भिजिट भिसामा सरकारी कर्मचारी सहितको संगठित गिरोह, कसको के भूमिका?
नक्कली कागजातका आधारमा सरकारी कर्मचारीले नै भिजिट भिसामा सजिलै विदेश उडाउने गरेका थिए, कसरी?
भिजिट भिसाको आवरणमा मानव तस्करी गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले समिति नै बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ। पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले मंसीर २६ गते प्रहरीमा गरेको एउटा कागजले यसको खुलासा भएको हो।
भिजिट भिसामा जानेहरूलाई सहजीकरण गर्न अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागो सहितको समिति रहेको खड्काले खुलाएका छन्। “टिम बनाएर मानव तस्करी गर्दै आएका रहेछन्,” उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौर भन्छन्, “यसलाई उनीहरूले कोड भाषामा समिति भनेका रहेछन्।”
भिजिट भिसा लिएर सेटिङमा गएकामध्ये कतिपय विदेश पुगेपछि श्रम भिसा लिएर काम गर्ने गरेका छन् भने कतिपय अलपत्र पर्ने गरेका छन्।
रोजगारीका लागि सेटिङमा भिजिट भिसामा जानेहरूबाट रकम असुलेर पठाउने संगठित गिरोहबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले संगठित अपराधको कसूरमा अनुसन्धान गरेको हो। सरकारी वकीलको कार्यालयले माघ १८ गते जिल्ला अदालत, काठमाडौंमा अभियोग दर्ता गराएको छ। अध्यागमनका अधिकृत खड्कासहितका नौ जना कर्मचारीले संगठित रुपमै भिजिट भिसामा मानिस पठाउने गरेको अभियोगपत्रमा उल्लेख छ।
उनीहरूको काम विचौलियाबाट प्राप्त सूचीमा भएकाहरूलाई विमानस्थल पार गराउनु रहेको अभियोजनमा राखिएको ‘लिंक चार्ट’बाट खुल्छ। तहगत रुपमा जिम्मेवारी बाँडफाँट गरेर यो गिरोहले विदेश पठाउने गरेको अनुसन्धानमा देखिएको छ।
नक्कली कागजात बनाउने, भिजिट भिसामा जाने मानिस खोज्ने, त्यस्ता मानिसको नामावली संकलन गर्ने, नामावलीअनुसार विमानस्थलबाट प्रस्थान गर्न सहजीकरण गरिदिने जस्ता भूमिका बाँडेर संगठित रुपमा काम हुने गरेको अभियोजन पत्रमा उल्लेख छ। यो काम गरे वापत रकम बुझ्न भने उनीहरूले एउटा होटललाई अखडा बनाएको पाइएको छ।
अभियोगपत्रअनुसार, गीता शाहले भिजिट भिसामा बाहिर जाने मानिस खोज्ने भूमिका पाएकी थिइन् भने दिनेश ज्ञवाली, रविन अर्याल र रामप्रसाद भण्डारीले नामावली संकलन गर्ने जिम्मा लिएका थिए। यसरी संकलित नामवलीअनुसार, नक्कली कागजात बनाउन मनोज तामाङ, विनोद कार्की, अरुण दाहाल र सरोजकुमार यादव खटिने गरेको देखिएको छ।
नक्कली कागजात बनेपछि कौशिला मगर, लक्ष्मी राई, रीता दमाईले संकलन गर्ने गरेका प्रहरी अनुसन्धानमा खुलेको छ। संकलित कागजात चार वटा फरक फरक समूहबाट अध्यागमन अधिकृत नरवीर खड्काको हातमा पुग्ने गरेको देखिन्छ।
पहिलो समूहका दिनेश ज्ञवाली, रविन अर्यालले ती कागजात रामप्रसाद भण्डारीलाई दिने गरेको र भण्डारीले नरवीरको हातमा थमाउने गरेका थिए। दोस्रो समूह रिता दमाई, विनोद कार्कीको थियो। यो समूहले मनोज तामाङलाई कागजात बुझाउने गरेको प्रहरीको भनाइ छ। मनाजेले बाल्टिक होटलका सञ्चालक केदारबहादुर खड्कार्फत फेरि नरवीरकै हातमा पुर्याउँथे।
तेस्रो समूह, कौशिला मगर, लक्ष्मी राई थियो। उनीहरूले नक्कली कागजात अरुण दाहाललाई बुझाउने गरेका थिए। अरुणले सरोजकुमार यादवलाई दिने गरेका थिए। सरोजले नरवीरको हातमा थमाउने गरेको पाइएको छ।
चौथो समूह, पदम लामा, मनोज तामाङले कागजात बाल्टिक होटलका सञ्चालक केदारबहादुर खड्कालाई दिने गरेको खुलेको छ। केदारले नरवीरकै हातमा पुर्याउने गरेको देखिएको छ।
यसरी नरवीरले बाहिरी समूहमार्फत सञ्जाल बनाएर अध्यागमन अधिकृतहरूलाई सूची दिने गरेको अभियोग पत्रमा उल्लेख छ। यही सूची हेरेर अध्यागमन अधिकृतहरूले भिजिट भिसामा जानेहरूलाई सहजै पार गराइदिने गरेका थिए। अभियोगपत्र अनुसार नरवीर यो गिरोहका मुख्य पात्र हुन्।
नरवीर पक्राउ पर्ने वित्तिकै आठ जना अध्यागमन अधिकृत भने फरार भएका थिए। एसएसपी राठौरका अनुसार उनीहरू सबैले लामो समय बिदा लिएको अध्यागमनको अभिलेखबाट देखिन्छ। “कोही सिंगापुर त कोही भारत भागेको अपुष्ट सूचना हामीले पाएका छौं,” राठौर भन्छन्, “सबैलाई यति लामो बिदा किन दिइयो भन्ने प्रश्न पनि बाँकी नै छ। तर उनीहरूले नियमानुसार नै बिदा लिएको भन्ने अध्यागमनको जवाफ छ।”
सरोजकुमार यादव भने अध्यागमन र त्यसभन्दाबाहिर सेटिङ मिलाउने विचौलिया रहेको अभियोग छ। भिजिट भिसाका लागि नरवीरले प्रतिव्यक्ति पुरुषको ११ देखि २० हजार र महिलाको ५० हजार रुपैयाँ लिने गरेको अभियोग पत्रमा उल्लेख छ। यो रकम नरवीरले अध्यागमनका कर्मचारीलाई बाँडिदिने गरेको प्रहरीको भनाइ छ।
यो गिरोहमा ट्राभल्स, अनलाईन सेवा सञ्चालक, होटल सञ्चालक, अध्यागमनका कर्मचारीको मिलेमतो भएको अभियोजनपत्रमा छ। यसरी गिरोहले नक्कली कागजात खडा गरेर साउदी अरब, मलेशिया, संयुक्त अरब इमिरेट्स, कतार भिजिट भिसामा पठाउने गरेको छ।
अध्यागमनका नौ जना अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आन्तरिक राजस्व विभागमा समेत कारबाहीका लागि पठाउने अभियोगपत्रमा भनिएको छ। मनोज तामाङलाई भने सम्पति शुद्धीकरण अनुसन्धान विभागले पनि कारबाही प्रक्रिया अघि बढाउने भएको छ। उनको व्यक्तिगत खातामा तीन वर्षको अवधिमा ४८ करोड रुपैयाँको कारोबार भएको पाइएको छ।
पदम लामालाई आन्तरिक राजस्व विभागमा समेत अनुसन्धानार्थ पठाउन भनिएको छ। उनको साथबाट प्रहरीले अवैध दिराम र अमेरिकी डलर बरामद गरेको थियो।
नरवीर मानव बेचखिन तथा ओसारपसार सम्बन्धी कसूरमा पुर्पक्षका लागि थुनामा छन्। रुसी सेनामा भर्ती हुन गएका एक जना पूर्व प्रहरीले फर्किएपछि जाहेरी दिएर नरवीर पक्राउ परेका थिए।