आर्मीले जित्यो पोखरा गोल्ड कपको उपाधि
विभागीय टोली त्रिभुवन आर्मी क्लबले आहा रारा पोखरा गोल्ड कपको उपाधि जितेको छ।
पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्रीस्टार क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै आर्मी क्लबले उपाधि जितेको हो। आर्मी क्लबले पाँच पटकको विजेता थ्रीस्टारलाई सजिलै पराजित गरेको छ।
आर्मीलाई उपाधि दिलाउन जिलेप्सीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले एक-एक गोल गरे। फाइनल खेलको ३८औं मिनेटमा कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए।
प्रतिस्पर्धात्मक रहेको पहिलो हाफमा थप गोल हुन सकेन। दोस्रो हाफमा पनि दुवै टोलीले गोलको प्रयास गरेका थिए।
खेलको अन्तिमतिर आर्मीका घलेले गोल गरे। उनले ८३औं मिनेटमा गरेको गोलले आर्मीको अग्रता बढायो।
आर्मीको जित सुनिश्चित भइसकेका वेला इन्जुरी समयमा जिम्बाले गोल गरे। यससँगै आर्मी ३-० गोलअन्तरले प्रभावशाली जित हासिल गर्न सफल भयो।
उपाधिसँगै आर्मी क्लबले १२ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। त्यस्तै, उपविजेता थ्रीस्टारले ६ लाख रुपैयाँ पुरस्कार पाएको छ।