उद्योगपति अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अनुमति
सरकारी जग्गा हिनामिनाको आरोपमा पक्राउ परेका व्यावसायिक घराना चौधरी समूहका सदस्य अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका पूर्व कार्यकारी प्रमुख अजितनारायाण सिंह थापालाई चार दिन हिरासतमा लिएर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरी र थापासहित कारखानाका अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार पक्राउ गरेको हो। सीआइबीका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीका अनुसार ठाकुरलाई हिरासतमा राख्नका लागि अनुमित लिन बाँकी नै छ।
ठगी र सार्वजनिक लिखत कीर्ते गरेको कसूरमा उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। बाँसबारी छाला जुत्ता काराखानाको सार्वजनिक जग्गा कीर्ते गरेर निजी बनाएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ।
चौधरी समूहले १० रोपनी सरकारी जग्गा आफ्नो स्वामित्वमा ल्याएर अहिले चाँदबाग रेजिडेन्सी चलाउँदै आएको छ। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो। अख्तियारले केही नगरेपछि सीआईबीले अनुसन्धान शुरू गरेको थियो।
आज पक्राउ परेका चौधरी उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन्। थापा भने सरकारी जग्गा निजीकरण गर्दा बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी प्रमुख थिए।
२०४३ सालदेखि कारखानाको जग्गा निजीकरण गर्ने प्रक्रिया शुरू भएको थियो। पटकपटक गरी १० रोपनी जग्गा व्यक्तिका नाममा लगिएको पाइएको सीआईबीले जनाएको छ।