चन्द्रप्रसाद बने ४५औं पटक मटावा
दाङको जलौराका चन्द्रप्रसाद चौधरी फेरि मटावा चयन भएका छन्। मटावा चयन भएको यो ४५औं पटक हो।
थारू समुदायमा सामाजिक न्याय तथा विकास निर्माणका कामको नेतृत्व गर्न नेता चयन गर्ने व्यवस्था छ। कतै बडघर, कतै भलमन्सा त कतै मटावा नाम दिइने गरेको छ। दाङमा मटावा भनिन्छ।
हरेक वर्ष माघमा मटावा चयन गर्ने चलन छ। घोराही उपमहानगरपालिका-१०, जलौराका चन्द्रलाई गाउँलेहरूले सर्वसम्मत रूपमा फेरि मटावामा चयन गरेको स्थानीय लालबहादुर चौधरीले बताए। “४५ वर्षदेखि गाउँको मटावा हुनुहुन्छ। यस पटक पनि सबैले उहाँलाई नै मटावा छानेका छन्,” उनले भने।
चन्द्र पहिलो पटक २०३५ माघमा मटावा बनेका थिए। त्यसयता निरन्तर मटावा बन्दै आएका चन्द्र ७६ वर्षका भए। “हरेक वर्षको माघमा मटावा चयनका लागि हाम्रो घरमा माघी डेवानी हुन्छ,” चन्द्रले भने, “त्यही माघी डेवानीमा गाउँका मान्छेले यो वर्ष चलाइदिनुपर्यो भन्दाभन्दै मटावाको काम गर्न थालेको ४५ वर्ष भयो।”
उसो त जलौरा गाउँमा झन्डै एक शताब्दीदेखि उनकै परिवारले नै नेतृत्व गर्दै आएको छ। २०३५ सालअघि उनका बुबा रूपलाल मटावा थिए। त्योभन्दा अघि बाजे मटावा रहेको चन्द्र सुनाउँछन्। “अहिलेसम्म मेरो बुबा, हजुरबुबाको बिंडो मैले थाम्दै आएको छु,” चन्द्र भन्छन्, “म पछि कसले थाम्ने हो, त्यो चिन्ता छ।”
उमेरका कारण मटावा नहुन खोज्दा पनि गाउँलेले नमानेको उनी सुनाउँछन्। सबैले ‘तपाईंले नभए को हुन्छ’ भन्ने गरेकाले फेरि नेतृत्व लिएको उनको भनाइ छ। मटावा नहुँदा थारू समुदायको पहिचान र संस्कृति नै हराउने हो कि भन्ने चिन्ताले पनि नेतृत्व गरिरहेको उनी बताउँछन्।
अहिले थारू समुदायको मटावा, बडघर, भलमन्सा प्रथालाई स्थानीय सरकारले कानूनी मान्यता पनि दिन थालेका छन्। मटावा, बडघर महासंघ दाङका अध्यक्ष समेत रहेका चन्द्र स्थानीय तहमा पनि यस सम्बन्धी ऐनकानून बनाउने काम भइरहेको बताउँछन्। तुलसीपुर उपमहानगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र दंगीशरण गाउँपालिकामा मटावालाई कानूनी मान्यता दिइएको छ।
बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका धेरैजसो स्थानीय तहमा कानून बनाएर मान्यता प्रदान गरिएको उनी सुनाउँछन्। “घोराही उपमहानगर सहित थारू बाहुल्य रहेका पालिकाका प्रमुख र उपप्रमुखसँग छलफल भइरहेको छ,” उनी भन्छन्।
मटावा, बडघर र भलमन्साले थारू गाउँमा सामाजिक, न्यायिक तथा विकास निर्माणका कामको अगुवाइ गर्छन्। सामाजिक र सांस्कृतिक क्रियाकलापमा पनि उनीहरूले नै अगुवाइ गर्ने चलन छ।
चन्द्र थारू संस्कृतिका ज्ञाता पनि हुन्। थारू, कला, संस्कृति लगायत विषय समेटेर उनले लेखेका सात पुस्तक प्रकाशित छन्।