‘लाटोकोसेरो जोगाउनका लागि पैसा नै छैन’
‘नेपालमा वन, वातावण र वन्यजन्तु संरक्षणमा काम गर्ने सरकारी तथा गैरसरकारी धेरै संस्था छन् तर कसैबाट सहयोग पाएका छैनौं।’
बोलीचालीको भाषामा उल्लु भनिने लाटोकोसेरो तथा हुचिल रातमा सक्रिय हुने शिकारी प्रजातिका चरा हुन्। अवैध चोरी शिकारी र बासस्थान विनासले लाटोकोसेरो संकटमा पर्दै गएको छ। विज्ञहरूका अनुसार, नेपालमा पाइने हुचिल, हाप्सिलो, महाकौशिक, भासोलुक, उलुक र कालपेचक लाटोकोसेरो प्रजाति संकटापन्न अवस्थामा छन्। बासस्थानको विनास, आहाराको अभाव, कृषिजन्य रासायनिक मल तथा विषादीको प्रयोग संकटका कारक हुन्।
नेपालमा अभिलेख भएका २३ प्रजातिका लाटोकोसेरोमध्ये नौ प्रजातिका लाटोकोसेरो राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा छन् भने दुई प्रजातिबारे भरपर्दो जानकारी छैन। लाटोकोसेरो जोगाउन ‘प्रकृतिका साथीहरू’ संस्थाले १२ वर्षदेखि बिभिन्न महोत्सव आयोजना गर्दै आएको छ।
यस पटक पर्वतको जलजला गाउँपालिका-५, लोप्रेमा माघ १९ र २० गते लाटोकोसेरो महोत्सव हुँदै छ। यही सन्दर्भमा ‘प्रकृतिका साथीहरू’ संस्थाका पन्छीविद् राजु आचार्यसँग हिमालखबरका लागि महेश्वर आचार्यले गरेको कुराकानीः
१२ वर्षअघि लाटोकोसेरो महोत्सव गर्ने उपाय कसरी सुझ्यो?
सन् २००८ देखि लाटोकोसेरो संरक्षणमा काम गर्दै आएका छु। काम गर्दै जाँदा अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा सहभागी हुने मौका मिल्यो र पुरस्कृत पनि भएँ।
एक साता अमेरिकामा बसेर फर्किएपछि नेपालमा पनि यस्तै महोत्सव गर्नुपर्छ भन्ने लाग्यो। साथी यादव घिमिरेसँग मिलेर महोत्सव आयोजना गर्यौं। पछि धेरैले सहयोग गरे, अहिले निरन्तरता पाइरहेको छ।
लाटोकोसोरो महोत्सव कहाँ-कहाँ गर्नुभयो?
शुरूआतमा सन् २०११ मा धादिङमा महोत्सव आयोजना गर्यौं। त्यसपछि चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ, स्याङ्जा र कैलालीमा भयो।
अंग्रजी क्यालेन्डरको फ्रेबुअरी महीनाको पहिलो साता महोत्सव गर्दै आएका छौं। कोभिड-१९ ले गर्दा दुई वर्ष गर्न सकेनौं।
अहिले महोत्सवमा सहभागीको संख्या पनि बढ्दै गएको छ। अनुसन्धानकर्मी, सरोकारवाला, स्थानीय बासिन्दा, विद्यार्थीलाई समेटिरहेका छौं।
यसरी महोत्सव गर्न खर्च कति लाग्छ?
पहिलो महोत्सव गर्दा एक लाख ५० हजार रुपैयाँ खर्च भएको थियो। गत वर्ष कैलालीमा गर्दा ११ लाख खर्च भयो। त्यसमा हामीले सात लाख खर्च गरेका थियौं भने बाँकी चार लाख स्थानीयले जुटाए। हाम्रो नीति नै छ, जहाँ महोत्सव गर्ने हो, त्यहाँको स्थानीयले ४० प्रतिशत खर्च जुटाउनै पर्छ।
महोत्सव गरेर मात्रै लाटोकोसेरो जोगिएला त?
यस्ता महोत्सवले लाटोकोसेरो जोगिने वातावरण बनाउँछ। त्यो कसरी भने महोत्सव हुने ठाउँमा दुई साताअघिदेखि नै विद्यार्थीलाई लाटोकोसेरोको महत्त्व र यसलाई किन संरक्षण गर्नुपर्छ भन्ने सचेतनाको कार्यक्रम गर्छौं। यसपटक पर्वतको लोप्रेमा ७०० विद्यार्थीलाई सचेतना दियौं। यो कामले दीर्घकालमा राम्रो परिणाम दिन्छ भन्ने सिकाइ छ।
महोत्सव भएका ठाउँमा संरक्षणका लागि के कस्ता क्रियाकलाप भएका छन्?
महोत्सव स्थलमा लाटोकोसेरोका सम्पूर्ण आयामलाई प्रदर्शन गछौं। लाटोकोसेरोबारे तस्वीर, भिडिओ लगायत सबै जानकारी सकेसम्म प्रभावकारी ढंगमा प्रदर्शनी गरेर स्थानीय बासिन्दालाई सचेत गराउँछौं।
गोरखाको खोप्लाङमा लाटोकोसेरो महोत्सव गरेर आएपछि त्यहाँका विद्यार्थीले गाउँमा अवैध रुपमा पालेको लाटोकोसेरो उद्धार गरेर प्राकृतिक अवस्थामा छोडेका थिए। नवलपरासीमा स्थानीय बासिन्दाले खेतको डिलमा भएको रुखमा लाटोकोसेरो बस्ने फ्लाक राखिदिए। त्यो किनभने उनीहरूले लाटोकोसेरोले मुसा खान्छ भन्ने बुझे, अनि त्यो उपाए अपनाए।
बारपाकमा महोत्सव गरेपछि स्थानीय बासिन्दाले गुलेली प्रतिबन्ध अभियान चलाए। धादिङमा एउटा सामुदायिक वनलाई स्थानीयले लाटोकोसेरो संरक्षण क्षेत्र घोषणा गरे।
यी र यस्ता अभ्यासलाई लाटोकोसेरो संरक्षणमा भएको सकारात्मक हस्तक्षेप मान्नुपर्छ। तसर्थ, महोत्सवले समग्र संरक्षणमा सकारात्मक काम गर्नेमा विश्वस्त छौं। तर यतीले मात्र पुग्दैन, अरू धेरै काम हुनु जरुरी छ।
लाटोकोसेरोलाई किसानको साथी पनि भनिन्छ, किन होला?
यसलाई किसानको साथी पनि भनिन्छ, किनभने यसले मुसा खान्छ। यसको मुख्य आहारा नै मुसा हो। मुसाको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकाले नै लाटोकोसेरोलाई ‘किसानको साथी’ भनिएको हो।
गोठे लाटोकोसेरोको एउटा परिवारले एक प्रजनन अवधिमा करीब तीन हजार मुसा खाने गरेको पाइएको थियो। त्यस्तै, अन्य हानिकारक कीरा, फट्यांग्रा, सर्प, चरा र साना स्तनधारी जीव खाने लाटोकोसेरोले पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न र सनातन खाद्यचक्रलाई गतिशील बनाउन पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ।
रूखका टोड्का, भुइँ तथा पहरामा गुँड बनाउने लाटोकोसेरो नेपालमा तराईदेखि हिमालसम्म र घना जंगल, गाउँदेखि शहरमा पाइन्छ। यसकोे शरीर अत्यन्तै हलुका तथा नरम भुवाले ढाकेको हुन्छ। जसले गर्दा उड्दाखेरि आवाज नआउने भएकाले सजिलै शिकार गर्छ। यसले टाउकोलाई एकापट्टि मात्रै पनि २७० डिग्रीसम्म घुमाउन सक्ने हुँदा अगाडि, पछाडि, दायाँ, बायाँ चारै दिशामा देख्न सक्छ।
लाटोकोसेरो महोत्सव गर्ने स्थानको छनोट कसरी गर्नुहुन्छ?
सबैभन्दा पहिलो त सदरमुकाममा महोत्सव गर्दैनौं, गाउँमा गर्छौं। स्थान छनोट गर्दा लाटोकोसेरोको बासस्थान भएको ठाउँ छान्छौं। साथै, लाटोकोसेरोको संरक्षणको लागि सांस्कृतिक महत्त्वको ठाउँ पनि हेर्छौं, जहाँ विगतमा लाटोकोसेरोको राम्रो बासस्थान थियो र सांस्कृतिक महत्त्वका साथ यसलाई लिइन्छ।
जहिले पनि हाम्रो ध्यान धेरै भन्दा धेरै जनतालाई सूसुचित र सचेतना गरौं भन्ने हुन्छ। जहाँ महोत्सव गरिन्छ, त्यहाँ महोत्सवपछि पर्यापर्यटनको प्रबर्द्धन होस् भन्ने उद्देश्य हुन्छ। त्यही कारणले पनि स्थानीय बासिन्दाले महोत्सव गर्न प्रस्ताव लिएर आउनुहुन्छ। जुन धेरै स्थानमा सफल र सकारात्मक देखिएको छ।
लाटोकोसेरो जोगाउन के कस्ता चुनौती छन्?
१६ वर्षअघि गरेको एउटा अध्ययनले प्रत्येक वर्ष दुई हजार लाटोकोसेरो मारिने वा चोरी शिकारीमा हुने गरेको देखिएको थियो। केही महीनाअघि त्यो अध्ययनलाई पुनरावलोकन गर्दा त्यो आकडा प्रत्येक वर्ष १.६ प्रतिशतका दरले घटेको देखाउँछ।
अहिले पनि लाटोकोसेरो संरक्षणमा चुनौती नभएको होइन। चोरी शिकार गर्ने, खानको लागि मार्ने, बिभिन्न अन्धविश्वासले गर्दा लाटोकोसेरो मार्ने गरेको पाइन्छ।
अर्कोतिर, खेतबारीमा हालेको विषादी भ्यागुता मुसाले खाने र तिनलाई खाने लाटोकोसेरोमा पनि त्यो विषादी पुग्ने हुँदा संरक्षण चुनौती छ। विशेष गरी पुराना घरमा बस्ने गोठे लाटोकोसेरोको बासस्थान शहरीकरणले गरेर लोपजस्तै भएको छ।
अहिलेसम्म गरेको कामबाट देखिएको सकारात्मक पक्ष, आत्मसन्तुष्टि हुने कुरा के हो?
मान्छेहरू लाटोकोसेरो संरक्षणमा उत्साहित भएर लागेका छन्। खोटाङमा महोत्सव मनाएर आएपछि स्थानीय बासिन्दाले दुई वर्ष आफ्नै बलबुतामा महोत्सव मनाए। त्यो पनि राम्रो उदाहरण हो।
अर्को, यो महोत्सवको नाम लाटोकोसेरो भए पनि नेपालका अनुसन्धानकर्मी, संरक्षणकर्मी भेला भएर समुदायसँग अनुभव आदानप्रदान र अन्तरक्रिया हुन्छ। महोत्सवले पर्यटन प्रबर्द्धनमा पनि भूमिका खेलेको छ।
सरकारको तर्फबाट के कस्तो सहयोग पाउनु भएको छ?
सरकारको तर्फबाट भएको योगदान भनेको ‘दश वर्षे लाटोकोसेरो संरक्षण कार्ययोजना’ निर्माण हो। बाघ, भालु, हिँउचितुवा जस्तो ठूलो प्रजाति नभएकोले लाटोकोसेरोको संरक्षणको लागि भनेर वर्षैपिच्छे महोत्सव गर्दै आएका छौं तर त्यसका लागि स्रोत जुटाउनै गाह्रो छ। प्रत्येक वर्ष तीन-चार महीना हाम्रो पूरै समय, ध्यान, चिन्ता नै स्रोत जुटाउनमा जान्छ। स्रोत जुट्ने हो भने त्यो समयमा अरू धेरै काम गर्न सक्ने थियौं।
स्रोत जुटाउन धेरै गाह्रो छ। त्यो तनावलाई कम गर्न सरकारी निकाय, वन वातावरणमा काम गर्ने निकायबाट स्रोत जुटे हुन्थ्यो। नेपालमा वन, वातावण र वन्यजन्तु संरक्षणमा काम गर्ने अन्य धेरै गैरसरकारी संस्था पनि छन् तर कसैबाट सहयोग पाएका छैनौं।
दशवर्षे कार्ययोजनामा कसरी लाटोकोसेरो संरक्षण गर्न सकिन्छ र कसरी स्रोत जुटाउने विषय पनि उल्लेख गरिएको छैन?
छन् तर कार्यान्वयन छैन। मुख्य कुरा त पहिलो कार्ययोजना बन्यो, त्यो पनि दश वर्षको लागि। तर त्यसका विषय र बुँदा लागू हुन सकेको छैन। बीचमा कोभिड-१९ ले गरेर दुई वर्ष काम नै भएन। त्यसपछि पनि कार्ययोजनाले निर्देश गरेअनुसार, काम हुन सकेको छैन।
कार्ययोजनाले लाटोकोसेरोको बासस्थान सुधार, वैज्ञानिक अनुसन्धान, अवैध चोरी शिकार नियन्त्रण, सरोकारवालाको क्षमता अभिवृद्धि तथा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राखे पनि कार्ययोजना निष्क्रिय जस्तो छ, हुनुपर्नेका कामको ५ प्रतिशत पनि भएको छैन। कार्ययोजनामा दश वर्षमा लाटोकोसेरो संरक्षणका लगि ११ करोड चाहिने र यो यो काम गरिने भन्ने उल्लेख छ। कुरा चाहिँ भयो तर काम भएन।
हामीले महोत्सव गरिरहँदा पनि सकेसम्म यो क्षेत्रमा काम गर्ने विज्ञहरू सबैलाई सहभागी गराउँ भन्ने सोच्छौं तर आर्थिक स्रोतका सीमितताका कारण सबैलाई समेट्न सकेका छैनौं। यहाँ आउने जति सबै आफ्नै खर्चमा आउनुहुन्छ। त्यो हामीलाई गरेको माया र सहयोग हो।