उद्यमी चौधरीलाई पक्राउ गर्नुमा सीआईबीले खुलाएका यस्ता छन् आधार
बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको सरकारी जग्गा निजी बनाउने कार्यमा संलग्न भएको पर्याप्त प्रमाण भेटिएकाले उद्यमी अरुण चौधरीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।
चौधरीसहित बाँसबारी कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र सीजी जाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेपछि व्यावसायीको संस्था नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघले विरोध गरेको थियो। माघ १९ गते सीआईबीले पत्रकार सम्मेलनमार्फत उनीहरूको संलग्नताको विवरण सार्वजनिक गरेको हो। ठगी र कागजात कीर्ते गरेको कसूरमा उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट चार दिनको अनुमति मिलेको छ।
२०४३ सालमा बाँसबारी कारखाना र चौधरी परिवारबीच लगानी प्रबद्र्धन सम्झौता भए पनि सरकारी जग्गा निजी स्वामित्वमा पुर्याउने खेल शुरू भएको सीआईबीको दाबी छ। यसका लागि २०४३ भदौ १० गते थापाले सञ्चालक समितिको बैठक बसालेर चौधरी परिवारसँग मिलेर च्याम्पियन फुटवेयर लिमिटेड नामक कम्पनी खडा गरेको सीआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले बताए।
च्याम्पियिन फुटवेयर लिमिटेड खोल्न बाँसबारी कारखानाका थापा र चौधरी परिवारका लुनकरणदास चौधरीबीच प्रबद्र्धन सम्झौता भएको समेत सीआइबीको अनुसन्धानबाट खुलेको एसएसपी आचार्यको भनाइ छ। ५१ प्रतिशत शेयर चौधरी परिवारको, २५ प्रतिशत बाँसबारीको र बाँकी २४ प्रतिशत सर्वसाधारणको शेयर रहने सम्झौता भएको कागजातबाट देखिएको सीआईबीले जनाएको छ।
२०४३ कात्तिक २७ गते च्याम्पियन फुटवेयर लिमिटेड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको थियो। २०४४ भदौ ५ गते बाँसबारी काराखानाको जग्गाको मूल्यांकन प्रतिरोपनी दुई लाख ५० हजार गरेर १५ लाख रुपैयाँ बराबरको ६ रोपनी जग्गा च्याम्पियनलाई हक हस्तान्तरण गरेको पनि आचार्यले बताए।
बाँसबारी कारखानाको कुल १८ रोपनी तीन आना दुई पैसा जग्गा थियो। २०४४ मंसीर १८ गते बाँसबारी कारखानाको थप चार रोपनी जग्गाको स्वामित्व च्याम्पियनमा सारिएको थियो। “१० रोपनी जग्गा दिएर २६ लाख रुपैयाँ लगानी भएको देखिन्छ,” एसएसपी आचार्यले पत्रकार सम्मेलनमा भने।
जबकि त्यतिवेला कम्पनीको चालु पूँजी ५० लाख रुपैयाँ मात्र रहेको उनले खुलाए। यसअनुसार, बाँसबारी खारखानाले आफ्नो २५ प्रतिशत शेयर हिस्साका लागि साढे १२ लाख रुपैयाँ मात्र लगानी गर्नुपर्नेमा दोब्बर लगानी गरेको उनको भनाइ छ। ५१ प्रतिशत शेयरवाला चौधरी परिवारले त जम्मा आठ लाख रुपैयाँ मात्रै लगानी गरेको भेटिएको उनले बताए। “सर्वसाधारणका लागि त शेयर जारी नै भएन,” उनले थपे, “बाँसबारीको जग्गा हडप्ने उद्देश्यले नै यी सबै काम भएको देखिन्छ।”
खुलेको तीन वर्षपछि नै च्याम्पियन फुटवेयर बन्द भएको थियो। २०४९ असार २३ गते अर्थ मन्त्रालयले बाँसबारी कारखानालाई निजीकरण गर्ने निर्णय गरेको र त्यसपछि च्याम्पियन फुटवेयरले बाँसबारीको २५ प्रतिशत शेयर मात्रै किन्ने प्रस्ताव गरेको पनि आचार्यले बताए।
महालेखा नियन्त्रकको कार्यालयले बाँसबारीको २५ प्रतिशत शेयरको लिलामीको सूचना निकालेपछि ३६ लाख रुपैयाँमा अरुण चौधरीले खरीद गरेको देखिएको एसएसपी आचार्यको दाबी छ। २०५२ साउन ११ गते चौधरी परिवारमा बाँसबारीको शेयर आएको कागजातबाट देखिने उनले बताए।
२०५४ पुस ४ गते भने च्याम्पियन फुटवेयर निजी कम्पनी प्रालिमा दर्ता भएको पनि उनले बताए। “यसरी सरकारको अधीनमा रहेको जग्गा व्यक्तिको नाममा गएको देखिन्छ,” उनले भने। कम्पनीको नाम परिवर्तन गरेर अहिले जग्गाको स्वामित्व चाँदबाग रिसेडन्सीको स्वामित्वमा पुर्याइएको सीआईबीले जनाएको छ।