखराबाट उत्पादन गर्न थुप्रै चुनौती भए। संस्थापक आचार्य नयाँ काम गर्ने जोशले नै त्यसलाई सम्भव बनाएको बताउँछन्। “अनेकौं किस्सा छन्, थुप्रै चुनौती भेट्यौं। चाउचाउ के हो भन्ने नै थाहा नभएको ठाउँमा चाउचाउको उत्पादन गरेर अघि बढ्नु नयाँ काम थियो, गाह्रो पनि,” उनी भन्छन्।
दक्षिणएशियाको पहिलो चाउचाउ बनेको रारा चाउचाउका मुख्य तीन पायोनियर कृष्ण आचार्य, सूर्यबहादुर केसी र फणिन्द्रमान श्रेष्ठ थिए। आचार्य र श्रेष्ठसँगै अरू थुप्रै लगानीकर्ता बिस्तारै यो दौडमा छुट्दै गए। पछि व्यवसायी सूर्यबहादुर केसी एक्लैले रारा चाउचाउको उत्पादनलाई निरन्तरता थिए। गण्डकी नुडल्सबाट हिमश्री फुड्समा ल्याएर रारा चाउचाउको उत्पादन चलिरहेको छ।
चाउचाउका पायोनियर सूर्यबहादुर केसीको ६३ वर्षको उमेरमा २०७७ सालमा निधन भयो। त्यसको एक वर्षपछि ८० वर्षको उमेरमा फणिन्द्रमान श्रेष्ठले पनि संसार छोडे। अर्का पायोनियर कृष्ण आचार्य दुवै सहकर्मीलाई सम्झिँदा भावुक बन्छन्।
चार दशकदेखि उस्तै स्वाद
शुरूआतदेखि नै रारा चाउचाउ ‘ह्वाइट नुडल्स’ अर्थात् सेतो चाउचाउका रूपमा परिचित छ। हिमश्री फुड्सले स्वादका लागि अरू थुप्रै चाउचाउ पनि बजारमा ल्यायो। तर सेतो चाउचाउको माग पहिले जत्तिकै र उस्तै छ।
संस्थापक आचार्यका अनुसार आफ्नो स्वाद अनुसार ग्राहकले खान सकून् भनेर त्यति वेला सेतो तयारी चाउचाउ रोजिएको थियो। “चाउचाउ खानेले आफ्नो स्वाद अनुसार त्यसलाई पकाऊन् भनेरै सेतो चाउचाउ र स्वाद तयार पारिएको थियो,” उनी सम्झिन्छन्।
अहिले रारा चाउचाउको उत्पादन गरिरहेको हिमश्री फुड्सलाई प्रकाश केसीले नेतृत्व दिइरहेका छन्। उनी चाउचाउका पायोनियर सूर्यबहादुर केसीका छोरा हुन्। बुबाको विरासतलाई सम्हालिरहेका प्रकाश केसी उद्योगका निर्देशक छन्।
रारा चाउचाउको ब्रान्ड भएकाले शुरुआतकै स्वादलाई निरन्तरता दिएको निर्देशक केसी बताउँछन्। “हामी गुणस्तरमा ‘कम्प्रोमाइज’ गर्दैनौं। बुबाको समयदेखिको स्वादलाई कायम राख्न मेहनत गरेका छौं,” निर्देशक केसी भन्छन्।
चाउचाउको प्रतिस्पर्धा बढ्दै गएको भए पनि गुणस्तरमा कमी नगरेकै कारण रारा आज पनि ग्राहकको रोजाइमा परिरहेको उनको भनाइ छ। “रारा चाउचाउको ब्रान्डसँगै दक्षिणएशियाको इतिहासको एक ‘सेन्टिमेन्ट’ पनि जोडिएको छ,” केसी भन्छन्।
चार दशकअघि तीन रुपैयाँ ५० पैसा मोल रहेको रारा चाउचाउको एक प्याकेट किन्न अहिले २० रुपैयाँ तिर्नुपर्छ। अहिले रारा चाउचाउ वार्षिक रूपमा १४ लाख कार्टून उत्पादन हुन्छ। एक कार्टूनमा ३० वटा चाउचाउ हुन्छन्।
देशभित्र मात्रै होइन, विदेशमा पनि राराको माग छ। नेपालीसँगै विदेशीले राराको स्वाद मन पराइरहेको जनरल म्यानेजर अमित थापा बताउँछन्। “विदेशमा पनि रारा चाउचाउ उत्तिकै निर्यात भइरहेको छ,” थापा भन्छन्।
यस अवधिमा राराले थुप्रै रोजगारी पनि सिर्जना गरेको छ। अहिले सयौं जनाले रोजगारी पाइरहेका छन्। अप्रत्यक्ष रूपमा त हजारौं नेपालीले आयआर्जन गरिरहेका छन्, राराका माध्यमबाट।
त्यसैले त ४१ वर्षमा टेकेको रारा चाउचाउ नेपालीको प्रमुख खाजा बन्न सकेको छ।