ग्लोबल आइएमई ब्यांकलाई आईएफसीले सात अर्ब ऋण दिने
विश्व ब्यांक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई ब्यांंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करीब सात अर्ब ४१ करोड रुपैयाँ ऋण दिने सम्झौता भएको छ।
यो रकम महिलाद्वारा सञ्चालित व्यवसाय लगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनालाई सहयोग गर्न परिचालन गरिनेछ। साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सर्जना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्ने यसको उद्देश्य छ।
नेपालको वित्तीय क्षेत्रमा भएको आईएफसीको ऋण लगानी अहिलेसम्मकै ठूलो हो। आईएफसीको यस लगानीले स्वच्छ यातायात, जलवायु-स्मार्ट कृषि र सौर्य परियोजना लगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्र ब्यांंकका कार्यवाहक गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले वैदेशिक लगानी ल्याउने विषयमा निकै खुशी रहने बताउँदै त्यसका लागि राष्ट्र ब्यांकले सहयोग गर्ने बताए। ग्लोबल आइएमई ब्यांकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएफसीसँगको सहकार्यले ब्यांकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्न सहयोग पुगेको बताए।
ग्लोबल आइएमई ब्यांक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले यस सहयोगका लागि आईएफसीप्रति आभार प्रकट गरे। नेपाल, बाङ्लादेश र भूटानका लागि आईएफसीका कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले नेपालमा आईएफसीको रणनीतिक प्राथमिकतामध्ये वित्तीय समावेशीकरण र वित्तीय क्षेत्रको स्थायित्वलाई सहयोग गर्नु एक रहेको बताए। उनले त्यसै अनुसार ग्लोबल आइएमई ब्यांकसँग सम्झौता भएको बताए।
नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधि बाबाकर एस फायले आईएफसीको यस फाइनान्सले नेपालका साना तथा मझौला उद्यममा फाइनान्सिङ गर्न सहयोग पुग्ने बताए।