प्रकृति र संस्कृतिको संगम सिक्लेस
प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्व बोकेको सिक्लेस गाउँ समयसँगै परम्परागत सम्पत्तिलाई सम्हालेर संसारलाई स्वागत सत्कार गरिरहेको छ।
ठ्याक्कै ९६ वर्षमा टेके, सिक्लेसका ‘बाहलेका बाबा’। बिहान ७ बजे उठ्नु, ढिंडो वा फाँडोसँग दूध, मोही खानु, दिउँसो गाउँतिर डुल्नु उनको दिनचर्या हो। यसका अतिरिक्त खल्तीमा खैनीको प्याकेट छुट्दैन, ओठबाट खैनी टुट्दैन।
अलिकति पनि साह्रो खानेकुरा मन पराउँदैनन्, दाँत झरिसकेका छन्। आँखाले प्रस्टै देख्छन्, कानले स्पष्ट सुन्छन्। गाउँका सबैभन्दा जेठो व्यक्ति ‘बाहलेका बाबा’ भन्छन्, “तखडा छु, हिंडेरै गाउँ चहार्छु।”
गाउँमा सबैले ‘बाहलेका बाबा’ भनेर बोलाउने गरे पनि उनको नाम चन्द्रसिंह गुरुङ हो। कुनै समयमा १२ वटासम्म भेडी र भैंसी गोठ थिए। जीवनको उर्जाशील समय गोठालो भएरै बिताए। “गोठालो हुँदा रमाइलो हुन्थ्यो,” उनी तन्नेरी दिन सम्झिन्छन्।
गोठालो भएर बस्न त मन थिएन। सात-आठ दशकअघि भारतीय सेनाको भर्ती खुल्दा उनी पनि गएका थिए। त्यति वेला गाउँको युवा जमातलाई समूहमै भारतीय सेनामा भर्ती हुन लग्ने चलन थियो। त्यही जमातमा मिसिएका थिए उनी पनि। ठट्यौली पारामा भन्छन्, “मेरो शरीरलाई पत्याएन।”
भेडीगोठले भने उनलाई पत्यायो। १२ वर्षअघिसम्म भेडीगोठमै हुन्थे। श्रीमतीले संसार छोडेदेखि भेडीगोठतिर गएका छैनन्। “अब शरीरले पनि भेडीगोठमा बस्न दिंदैन,” उनी सुनाउँछन्।
भेडीगोठमा बस्दा बस्दै सात छोरा र तीन छोरी जन्मिए। दुई छोरी भने सानैमा बिते। किशोरावस्थामै छँदा बितेका छोरीलाई वृद्धावस्थामा पनि बिर्सिएका छैनन्। एक छोरा विदेश पुगेका छन् भने अरू छोराछोरी गाउँमै छन्। तैपनि श्रीमती गुमाएपछिको एक्लोपनले घरीघरी लखेट्छ। त्यसैले त गाउँ डुल्छन्, बात मार्छन् र दिन कटाउँछन्।
‘बाहलेका बाबा’ लाई जस्तो सिक्लेसवासीलाई भने दिनभर गाउँ डुल्दै बात मार्ने फुर्सद छैन। देशका अन्य भूभागका गाउँ रित्तिने क्रम चलिरहेको वेला सिक्लेसमा भने ठीक उल्टो छ। गाउँबस्ती सधैं भरिभराउ रहन्छ। आन्तरिक तथा बाह्य पर्यटकको ओहोरदोहोर बाह्रै महीना चल्छ।
वृद्धवृद्धा साँझ-बिहान घरआँगनमा घाम ताप्दै गफिइरहेको भेटिए पनि दिउँसो भने हात बढाउँछन्। सक्नेले त मजाले काम पनि गर्छन्। “कोही खाली बस्दैन, सक्दो काम गर्छन्,” नौमाया गुरुङ भन्छिन्।
आँगनमा राडी बुन्दै गरेकी नौमायालाई पनि बुढ्यौलीले छोप्दै गएको छ। तैपनि काम गर्न छोडेकी छैनन्। समय दिएर काम गर्दा तीन दिनमै राडी तयार हुने भए पनि अरू काम गर्दै १० दिनमा सकिने उनी सुनाउँछिन्। नौमाया जस्तै गाउँका महिला राडी, बख्खु बुनिरहेका भेटिन्छन् भने पुरुष मान्द्रो, चित्रा बनाइरहेका हुन्छन्।
सिक्लेसमा बन्ने राडी, बख्खु, मान्द्रो लगायत सामान लिन टाढा टाढादेखि मानिस आएको सम्झना गगनसिंह गुरुङको छ। उमेरले ८२ वर्षमा टेकेका गगन बारीका लागि चित्रा बनाइरहेका थिए। बाबुबाजेले बुनेको देख्दै उनले सिके चित्रा, मान्द्रो बुन्न।
वनबाट काठ ल्याएर घरका लागि ढोका, झ्याल बनाउन पनि हेरेरै सिकेको उनी सुनाउँछन्। “पहिले खरका छानाले बनेका घर हुन्थे सिक्लेसमा,” उनी तन्नेरी समय सम्झिन्छन्।
अहिले फरक छ। पक्की घर बन्दै छन्। सिमेन्ट र छडले काठको प्रयोग कम गराएको छ। आफ्नो घरको पुरानो ढोका देखाउँदै गगन भन्छन्, “पहिले वन नजिक थियो। अहिले ढोकाका लागि चाहिने काठका रूख नजिक पाइनै छाडे।”
बदलिएको महसूस गरेको अर्को कुरा हो, हिमपात। उहिल्यै सिक्लेसमा असाध्यै हिउँ पर्थ्यो। हिउँ पर्दा ठिहिर्याउँदो जाडोमा पनि काम गर्नुपरेको उनी सुनाउँछन्। “अहिले त हिउँ पनि पर्न छाड्यो। हामीले थाहा पाउँदासम्म हिंड्न नसक्ने गरी हिउँ पर्थ्यो,” गगन बाल्यकाल सम्झिन्छन्।
सिक्लेसबाट एक दिनको बाटो हिंडेर क्हफुचे हिमताल पुग्न सकिन्छ। क्हफुुचे हिमताल संसारकै होचो स्थानमा रहेको हिमताल मानिन्छ। यो हिमताल पुग्नुअघि हुगु गोठमा सिक्लेसका बासिन्दाका गोठ हुन्थे।
गोठमा जाने र क्हफुचे पुग्ने गरेको सम्झन्छन् ७४ वर्षीय मीनबहादुर गुरुङ। तर त्यतिवेला क्हफुचे हिमताल देखिंदैनथ्यो। बाक्लो हिउँ पर्थ्यो। जसले गर्दा ताललाई हिउँले ढाकेको हुनुपर्ने मीनबहादुरको आकलन छ। चित्रा बुन्न एकछिन रोक्दै उनी भन्छन्, “हिउँ कम हुँदै गयो, अनि लुकेको ताल देखिएको पो हो कि!”
पहिले जस्तो दुःख अहिलेका पुस्तालाई छैन। पर्यटनले जनजीवन परिवर्तन भएको छ। सुखसुविधा गाउँमै पुगेका छन्। तैपनि सिक्लेसवासीले परम्परागत कामकाज छोडेका छैनन्। केही गाउँले अहिले पनि एक घण्टा उकालो हिंडेर सियांच्वोमा पुग्छन्। त्यहाँ आलु, सागपात लगाउँछन्। गोडमेलसँगै बाली भित्र्याउन पनि दैनिक ओहोरदोहोर गरिरहन्छन्।
घाँसदाउरा, बारीको काम, राडी, बख्खु बुनिरहेका वृद्धवृद्धा अहिले पनि सिक्लेसका आँगनमा देखिन्छन्। स्कूले पोशाकमा चिटिक्क परेका विद्यालय आउजाउ गरिरहेका बालबालिकाले फरक दृश्य वर्णन गर्छन्। झन् आन्तरिक तथा बाह्य पर्यटकको घुइँचोले सिक्लेसलाई व्यस्त बनाएको छ।
सिक्लेसको स्वागत
समुद्री सतहबाट एक हजार ९०० मिटर माथि छ, सिक्लेस गाउँ। अन्नपूर्णको दक्षिणी भागमा बसोबास शुरूआत हुँदा पहिलो बस्ती बसालेको ऐतिहासिक ठाउँ क्होलासोंथरबाट बसाइ सरेर सिक्लेसमा आएको भन्ने मान्यता छ। यसैकारण पनि गुरुङ पुरोहितले एक पटक सिक्लेस पुग्नैपर्ने ठाउँ भन्ने गरेकाले मौलिक र सांस्कृतिक रूपमा पनि सिक्लेसको महत्त्व छ।
गुरुङ समुदायमा परम्परा र विश्वासले सिक्लेस पुग्नुपर्ने ठाउँ बनेको छ भने पर्यटकलाई गुरुङ समुदायको चालचलन र संस्कृति बुझ्न सिक्लेसले तान्छ। अझ प्रकृतिमा रमाउनेलाई त सिक्लेसले लोभ्याउँछ नै।
यस गाउँमा ४५० घरधुरी छन्। गुरुङ समुदायको बस्ती हेर्न, सिक्लेसको सौन्दर्यलाई नियाल्न र यहाँबाट देखिने लमजुङ र अन्नपूर्ण दोस्रो हिमाल हेर्न पर्यटक आइपुग्छन्। क्हफुचे हिमताल र कोरी पुग्ने बाटो पनि सिक्लेस नै भएकाले पदयात्री एक रात बिताउन पनि सिक्लेस नै रोज्छन्। नेपाल सरकारले तोकेको सय गन्तव्यमा सिक्लेस पनि छ।
गाउँमा अहिले ४१ वटा होटल छन् भने ३० हाराहारीमा होमस्टे। सिक्लेस होटल व्यवसायी समिति र सामुदायिक होमस्टे समिति दुवैले सहकार्य गरेर पर्यटकलाई सेवा उपलब्ध गराउँछन्। गाउँमा आउने पर्यटकले न्यानो आतिथ्य पाउँछन्। गुरुङ वेशभूषामा सजिएका स्थानीय बासिन्दाले फूलमाला लगाइदिंदा पर्यटक पनि प्रफुल्ल हुन्छन्।
समुदायमा एकले अर्कालाई सहयोग गर्ने नै चलनले नै सिक्लेसलाई जोगाइराखेको आमा समूहकी सन्तोषी गुरुङ सुनाउँछिन्। महिला-पुरुष दुवै मिलेरै होटल, होमस्टे सञ्चालन गरिरहेको सन्तोषी बताउँछिन्। गाउँमा पाइने स्थानीय उत्पादन, परिकार लगायत खान्की होटल र होमस्टेमा पाइन्छ।
यस गाउँको सौन्दर्य थुप्रै चलचित्र, म्युजिक भिडिओमा पनि कैद छन्। झन् अहिले त सामाजिक सञ्जालले संसारभर फिंजाएको छ। जसका कारुण पर्यटकलाई सिक्लेससम्म डोर्याउन सहयोग गरेको छ।
शान्तिको यात्रा साक्षी
२०६३ असार २ मा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला हेलिकोप्टर लिएर काठमाडौंबाट पश्चिमतिर हानिएका थिए। त्यो हेलिकोप्टर सीधै कास्की पुगेको थियो। उनी कास्कीको सिक्लेस पुगेका थिए।
सिक्लेसबाट काठमाडौं फर्किंदा भने हेलिकोप्टरमा दुई जना थपिए, तत्कालीन विद्रोही नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराई। त्यति वेला सरकारी वार्ता टोलीका संयोजक सिटौलाले दाहाल र भट्टराईसँग सिक्लेसमै वार्ता गरेका थिए।
त्यहाँबाट काठमाडौं लगेपछि विद्रोही नेताहरू सार्वजनिक भए। “सिक्लेस वार्तापछि देश शान्ति प्रक्रियामा गएको थियो,” सिक्लेस गाउँ रहेको मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजंग गुरुङ भन्छन्, “राजनीतिक हिसाबले शान्ति सम्झौताको प्रस्थानबिन्दु सिक्लेस हो।”
त्यसैलाई लिएर सिक्लेसमा शान्ति स्मारक पनि बनेको छ। यससँगै पदयात्राको निर्माण, संरक्षणका लागि काम भइरहेको वडाध्यक्ष देवीजंग बताउँछन्। हाल सिक्लेस, खिलाङ र पार्चेबाट तारा हिलटप त्हि डाँडा र क्हफुचे पुग्ने तथा अर्को पदयात्रा सिक्लेस, क्हफुचे, न्हुँटा कोरी (केटू ट्रेकः क्हफुचे कोरी ट्रेक) नयाँ पदयात्राको विकासका लागि तयारी हुँदै छ। जसका लागि प्रदेश सरकारबाट २५ लाखको बजेट विनियोजित छ।
यससँगै सिक्लेसको सांस्कृतिक र ऐतिहासिक महत्त्व त छँदै छ। गाउँको मौलिकता नगुमाईकन विकास गर्नुपर्ने वडाध्यक्ष देवीजंगको मत छ। “सिक्लेसका मुख्य गरी तीन वटा महत्त्व छन्, गुरुङ संस्कृति, प्रकृति र द्वन्द्वकालमा शान्ति सम्झौताको प्रस्थानबिन्दु,” वडाध्यक्ष देवीजंग भन्छन्, “यिनैलाई केन्द्रमा राखेर विकास निर्माण र संरक्षणका काम गर्छौं।”
गुरुङ संस्कृति, चालचलन बुझ्न सिक्लेस संस्कृतिक अध्ययन केन्द्र बन्न सक्ने उनी बताउँछन्। यसलाई आधार बनाएर ३१ वर्षीय वडाध्यक्ष गुरुङले पर्यटकीय विकासमा जोड दिएका छन्। पर्यटकसँगै वडामा सेवाग्राहीलाई सहज बनाउन सेवाहरू ‘डिजिटलाइज्ड’ गर्न लागेका छन्। उनी भन्छन्, “सबै काम फोन र इन्टरनेटबाटै गरिरहेका छौं।”
यसको मतलब आधुनिक बन्दै गर्दा गाउँको स्वाद हराएको छैन। परम्परागत कला, सीप र संस्कारलाई समयसँगै परिमार्जन गर्दै लगेका छन्। बाटोघाटो बनेको छ। सुविधासम्पन्न होटल र होमस्टे खुलेका छन्। बिजुली र पानीको व्यवस्था छ।
शहर बन्ने होडमा नभए पनि सिक्लेसमा शहरका सेवासुविधा भने पाइन्छन्। टाईसूटमा सजिंदै स्कूल हुइँकिरहेका बालबालिका हुन् या बुढ्यौलीले छोपेका वृद्धवृद्धा प्रफुल्ल देखिन्छन्। अझ विदेशी पर्यटकसँग अंग्रेजीमा बात मार्दै स्वागत सत्कार गरिरहेका युवा तन्नेरी पनि गाउँमा आयआर्जन गरिरहेका छन्।
उनीहरूलाई गाउँ छोडेर शहर तथा विदेश हुइँकिने रहर देखिंदैन। “हाम्रो वेलाको जस्तो दुःख गर्नु पर्दैन, सबै सुविधा गाउँमै छ,” ९६ वर्षीय ‘बाहलेका बाबा’ भन्छन्, “किन बाहिर जानुपर्यो, सबै थोक यही छँदै छ।”