संघीय संसद्को हिउँदे अधिवेशन शुरू हुँदै, १५ दिने क्यालेन्डर बनाउने तयारी
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि शुरू हुँदै छ भने १५ दिने क्यालेन्डर बनाउने तयारी भइरहेको छ।
संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका छन्। यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। “सभामुखबाट विधेयकबारे कानूनी, न्याय तथा संसदीय मामिला सम्बन्धी मन्त्रीसँग परामर्श भइसकेको छ। नियमित रूपमा गर्नुपर्ने सबै काम समेत पूरा भएका छन्,” धमलाले भने।
अधिवेशनलाई कानून निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिक रूपमा क्यालेन्डर बनाएर जाने तयारी भएको छ। यसै सन्दर्भमा हरेक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन गर्ने भएपछि त्यसको कार्यान्वयनका लागि दुवै सदनका नेतृत्व प्रतिबद्ध भएका छन्।
विधेयक अधिवेशनका रूपमा रहने यस हिउँदे अधिवेशनका लागि हाल संघीय संसद्मा २४ विधेयक छन्। त्यसमध्ये १६ विषयगत समिति छन्। हाल १५ विधेयकमाथि दफावार छलफल भइरहेको छ। एउटा विधेयक भने छलफल पूरा भई प्रतिवेदन निर्माणको चरणमा छ। एउटा विधेयक लामो समयदेखि राष्ट्रिय सभामा थाती छ।
जनताको सार्वभौमसत्ताको प्रयोग हुने सबैभन्दा माथिल्लो सभाका रूपमा रहने संघीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महीनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ। संघीय संसद्को दोस्रो अधिवेशन गत कात्तिक १६ गते अन्त्य भएको थियो।
संसद्मा जनप्रतिनिधिले निर्वाचन क्षेत्र, जिल्ला तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तुमा आकस्मिक, शून्य समय र विशेष समय मार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने चलन छ। यस क्रममा कतिपय अवस्थामा सांसदले सरकारका कामकारबाहीलाई प्रभावकारी तुल्याउन सार्वजनिक महत्त्व, जरुरी, सार्वजनिक, स्थगन, संकल्प, संशोधन, खर्च कटौती जस्ता प्रस्ताव प्रस्तुत गरी छलफल गराउने परम्परा छ।
यस अधिवेशनको सौन्दर्यका रूपमा प्रिबजेट छलफल समेत हुने सहायक प्रवक्ता धमलाले जानकारी दिए सरकारले बजेट प्रस्तुत हुने समय जेठ १५ गतेभन्दा तीन महीनाअघि नै प्रिबजेट छलफल गर्न अध्यादेश जारी गरिसकेको छ। अध्यादेशलाई सभाले स्वीकृत प्रदान गरेपछि प्रिबजेट सम्बन्धी विषय सदनमा अघि बढ्ने छ।
अहिले प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८८, नेकपा (एमाले) का सभामुख सहित ७८, नेकपा (माओवादी केन्द्र)का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभामुख सहित २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपाल (जसपा)का १२, नेकपा (एकीकृत समाजवादी)का १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका चार र नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्।
त्यस्तै, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीका एक–एक तथा दुई स्वतन्त्र सांसदको प्रतिनिधि सभामा प्रतिनिधित्व छ।
त्यस्तै, ५९ सदस्यीय राष्ट्रिय सभामा भने प्रदेशगत रूपमा निर्वाचित भएर आउने ५६ र सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत हुन तीन जना रहने व्यवस्था छ। -रासस