अरुण चौधरीको बयान- कानून विपरीत लिएको पाइएमा जग्गा फिर्ता गर्छौं
बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजी बनाएको आरोपमा पक्राउ परेका उद्यमी अरुण चौधरीले कानून विपरीत लिएको पाइएमा फिर्ता गर्ने बयान दिएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका उद्यमी चौधरीको बयान लिन शुरू भएको छ। जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरूले बयान लिइरहेका छन्।
एक अनुसन्धान अधिकृतका अनुसार बयानका क्रममा कानूनी रूपमा जग्गा लिएको बताएका छन्। चौधरीले भनेका छन्, “कानून विपरीत लिएको पाइएमा जग्गा फिर्ता गर्न तयार छौं।”
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानूनी प्रक्रिया अन्तर्गत नै बयान लिने काम भइरहेको बताए। जिल्ला अदालत, काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाले अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा कानून विपरीत निजी स्वामित्वमा लगेको आरोपमा सीआईबीले माघ १८ मा उद्यमी चौधरीलाई पक्राउ गरेको थियो। उनीसँगै छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र सीजी जाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको हो।
व्यवसायीहरूको संस्था नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य संघले हतारमा चौधरीलाई पक्राउ गरेको भन्दै विरोध जनाएको थियो। सीआईबीले माघ १९ मा पत्रकार सम्मेलन गरी त्यसको खण्डन गरेको थियो।
पत्रकार सम्मेलनमा सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्यले पक्राउ गर्नुको आधार पेश गरेका थिए। उनले भनेका थिए, “प्रहरीले अनुसन्धान नगरीकन व्यावसायिक घरानालाई पक्राउ गरियो भन्ने कुराहरू आएका छन्। त्यस्तो होइन, लामो समयको अनुसन्धानपछि पक्राउ गरिएको हो।” (राससको सहयोगमा)
यो पनि पढ्नुहोस् : उद्यमी चौधरीलाई पक्राउ गर्नुमा सीआईबीले खुलाएका यस्ता छन् आधार