‘मासिन्या’ माझेरी
माया-प्रेम, जीवनयापनसँगै अस्तित्वको संकटलाई मसिनो गरी केलाएको नाटक मासिन्याले दर्शकलाई डेढ घण्टा बाँधेर राख्छ।
मासिन्या! शाब्दिक अर्थ मासिने, नासिने भन्ने नै हो। सामाजिक सञ्जालमा यो शब्द देख्दा अलिकति खुल्दुली पनि लाग्यो।
उसो त यो शब्दको प्रयोग १७० वर्षअघि नै भएको थियो। प्रधानमन्त्री बनेपछि जंगबहादुर राणाले १९१० सालमा मुलुकी ऐन ल्याए। यसमा जातजातिलाई तागाधारी, मतवाली र अछूत भनेर विभाजन गरियो।
यसमध्ये आदिवासी जनजाति समेटिएको मतवालीमा पनि मासिन्या र नमासिन्या भनेर छुट्याइएको थियो। थारू, तामाङ, भोटेलाई मासिन्या मतवाली तथा मगर, सुनुवार, गुरुङ, राई, लिम्बूलाई नमासिन्या मतवाली भनेर विभाजन गरियो। जसको प्रभाव अहिलेसम्म पनि यथावत् छ।
त्यसैले पनि सामाजिक सञ्जालमा देखिएको मासिन्या नाटकको नामले नै तानेको थियो। नाटक हेर्नकै लागि चितवनबाट काठमाडौं आउन सहज थिएन, मेसो मिलेन।
काठमाडौं बसाइँका दौरान नछुटाएर नाटकघर पुग्ने लत लागेको थियो। राम्रो नाटक नछुटाएर हेर्थें। गृहजिल्ला चितवन फर्किएपछिका झन्डै ६ वर्ष नाटक हेर्ने मौका जुरेको थिएन। यस पटक माघ दोस्रो साताको काठमाडौं यात्राले मण्डला थिएटरसम्म डोर्यायो।
नाटकबारे धेरै सोधिखोजी नगरी नयाँ बानेश्वरबाट सीधै थापागाउँस्थित मण्डला थिएटर पुगें। नाटक देखाइने समयभन्दा दुई घण्टाअघि पुग्दा पनि अधिकांश सीट बूकिङ भइसकेका थिए। पछिल्लो लहरका केही सीट मात्र खाली थिए। खासमा नाटक अगाडिका सीटमा बसेर हेर्नुपर्छ भन्छन् र तर पछिल्लै सीट भए पनि त्यसै फर्किन मन लागेन।
नाटकघरको घण्टी टिङटिङ बज्ने बित्तिकै घुँइचो लाग्यो। भित्र प्रवेश गर्दा त नाटकघर दर्शकले भरिभराउ भइसकेको थियो।
नाटकको शुरूआतको दृश्यमा बोम्बो (झाँक्री)ले जोखाना हेरिरहेका हुन्छन्। नाटककी प्रमुख पात्र साङ्मोकी भदैनीका लागि जोखना हेर्दा बोम्बोले पितृ खुशी नभएको र पितृको आत्मा आएको बताउँछन्। भदैनी मार्फत साङ्मोले बोम्बोलाई आफ्नो बारे बताउँदै गर्दा कथा एउटा पहाडी गाउँको तामाङ बस्तीमा पुग्छ। त्यसपछिका दृश्यले भने बाँधिराख्छन्।
त्यो तामाङ बस्तीमा उमेर घर्किंदै गरेका च्याङ्बा र साङ्मोको प्रेममा आउने आरोह-अवरोहले मन छुन्छन्। च्याङ्बा र साङ्मोसँग त्यस्तो ठूलो सपना केही छैन। उनीहरू आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न चाहन्छन्। सानो घर बनाएर घरपरिवार बसाल्न चाहन्छन्। त्यही सानो घरभित्र ठूलो खुशी र सुख सम्हालेर राख्न चाहन्छन्।
यससँगै च्याङ्बाको अर्को सपना छ, छोर्तेनसँग जोडिएको। अकालमै ज्यान गुमाएका आमबुबाको सम्झनामा उनीहरूकै चाहना भएको ठाउँमा छोर्तेन बनाउन च्याङ्बाले मेहनत गरिरहेको हुन्छ। सपनाले आकार लिंदै गर्दा विकासको नाउँमा हुने विनाशले सोझा गाउँवासीको जीवनको मोड नै परिवर्तन हुन्छ।
छोर्तेन च्याङ्बाको सपनासँग मात्र जोडिएको छैन, वर्षौंको मेहनत, प्रेम र आस्था पनि जोडिएको छ। आत्मसम्मान र पहिचान गाँसिएको छोर्तेन पुर्खाको अस्तित्वसँग पनि जोडिएको हुन्छ। छोर्तेन जोगाउने सपना र मायाको संसार बनाउने चाहनाका घतलाग्दा दृश्य हेर्न भने नाटकघरसम्मै पुग्नुपर्छ।
नाटकले तामाङ समुदायको जीवनपद्धति, संस्कृति, स्थानीय परिवेश, लामो समयदेखि भोग्दै आएको उत्पीडनको कथालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। तथापि नाटक हेर्दै गर्दा उब्जिने केही प्रश्नले भने घचघच्याइरहन्छन्।
जस्तो- दैनिक जीवनयापनका दुःखकष्ट, गाह्रोसाह्रोलाई हाँसीखुशीले बिर्साउँदै रमाइरहेका मान्छेलाई केले रुवाउँछ? माटालाई माया गरे बापत किन सजाय भोग्नुपर्छ? गुँडै खोसिएपछि वास खोज्दै हिंडेको लस्कर फेरि गाउँमा कहिले फर्किएला? मनमा खिल बोकी, हाँसो लुकाएर कसरी वर्षौं हिंडिरहन सकिन्छ? जंगबहादुरको पालाको मासिन्या कानूनबाट कतिन्जेल मासिइरहनुपर्ने हो?
यिनै र यस्तै प्रश्नहरूको सेरोफेरोमा घुम्छन् मासिन्याका दृश्य। लक्ष्मी रुम्बा, राजु स्याङ्तान र राबतको लेखन रहेको मासिन्यामा तामाङ रहनसहन, संस्कृति र भाषाको प्रशस्तै प्रयोग भएको छ। तामाङ भाषा नबुझ्ने दर्शकलाई समेत यी दृश्य बोझिला लाग्दैनन्। सरल तरीकाले आउने दृश्य आफ्नो गतिमा एकतमासले बगेका छन्। शुरूआतका केही दृश्यमा झर्रा शब्दहरूले हसाउँछन् पनि।
बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना तथा निर्देशनमा तयार भएको मासिन्या नाटक तामाङ समुदायका लागि मात्र नभएर कला क्षेत्रकै लागि ऐतिहासिक कलाकृति बनेको छ। यो कथा दुःखद भए पनि वर्षौंदेखि भोग्दै आएको पीडाको कलात्मक अभिव्यक्ति पनि हो।
यसमा गीतसंगीतले पनि बाँधिराख्छ। नाटकका दृश्यसँगै आउने तामाङ र नेपाली भाषाका मर्मस्पर्शी गीतले अन्तर्मनलाई नै छुन्छन्।
हाँसोखुशीले रंगिएको सुन्दर तामाङ बस्ती रित्तो बन्दासम्मका दृश्यलाई गीतले साथ दिएको छ भने कलाकारको प्रस्तुतिले उत्कृष्ट र सुन्दर बनाएको छ। रोहनी लामा, शीतल थोकर, शुलभ पाण्डे, सुनील तामाङ, रमिला मोक्तान, रविन दोङ, निर्मल साउद, सानुमाया तामाङ, विकास लामा, इंगीहोपो कोइँच सुनुवार, विजय नेपाल, निर्मल साउद, विष्णु मोक्तान लगायत कलाकारको अभिनय बजोड छ।
त्यसैले पनि होला, मासिन्या नाटकप्रति दर्शकको अभिरुचि र साथ लोभलाग्दो देखिएको छ। प्रत्येक मञ्चनमा भरपूर दर्शक हुन्छन्। दुई साता पुग्नै लाग्दा पनि नाटकघर ‘हाउसफुल’ बनिरहेको छ।
माघ ११ देखि शुरू भएको मासिन्या नाटक माघ २८ सम्म मण्डला थिएटरमा मञ्चन हुनेछ।