अरुण चौधरीलाई पक्राउ गरेकोमा उद्योग परिसंघको आपत्ति
नेपाल प्रहरीले व्यावसायी अरुण चौधरीलाई पक्राउ गरेकोमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ।
परिसंघले बिहीबार पत्रकार सम्मेलन गरेर सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हठात् रुपमा पक्राउ गरेर मानमर्दन गरेको जनाएको छ। पक्राउअघि प्रहरीले कुनै सूचना नदिएको र अनुसन्धानका लागि समेत नबोलाएको परिसंघको भनाइ छ।
“अरुण चौधरी यो देशकै माटोमा हुर्किएका लब्धप्रतिष्ठित उद्यमी हुनुहुन्छ, उहाँ देश छोडेर कतै जान लाग्नुभएको थिएन,” परिसंघले सम्मेलनपछि जारी विज्ञप्तिमा भनेको छ, “राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरेको छ। यसप्रति निजी क्षेत्रको घोर आपत्ति छ। यसले सम्पूर्ण उद्योगी-व्यवसायीको मानमर्दन भएको हामीले महसूस गरेका छौं।”
चौधरीको पक्राउको घटनाले सरकारले आर्थिक समृद्धिमा निजीक्षेत्रको उपदेयतालाई उपेक्षा गरेको जस्तो देखाएको र यसले परिसंघलाई सोच्न बाध्य तुल्याएको विज्ञप्तिमा उल्लेख छ। सरकारले एकातिर ठूलो महत्त्वाकांक्षाका साथ लगानी सम्मेलनको तयारी गरिरहेको र अर्कोतर्फ उद्योगी व्यवसायीमाथि धरपकडको डण्डा बर्साउँदा स्वदेशी लगानीकर्ता सरकारको आश्वासनबाट तर्सिएको परिसंघले जनाएको छ। यसले लगानीको वातावरण बिथोलेको परिसंघको निष्कर्ष छ।
परिसंघले कसूर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा आफ्नो विमत्ति नरहेको उल्लेख गरेको छ। उचित र पर्याप्त कारण भएको अवस्थाबाहेक अभियुक्तलाई शंकाकै भरमा वैयक्तिक स्वतन्त्रताको हनन् हुने गरी पक्राउ गर्ने कार्य कुनै पनि दृष्टिकोणले न्यायसंगत नभएको परिसंघले जनाएको छ।
यस्तै, उद्योगी व्यवसायीको अर्को प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले पनि विज्ञप्ति निकालेर उद्योगी व्यवसायीमाथिको धरपकडले ध्यानाकर्षण भएको जनाएको छ। महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको उल्लेख गरेको छ।
“पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ। महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानूनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरी चाँदबाद विद्यालयका नाममा सारेको अभियोगमा बिहीबार प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो। उनीसँगै छाला जुत्ता कारखानाका पूर्व कार्यकारी प्रमुख अजितनारायाण सिंह थापा र अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ।