नागमती बाँधले सङ्लिंदैन बागमती
बागमती नदी सुधार्न २१ अर्ब रुपैयाँ खर्च भइसकेको अवस्थामा पुनः २५ अर्ब रुपैयाँको लगानीमा नागमती बाँध बनाउन खोजिएको छ। तर, यो परियोजना निर्माणपछि पनि बागमतीमा सफा पानी बग्ने निश्चित छैन।
तीन दशक यता बागमती नदी सुधारका लागि भनेर सरकारले कम्तीमा २१ अर्ब रुपैयाँ लगानी गरिसकेको छ। तर, पवित्र भनिने बागमती नदीमा पानी कम, मानव मलमूत्र धेरै बगिरहेको छ।
बागमतीमा सफा पानी बगाउन यसअघि गरिएका सरकारी-गैरसरकारी लगानीको प्रस्ट परिणाम नदेखिंदै सरकारले फेरि २५ अर्ब रुपैयाँको नयाँ प्रस्ताव अघि सारेको छ- शिवपुरीमा बाँध हाल्ने।
वर्षायाममा नागमती खोलालाई थुनेर हिउँदमा बागमतीको जल प्रवाह बढाउन शिवपुरीमा ९४.५ मिटर अग्लो बाँध बाँध्ने योजनामा काम भइरहेको छ। बाँधबाट बन्ने तालमा नौ अर्ब ४८ करोड लिटर पानी जम्मा हुनेछ।
सरकारी अधिकारीहरू बागमती सभ्यतालाई जोगाउन अरू भरपर्दो विकल्प नभएकाले बाँध निर्माणको प्रस्ताव गरिएको बताउँछन्। बाँधबाट यो परिमाणमा पानी बागमतीमा खन्याएपछि बागमतीको पानी वातावरणीय र धार्मिक हिसाबले स्वीकार्य स्तरमा उक्लिने परिकल्पना गरिएको छ। खासगरी, पानी स्वच्छ र गन्धरहित बनाउने आयोजनाको उद्देश्य छ।
तर, जानकारहरू भने यो बाँध निर्माणपछि पनि बागमतीमा सङ्लो पानी बग्नेमा आशंका गर्छन्। खानेपानी मन्त्रालयका पूर्व सहसचिव तथा इन्जिनीयर राजन पाण्डे नागमती बाँधबाट पानी बगाएर बागमती नदी सफा नहुने बताउँछन्। उनी भन्छन्, “माथिबाट जति सफा पानी खन्याए पनि तल ढल मिसाउन्जेल बागमती सफा हुँदैन। यो औचित्यहीन आयोजनाका नाममा नागरिकलाई रु. २५ अर्ब थप ऋण भार बोकाइँदैछ।”
बाँधको विकल्प सुझाउँछन् विज्ञ
नागमती र बागमती नदीको संगमस्थलभन्दा तीन किलोमिटरमाथि मुलखर्क गाउँ नजिक नागमती खोला थुनेर बन्ने चार लाख ८० हजार ४२६ वर्ग मिटर फराकिलो प्रस्तावित तालमा वर्षायाममा बगेर जाने पानी सञ्चय गरिनेछ। यो तालबाट प्रतिसेकेन्ड ४५० लिटर पानी नागमती हुँदै बागमतीमा खसालेपछि बागमती सङ्लिने बताइएको छ।
तर, के ४५० लिटर प्रतिसेकेन्डका दरले खसेको पानीले बागमतीको फोहोर बगाउला त?
नागमती बाँधको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले बागमती नदीमा मलमूत्र सीधै हाल्न रोके मात्रै बागमतीको पानी वातावरणीय र धार्मिक हिसाबले स्वीकार्य स्तरमा उक्लिन सक्ने उल्लेख गरेको छ। अर्थात्, ढल प्रशोधन गर्ने संरचना निर्माण नगर्दासम्म नागमती बाँधबाट छोडिने पानीले मात्रै बागमतीको पानी सफा नहुने तथ्य आयोजना सम्बन्धी दस्ताबेजले नै स्वीकारेको छ।
खानेपानी मन्त्रालयका पूर्व सहसचिव तथा इन्जिनीयर पाण्डे नागमती प्रस्तावित उच्च बाँधले बागमती सफा हुने कुरा २१औं शताब्दीको इन्जिनीयरीङको सबैभन्दा ठूलो झूट भएको बताउँछन्। ४५० लिटर प्रतिसेकेन्डका दरले नागमतीबाट पानी छोड्दा ३० मिटर चौडाई भएको बागमतीको खण्डमा पानीको गहिराइमा खासै फेरबदल नआउने पाण्डेको हिसाब छ। छोडिने पानीको परिमाण, खोलाको चौडाई र पानीको सम्भावित गतिका आधारमा पाण्डेले गरेको आकलन अनुसार नागमती बाँधको पानी हाल्दा बागमतीको जलसतह हिउँदमा सरदरमा तीन सेन्टिमिटर मात्रै बढ्छ।
हाल चैत-वैशाखमा बागमतीमा ५० सेन्टिमिटर हाराहारीमा प्रदूषित पानी बगिरहेको छ। यस अवस्थामा तीन सेन्टिमिटर सफा पानी मिसाउँदा त्यसले बागमतीको स्वच्छतामा तात्विक असर नपर्ने उनको ठम्याइ छ। “यो सीधै भ्रष्टाचारको मनसाय सहित अघि सारिएको अनावश्यक परियोजना हो। ५० सेन्टिमिटर प्रदूषित पानी बग्ने ठाउँमा तीन सेन्टिमिटर सफा पानी थपेर के बहादुरी देखाउन खोजिएको हो?,” पाण्डेले भने।
त्रिभुवन विश्वविद्यालय इन्जिनीयरिङ अध्ययन संस्थानका सहप्राध्यापक (पूर्व) नागेन्द्रराज सिटौला पनि बागमतीमा बग्ने फोहोर पानीमा थोरै सफा पानी हाल्दैमा बागमती नसङ्लिने तर्क गर्छन्। उनी भन्छन्, “एक ड्रम फोहोर पानीमा एक बाल्टी सफा पानी मिसाएर पानी सफा हुँदैन। वरिपरिका ढल हाल्न रोके बागमती यसै सङ्लिन्छ।”
बरु बागमतीमा सीधै ढल मिसाउन रोक्ने, ढल प्रशोधन गरेर मात्रै पानी हाल्ने जस्ता विकल्पमा बढी ध्यान दिनुपर्ने उनको तर्क छ।
छोटकरीमा बीओडी भनिने बायोलोजिकल अक्सिजन डिमान्ड (जैविक अक्सिजनको माग) ले पानीको प्रदूषणको मापन गर्छ। यो बढेमा पानी प्रदूषित हुन्छ। पानीमा जैविक-रासायनिक अक्सिजनको माग जति धेरै भयो, सूक्ष्मजीवलाई नदीमा रहेको फोहोर खान त्यति नै धेरै अक्सिजन चाहिन्छ, जसले माछा सहित अन्य जलचरको लागि उपलब्ध घुलित अक्सिजनको परिमाण घटाइदिन्छ।
स्वच्छ पानीमा बीओडीको स्तर पाँच मिलिग्राम प्रतिलिटरभन्दा बढी हुन नहुने मानिन्छ। यद्यपि, देशहरुले आफ्ना लागि विभिन्न मापदण्ड तय गरेका हुन्छन् । बागमतीमा भने बीओडीको स्तर मापदण्डको तुलनामा कैयौं गुणा बढी छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार गत कात्तिक १३ गते सुन्दरीजलमा दुई मिलिग्राम प्रतिलिटर रहेको बीओडी गुहेश्वरीमा २७ मिलिग्राम प्रतिलिटर देखिएको थियो। बीओडीको स्तर आर्यघाटमा २१ र मीनभवन आइपुग्दा ९९ मिलिग्राम प्रतिलिटर देखिएको थियो।
मनसुन शुरू हुनुअघि त बागमतीको पानीको गुणस्तर अझै तल ओर्लिन्छ। जस्तै, गत जेठ १९ गते गरिएको मापन अनुसार गोकर्णमा ३२ रहेको बीओडी स्तर आर्यघाटमा ५२ र मीनभवनमा ३३८ मिलिग्राम प्रतिलिटर पुगेको थियो।
सरकारको अहिलेको मापदण्ड अनुसार बीओडी स्तर ५० सम्म भएको पानीलाई खोला वा प्राकृतिक जलाशयमा मिसाउन पाइन्छ। यही मापदण्डले तोकेको ५० मिलिग्राम प्रतिलिटर बीओडी भएको पानी बागमतीमा हालुन्जेलसम्म नागमतीबाट जति पानी खन्याए पनि बागमतीको पानीको गुणस्तर सुधार नहुने इन्जिनीयर पाण्डे बताउँछन्।
ज्यानै जाने किसिमका रोग निम्त्याउन सक्ने दिशाजन्य कोलिफर्म (ब्याक्टेरिया) को मापनबाट पनि पानीको शुद्धता पत्ता लाग्छ। पानी पिउन योग्य हुन यो ब्याक्टेरिया शून्य हुनुपर्छ। समितिले गरेको बागमतीको पानीको प्रयोगशाला परीक्षणले गत कात्तिकमा सुन्दरीजलमा जीवाणुको मात्रा ९० प्रतिलिटर देखाएको थियो। जोरपाटी आइपुग्दा यो बढेर ३३ हजार र आर्यघाटमा ६० हजार प्रतिलिटर पुगेको देखिएको थियो।
“यस्तो जीवाणुयुक्त बागमतीको पानीमा भक्तजनले नुहाउँदा वा जल आचमन गर्दा त यी जीवाणु सीधै पेटमा पुग्ने सम्भावना छ। अब यस्तो प्रदूषित पानीमा जति नै मात्रामा नागमतीको सफा पानी मिसाए पनि काम छैन। त्यसैले, बाँधबाट छोडेको पानीले बागमतीलाई सुधारेर नुहाउन योग्य बनाउने दाबी नै बकम्फुसे छ,” इन्जिनीयर पाण्डे भन्छन्।
यो आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर केशवप्रसाद अधिकारी पनि नागमती बाँधबाट सफा पानी बगाएर मात्रै बागमतीको पानी सफा बनाउन पर्याप्त नहुने बताउँछन्। उनका अनुसार नागमती बाँधबाट सफा पानी बगाउने सँगसँगै बागमतीमा फोहोर पानी प्रशोधन केन्द्रहरू निर्माण गरेर प्रशोधित पानी पठाउन सके मात्रै पानीको गुणस्तर अपेक्षित तहमा उक्लिछ।
“ढल प्रशोधन मार्फत पानी बागमतीमा हाल्ने र नागमतीबाट पनि स्वच्छ पानी बगाउने एकीकृत योजना अनुसार यो आयोजना अघि बढेको हो,” उनले भने।
आयोजनाका पूर्व प्रमुख कैलाश श्रेष्ठ बागमतीमा स्वच्छ पानी मिसाउँदा प्रदूषणको स्तर घुलेर कम हुने र ढललाई प्रशोधन गरेर मात्रै बागमतीमा खसाल्न सकेमा उल्लेख्य सुधार हुने बताउँछन्।
औचित्य र उपादेयता
पशुपति लगायत बागमती नदीको वातावरण सुधार गर्ने उदेश्यले सरकारले झन्डै तीन दशकअघि २०५१ सालमा बागमती सभ्यता एकीकृत विकास समिति गठन गरेको थियो। पछि नाम परिवर्तन गरी यसलाई अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति कायम गरियो।
महालेखापरीक्षकको ६०औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ सम्ममा बागमती सुधारका लागि १९ अर्ब २९ करोड ७२ लाख रुपैयाँ खर्च भइसकेको छ। त्यसयता २०८० असारसम्म गरिएको खर्च समेत जोड्दा बागमती सुधारका लागि रु. २१ अर्बभन्दा धेरै खर्च भइसकेको समितिका उप-आयोजना निर्देशक उद्धव नेपालले बताए। यस बाहेक विभिन्न गैरसरकारी संस्थाले पनि बागमती सुधारका लागि खर्च गर्दै आएका छन्।
यद्यपि, बागमती सुधारको काम थालिएको तीन दशकको अवधिमै बागमतीको चोला ढल बग्ने खोलाका रूपमा बदलिएको छ। सरकारले एशियाली विकास ब्यांकसँग ऋण काढेर बागमती सौन्दर्यकरणको नाममा बागमतीको किनारमा तटबन्ध, पैदल यात्रु मार्ग आदि बनाइरहेको छ। तर, नदी प्रदूषण रोक्ने मुख्य उपाय ढल व्यवस्थापनमा भने उल्लेख्य काम हुन सकेको छैन।
घरबाट निस्कने मानव मलमूत्र मिसिएको ढल सोझै खोलामा पुग्दा बागमतीमा दुर्गन्धित र फोहोर पानी बगिरहेको छ। एशियाली विकास ब्यांकसँग ऋण काढेर गुहेश्वरीमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिएको छ। तर, त्यसभन्दा माथि गोकर्ण र तलतिरका पशुपति, थापाथली सहितका क्षेत्रमा ढल सीधै बागमतीमा मिसाइएको छ। टुकुचामा फोहोर पानी प्रशोधन केन्द्र निर्माण अघि बढेको छ।
सिंचाइ विभागका पूर्व सिनियर डिभिजनल इन्जिनीयर डीपी जैसी ठूलो परिमाणमा रकम खन्याइसक्दा पनि बागमती थप प्रदूषित गएको र भविष्यमा पनि सुझबुझ विना गरिने लगानीले परिणाम नदिने बताउँछन्। उनी पनि नागमतीमा बाँध बनाएर सीमित पानी छाड्दैमा बागमती सफा नहुने तर्क गर्छन्। “बागमती फोहोर भएको ढल मिसाएर हो। ढल मिसाउन छोडे मात्रै बागमती सफा बग्छ, न कि बागमतीको शिरबाट सफा पानी खन्याएर,” उनले भने।
२५ अर्बको अनावश्यक र औचित्यहीन आयोजनामा ऋण लिएर भावि पुस्तालाई विदेशी ऋणको भारी बोकाउन खोज्नु नाजायज भएको उनको तर्क छ।
तर, बागमती सुधार आयोजनाका पूर्व प्रमुख आशिषभद्र खनाल चाहिं नागमती बाँधका विषयमा पर्याप्त अध्ययनबेगरै आलोचना भइरहेको बताउँछन्। बागमतीको सुधारका लागि लामो समयदेखि गरिएका अनेकौं चरणको अध्ययनबाट नागमती बाँधको प्रस्ताव अघि बढेको र अध्ययनहरूले बागमतीको पानीको गुणस्तर सुधार गर्न सबैभन्दा प्रभावकारी विकल्प यही रहेको देखाएको उनी बताउँछन्।
सन् १९९० को दशकमै जापानी अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकाले यस्तो सुझाव दिएको थियो।
सुन्दरीजलको उपल्लो खण्डमा पाइप हालेर बागमतीको पानी तानिएका कारण हिउँदका महीनाहरूमा बागमतीमा सफा पानी मिसिनै पाउँदैन। नागमती बाँध बनेको खण्डमा हिउँदका महीनामा पनि बागमतीमा सफा पानी मिसिन्छ। सुन्दरीजल, गोकर्ण हुँदै तल्लो क्षेत्रमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरेर निश्चित गुणस्तरको पानी मात्रै बागमतीमा छोड्ने र नागमतीबाट सफा पानी मिसाउने हो भने बागमती सङ्लिने खनाल बताउँछन्।
उनी भन्छन्, “नागमतीबाट ४५० लिटर प्रतिसेकेन्ड पानी बागमतीमा खसालेर मात्रै बागमती सफा हुने होइन, ढल प्रशोधन केन्द्रहरू बनाएर निश्चित गुणस्तरको पानी पनि छोड्दा चाहिं बागमती सफा हुन्छ।”
मेलम्चीबाट आउने पानीको ७० प्रतिशतजति बागमतीमा खस्ने हुँदा यसले पनि जलसतह बढ्ने उनी बताउँछन्। तर, ढल हुँदै आउने त्यो पानी प्रशोधन गरेर मात्रै बागमतीमा मिसाउनुपर्ने उनको तर्क छ।
उनी बागमतीमा सफा पानी बगाउने योजनालाई आर्थिक नाफाघाटाबाट मात्रै सोच्न नमिल्ने तर्क गर्छन्। “बागमतीमा सफा पानी बग्यो भने तनाव र डिप्रेशनको शिकार भएका काठमाडौंवासीले पनि राहत महसूस गर्नेछन्। यसको सांस्कृतिक र धार्मिक महत्त्व त छँदै छ,” खनाल भन्छन्, “बागमती सभ्यता जोगाउने हो भने यो बाँध चाहिन्छ, नदीलाई इतिहास बनाउने हो भने त कुरै गर्नुपरेन।”
तर, खानेपानी मन्त्रालयका पूर्व सहसचिव पाण्डे बागमतीमा फोहोर नहाल्ने र ढललाई प्रशोधन गरेर मात्रै मिसाउने हो भने बागमती आफैं सुधार हुने र २५ अर्ब खर्च गरेर नागमती बनाउन आवश्यकै नरहेको तर्क गर्छन्। उनका अनुसार, मेलम्चीको पानी काठमाडौंमा भरपर्दो रूपमा आउने बित्तिकै भूमिगत जलस्रोतको दोहन घट्ने र अन्ततः यसले बागमती नदीको वरिपरिका क्षेत्रमा जलसतह बढेर बागमतीमा पानीको स्रोत थपिने बताउँछन्।
“बागमतीमा थप पानी नमिसाई नहुने हो भने गोकर्ण क्षेत्रमा १० वटा डिप ट्युबेल राखेर सोलारबाट पानी तानेर बागमतीमा खसालिदिऔं, यो निकै सस्तो हुन्छ। नागरिकको थाप्लोमा ऋण बोकाएर प्रतिफल र परिणाम नआउने आयोजनामा लगानी गर्नु त मुर्खता नै हो,” पाण्डेले भने।