वैदेशिक हस्तक्षेप रोक्नुपर्नेमा बुद्धिजीवीको जोड
राणाकालदेखि संघीय लोकतन्त्रसम्मको अनुभव सँगालेका बुद्धिजीवीले वैदेशिक हस्तक्षेप रोक्नुपर्नेमा जोड दिएका छन्।
शहीद दिवसको सन्दर्भमा शुक्रबार मदन भण्डारी मेमोरियल कलेजमा राणाकाल भोग्नेहरूबीच भलाकुसारी गरिएको थियो। कार्यक्रममा बोल्दै बुद्धिजीवीले सार्वभौमिकतालाई बलियो बनाउन वैदेशिक हस्तक्षेप रोक्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रवाद र हिन्दूत्व विस्तारलाई प्राथमिकतामा राखेको हुनाले नेपाललाई पनि प्रभाव परिरहेको जिकिर गरे। मोदी हिन्दूत्वले नेपाललाई पनि असर पर्ने भएकाले सचेत हुनुपर्ने बताए।
त्यस्तै, पूर्व सचिव सूर्यनाथ उपाध्यायले वैदेशिक लगानीका विषयमा सोच्नुपर्ने बताए। वैदेशिक लगानीकर्ताले नेपालको सम्प्रभुतामाथि हस्तक्षेप गर्न खोजिरहेको उपाध्यायको भनाइ थियो। नेपाली राजनीतिमा अहिले लम्पसारवाद बढ्दै गएकाले बुद्धिजीवी, नागरिक अगुवा जागरूक हुनुपर्ने उनले बताए।
त्यस्तै, राजनीतिज्ञ दमननाथ ढुंगानाले अहिले राज्य र राजनीतिक दल नियन्त्रित भ्रष्टाचार भइरहेको जिकिर गरे। उनले भ्रष्टाचार नियन्त्रण गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आवश्यकता औंल्याए।
बुद्धिजीवी नूतन थपलियाले हरेक तह र तप्काका व्यक्तिले देशहितका विषयमा सोच्नुपर्ने बताए। नेपाली समाजमा अहिले भेटघाट र छलफल कम हुँदै गएकोमा चिन्ता जनाए।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान र मदन भण्डारी मेमोरियल कलेजको लिबरल स्कूल अफ आर्टस्ले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका थिए।