चट्टान फोड्न नारायणगढ-मुग्लिन सडक फेरि दिउँसो बन्द हुने
नारायणगढ-मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ।
सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि अझै दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय, चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले बताए। अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको आचार्यको भनाइ छ।
यो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएका थिए। बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो। २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो।
यो सडक खण्ड गत पुसदेखि दिउँसो चार घण्टा बन्द गरेर काम गरिँदै आएको छ। गत पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरिएको थियो।
तोकिएको समयमा काम नसकिएपछि फेरि पुस २८ गतेदेखि तीन साता समय दिइएको थियो। यो समय पनि सकिएको छ।
पुल निर्माणका लागि चट्टान फोड्न काम नसकिएपछि फेरि तीन साता समय दिइएको हो। आउँदो तीन साताभित्र काम सकिने इन्जिनियर आचार्यको भनाइ छ।