सन्तान जन्माउन नसक्दा सम्बन्धविच्छेद
शल्यक्रिया गरेर महिला बनेकी आशिकालाई अब जिन्दगी सजिलोसँग चल्छ भन्ने लागेको थियो। तर, श्रीमान्को परिवारले बच्चा चाहियो भन्न थालेपछि अन्ततः उनको सम्बन्धविच्छेदै भयो।
गाउँघरमा आशिका चौधरीलाई ‘छक्का’ भनेर जिस्काउँथे। गाउँलेले किन जिस्काउँछन् भन्ने उनलाई थाहा थिएन। “सानैदेखि सबैले मलाई छक्का भन्दै जिस्काउँथे। लाग्थ्यो म मात्रै किन यस्तो भएको हुँ,” आशिका भन्छिन्, “मनमा थुप्रै जिज्ञास पालेर बिताएँ। म को हुँ भन्ने २२ वर्षपछि थाहा भयो।”
अहिले उनी आफूलाई तेस्रोलिंगी महिलाको रूपमा चिनाउँछिन्। पुरुषको रूपमा जन्मिए पनि २०६३ सालमा एसएलसी परीक्षा दिएर शहर पसेपछि भने उनको नयाँ यात्रा शुरू भएको थियो।
कैलारी गाउँपालिकाबाट धनगढी छिरेकी उनी ज्याला मजदूरी गरिरहेकी थिइन्। त्यही वेला आफू जस्तै अर्को साथी भेटेको उनी सुनाउँछिन्। “धनगढीमा एक जना साथी भेटें, सीतारामी। मजस्तै थिइन्, मेरा कुरा सुनाउन पाएँ,” आशिका भन्छिन्, “मेरो जिज्ञासा मेटाउने पहिलो व्यक्ति उनै हुन्।”
भजनीकी उनले नाम परिवर्तन गरेर सीतारामी राखेकी थिइन्। दुवैको दोस्ती गहिरो बन्दै गयो। साथीकै सल्लाहमा नाम परिवर्तन गरेर आशिका बनेकी थिइन्।
एक दिन सीतारामीले आशिकालाई पश्चिम तारा नेपालको कार्यालय लगिन्। संस्था प्रमुख परिना चौधरीसँग भेट गराइन्। “त्यो संस्थाले हामी जस्तै मान्छेको अधिकारका लागि काम गर्थ्यो। त्यहाँ पुग्दा खुशी लाग्यो,” आशिका सम्झिन्छिन्।
उनले तेस्रोलिंगीबारे राम्रोसँग जानकारी पाइन्। ज्याला मजदूरी छोडेर त्यही संस्थामा स्वयंसेवकको रूपमा काम गर्न थालेको उनी बताउँछिन्।
लगत्तै यौनिक अल्पसंख्यकका विषयमा काठमाडौंमा भएको गोष्ठीमा भाग लिन पाइन्। त्यसपछि भने आफ्नो मनोबल बढेको उनी सुनाउँछिन्। “जब काठमाडौं पुगेर कार्यक्रममा सहभागी भए, अनि थाहाँ पाए, म एक्लो होइन, म जस्तै थेरै साथी छन्,” आशिका भन्छिन्, “मेरो खुशीको सीमा नै रहेन।”
त्यसपछि बिस्तारै आफ्नो पहिचान खुलाउन थालिन्। अर्को वर्ष उनले यौनिक अल्पसंख्यक क्षेत्रमा काम गर्ने सुदूरपश्चिम समाजमा काम पाइन्। त्यहाँ पनि उनीसँगै यौनिक अल्पसंख्यक कार्यरत थिए। कार्यालयमा महिलाको पहिरन लगाउने भए पनि घर जाँदा भने पुरुष भएरै जाने गरेको उनी सुनाउँछिन्।
एउटा कार्यक्रममा उनी नाच्दै थिइन्, आमाले देखिन्। त्यसपछि भने उनलाई सकस भयो। परिवारजनले घर लगेर गए। “यो बिग्रिसक्यो, सुधार्न विवाह गर्नुपर्छ भनेर परिवारले तयारी गरे,” उनी सुनाउँछिन्, “केटी पनि खोजिसकेका थिए। हेर्न पनि गएँ तर परिवारको दबाबमा आफ्नो र अर्काको जीवन बर्बाद गर्दिनँ भन्ने सोचेर विवाह अस्वीकार गरें।”
विवाह नगर्दा परिवारजन रिसाइसकेका थिए। उनी भने आफ्नै काममा व्यस्त हुँदै गइन्। त्यही क्रममा एउटा साथी भेटिन्, वीरेन्द्र चौधरी। कञ्चनपुरका वीरेन्द्रसँग उनको प्रेम सम्बन्ध शुरू भयो। “दुई वर्षको प्रेमपछि २०७६ भदौ १९ मा गोदावरी मन्दिरमा गएर विवाह गर्यौं,” उनी भन्छिन्।
विवाह भएपछि भने उनले श्रीमान्सँग सल्लाह गरेरै लिंग परिवर्तन गरिन्। त्यसका लागि दुवै जना भारतको दिल्ली पुगेका थिए। आफू जस्तै साथीहरू र संघसंस्थाको सहयोगमा शल्यक्रिया गरेको उनी सुनाउँछिन्। “लिंग परिवर्तन गर्न धेरै खर्च लाग्यो,” आशिका भन्छिन्।
जन्मिंदा पुरुष भए पनि उनी सर्जरी गरेर महिला बनिन्। “मेरो सानैदेखिको इच्छा पूरा भयो,” उनी खुशी हुँदै भन्छिन्। तर कतिपयले आर्थिक अभावमा लिंग परिवर्तन नसकेको सुनाउँछिन्। “समाजमा खुलेर आएका साथीहरू पनि लिंग परिवर्तन गर्न नपाएर आत्मग्लानी महसूस गरिरहेका छन्,” उनी सुनाउँछिन्।
थुप्रै संघर्षको बाबजुद पुरुषबाट महिला बनेकी आशिकालाई लागेको थियो, अब जिन्दगी सजिलोसँग चल्छ। विवाह भइसकेको थियो। मन्दिरमा भएको विवाहमा केटाको आमा र भाउजू पनि सहभागी थिए। विवाह भएको केही महीनापछि दुवैका परिवारले पनि स्वीकारे। आउ-जाउ हुन थाल्यो। दुई वर्ष राम्रैसँग बित्यो। “केटाको परिवारले बच्चा चाहियो भन्न थाले, त्यसपछि त दुःखका दिन शुरू भए,” आशिका भन्छिन्।
केही समय त दुवै जनाले परिवारसँग प्रतिवाद गरे। वीरेन्द्रले पनि परिवारजनलाई सम्झाउने कोशिश गरेका थिए। तर, एक दिन वीरेन्द्रले चिठी लेखेर आशिकालाई छोडे। चिठीमा लेखिएको थियो, ‘परिवारलाई बच्चा चाहियो, अब म तिमीसँग बस्न सक्दिनँ। तिमी मलाई छोडिदेऊ।’
आशिकाको पनि मन मर्यो। उनले पनि जोडबल लगाइनन्। लिंग परिवर्तन गरेको भए पनि बच्चा जन्माउन सक्दिनँ भन्ने थाहा थियो। “परिवारको दबाब सहन नसकेर ऊ मबाट अलग भएको हो। त्यो दिनदेखि ऊ र म अलग भयौं,” उनी भन्छिन्, “अब जीवनमा विवाह नगर्ने सोच बनाएको छुँ।”
अहिले वीरेन्द्र वैदेशिक रोजगारीमा मलेशिया पुगेका छन्। यो बीचमा एक पटक आशिकाले कुराकानी पनि गरेकी थिइन्। “वर्ष दिन भइसक्यो, सम्पर्क भएको छैन,” उनी भन्छिन्, “अहिले म आफ्नो जीवन स्वतन्त्रपूर्वक बाँचिरहेकी छुँ।”
वैवाहिक सम्बन्ध टुंगिएको पनि दुई वर्ष भइसक्यो। त्यो पीडालाई उनले बिस्तारै कम गरिसकेकी छन्। तर त्यो भन्दा पनि ठूलो पीडा भने अझै उस्तै छ, गाउँघरमा भइरहेको हेलाहोचो। “अहिले पनि गाउँतिर जाँदा चिनजानका मान्छेले पुरानै नामबाट बोलाउँछन्, त्यति वेला साह्रै दुःख लाग्छ,” आशिका भन्छिन्।
अर्को, उनको नागरिकता पुरानै नामबाट बनेको छ। जसले गर्दा सरकारी कार्यालयमा कामकाजका लागि जाँदा फेरि आफ्नो सबै बेलिविस्तार लगाउनुपर्ने बाध्यता रहेको उनी गुनासो गर्छिन्। “घरीघरी म तेस्रोलिंगी महिला हुँ भनेर भनिराख्नुपर्छ,” आशिका भन्छिन्, “कहिले रिस उठ्छ, कहिले लाज पनि लाग्छ। सबैभन्दा बढी त दिक्क लाग्छ।”
यो समस्या उनको मात्रै होइन, थुप्रैको छ। २०७८ सालको जनगणना अनुसार, सुदूरपश्चिममा १९९ जना यौनिक अल्पसंख्यक छन्। तर यौनिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने सुदूरपश्चिम समाजको सम्पर्कमा तीन हजार ५०० जना छन्।
यी सबैको प्रायः नागरिकता भने ठीक उल्टो छ। कोही पुरुषबाट तेस्रोलिंगी महिला बनेका छन् भने कोही महिलाबाट तेस्रोलिंगी पुरुष बनेका छन्। जसले गर्दा नागरिकतामा पुरानै नाम र लैंगिक परिचय भएकाले समस्या भइरहेको आशिका बताउँछिन्। सरकारले नागरिकतामा नाम र लिंग सच्याउनु पाउने व्यवस्था गर्नुपर्ने बताउँदै उनी भन्छिन्, “नागरिकता मात्रै सच्याउनु पाए, जीवनको ठूलो लडाइँ जितेको महसूस हुन्थ्यो।”